पोस्टरमा यस्तो देखियो प्रियंका चोपडाले बनाउने नेपाली भाषाको फिल्म

  • Get News Alerts

प्रियंका चोपडाले बनाउन लागेको नेपाली भाषाको फिल्म ‘पाहुना’ को पोस्टर सार्वजनिक भएको छ। प्रियंकाकी आमा मधु चोपडा प्रमुख रहेको फिल्म कम्पनी पर्बल पेबल र सिक्किम पर्यटन मन्त्रालयको सहकार्यमा बन्न लागेको फिल्मको पोस्टर कान्स फिल्म फेस्टिभलमा सार्वजनिक गरिएको थियो।

फिल्मको पृष्ठभूमिमा नेपालमा दस वर्ष चलेको सशस्त्र द्वन्द्व रहने बताइएको छ। प्रेम, शक्ति र साहसको कथा भन्ने फिल्ममा सशस्त्र द्वन्द्वका बेला बाबुआमाबाट छुट्टिएर सिक्किम पुगेका तीन बालबालिकाको कथा रहनेछ।

‘सिक्किम सरकारसँगको सहकार्यमा बन्न लागेको फिल्मको घोषणा गर्न पाउँदा म निकै खुसी छु,’ प्रियंका चोपडाले भनेकी छन्, ‘यो फिल्म त्यस्तो हुनेछ, जुन कथा भन्न भन्न म धेरै अघिदेखि उत्साहित थिएँ। आज यो ठाउँमा एउटा अर्थपूर्ण काम हुन लागिरहेकोमा खुसी लागिरहेको छ।’

फिल्ममा अधिकांश प्राविधिक र कलाकारहरु सिक्किमकै रहनेछन्। सिक्किमकी अभिनेत्री मन्जु क्षेत्रीसहित पाँच कलाकार छानिइसकेको बताइएको छ। मन्जु तिनै हुन्, जसले तीन वर्षअघि ‘मेरी बास्सै’ मा अभिनय गरेकी थिइन्।

फिल्मको कथा पाखी ए टायरवालाले लेखेका हुन्। फिल्मका निर्देशकसमेत रहेका उनले करिब १३ वर्षअघि सिक्किम र दार्जीलिङ घुम्न आउँदा उक्त कथा सोचेको बताएका छन्। उनले फिल्ममा सिक्किमको सुन्दरता मात्र नभइ त्यहाँका मान्छेका सुन्दरपक्षलाई फिल्ममार्फत देखाउने बताएका छन्।

 

 

 

प्रतिकृया दिनुहोस