‘भुइँचालो ल्याउने दुइटा प्लेटलाई किलाकाँटी ठोकेर राख्न मिल्दैन?’

  • Get News Alerts

भुइँचालो कला
‘धरहरा ढल्यो त ढल्यो!’
 
वैशाख १२ को भुइँचालोले धरहरा ढल्यो भन्ने खबर सुन्नेबित्तिकै मूर्तिकार भुवन थापाको मनमा आएको प्रतिक्रिया यस्तै थियो।
 
केही बेरपछि उनले दोस्रो खबर सुने, ‘काष्ठमण्डप पनि ढल्यो रे!’
 
यसपालि भने मन भरंग भयो। सोचे, त्यत्रो इतिहास बोकेको, एउटै रुखको काठले बनेको मन्दिर त्यसरी ढल्ने खालको त होइन!’ 
 
उनलाई तुरुन्तै काष्ठमण्डप पुगिहालौंजस्तो भयो। सकेनन्।
 
१२ र १३ गते आफ्ना लागि बस्ने पाल मिलाउँदैमा र भूकम्प प्रभावित क्षेत्र चहार्दैमा बित्यो। परकम्प आइरहेकै थियो। कोही तास खेल्न व्यस्त भए, कोही गफ चुट्न। भुवनका हात भने सिर्जनामा जुट्न थाले।
 
यसपालि सिर्जनाको विषयवस्तु उनकैसामु थियो– भुइँचालो, प्रभावित जीवन।
 
उनले कपुरको पुरानो काठ रोजे, जुन दाउरा बाल्न मात्र काम लाग्थ्यो। त्यही काठ कुँद्ने क्रममा केही दिनपछि यस्तो आकृति बन्यो, जुन के हो उनलाई नै थाहा छैन।
 
भुवन दुई तरिकाले मूर्ति बनाउँछन्– कहिले मनमनै स्केच कोरेर मूर्तिमा उतार्छन् त कहिले स्केचबिनै कथाअनुसार बनाउँदै जान्छन्। स्केचबिनै काम गरे पनि उनलाई आफू के बनाइरहेछु भन्ने सधैं हेक्का हुन्छ।यसपालि भने अनौठो भयो।
वैशाख १४ गते पालमुनि मूर्ति बनाउन सुरु गरेका भुवनलाई के आकृति बन्दैछ भन्ने मेलोमेसो थिएन। उनी काठ खोप्दै गए। ठोक्दै गए। अन्तमा योभन्दा अगाडि बढ्दिनँ भनेर मूर्ति थपक्क भुइँमा राखेर केही बेर घोरिइरहे।
 
के बन्यो, उनले बुझ्दै बुझेनन्। त्यसको कुनै अर्थ लागेन।
 
‘जति अर्थ लगाउन खोज्दा पनि सकिनँ,’ उनले भने, ‘त्यो मूर्तिको कुनै बेस (आधार) नै थिएन।’
 
काठमाडौं विश्वविद्यालयमा मूर्तिकला प्राध्यापनसमेत गर्ने भुवन भन्छन्, ‘रियालिस्टिक होस् या ‘एब्स्ट्रयाक्ट’, सबै मूर्तिमा भुइँमा अडिने ‘बेस’ र ‘डाइमेन्सन’ हुन्छ। त्यसमा न डाइमेन्सन थियो न त बेस नै। बेस नै नभएपछि झुन्ड्याउँदा कसो होला भन्ने लाग्यो।’
उनले त्यसै गरे। मूर्तिको बीचमा प्वाल थियो। त्यसमा घन्टी झुन्ड्याए। लगातार परकम्प आइरहँदा मूर्ति हल्लिन्थ्यो र घन्टी बज्थ्यो।
परकम्प नआउँदा पनि मान्छेहरू ‘उ भुइँचालो’ आयो भन्दै भागाभाग गर्ने बेला उनको मूर्ति ‘अर्थक्वेक अलार्म’ बन्यो, जसले भुइँचालो आए/नआएको संकेत दिन्थ्यो। ‘योजना र अवधारणाबिना मन बहलाउन गरेको काम त्यतिबेला समयले माग गरेको साधन बनेर पो निस्कियो,’ उनले भने।
 
भुवनको भनाइमा त्यतिखेर उनको चेतन मनभन्दा अवचेतन मन ज्यादा चलेको थियो। चेतन मनलाई के बनाउँदै छु थाहा थिएन, अवचेतन मनलाई भने समयले मागेको चिज बनाउनु थियो, सायद!
उनले आफ्नो यो नयाँ सिर्जना अनुभव फेसबुकमा लेखे। साथीहरूले यस्तै खाले मूर्ति बनाएर एकल प्रदर्शनी गर्न सुझाए। नेपालमा अहिलेसम्म कसैले झुन्डिने मूर्तिको एकल प्रदर्शनी नगराएको उनले थाहा पाए। उनलाई साथीहरूको ‘आइडिया’ चित्त बुझ्यो।
 
त्यसपछि उनको ध्यान काठहरूमा जान थाल्यो। भुइँचालो प्रभावित बुङमतीमा एक महिना स्वयंसेवक भएर खटिने क्रममा त्यहाँ भत्किएका घरका ढुंगा, माटो, काठ व्यवस्थापन गर्दा उनको ध्यान काठले नै तान्थ्यो। उनले दाउरा बाल्न मात्र काम लाग्ने ती काठ घरधनीसँग मागेर ल्याए। बाटोतिर कतै भत्किएका घरका काठ देखिइहाले त्यो पनि टिप्न थाले। 
उनलाई त अझ काष्ठमण्डप भत्किएर बिग्रिएका काठ पनि सगाल्ने इच्छा थियो। भन्छन्, ‘मलाई काष्ठमण्डपका प्रत्येक चिजको माया लाग्छ। ती सबै काठ र इँटा मागुँमागुँ जस्तो लाग्थ्यो। तर सकिनँ। त्यसको पुरातात्विक महत्व भएकाले सकभर त्यही ठाउँमा सदुपयोग गर्नुपर्छ भन्ने लाग्यो।’
 
भुइँचालो पछिका ती फुर्सदिला दिनमा उनले करिब ६ दर्जन मूर्ति बनाए, जसमा ‘रियालिस्टिक’ र ‘एब्स्ट्रयाक्ट’ दुवै छन्। उनी कहिलेकाहीँ मूर्ति बनाउँदा बनाउँदै मनमा जे आयो त्यही बनाइदिन्थे। भन्छन्, ‘यी मूर्ति बनाउँदा मेरो ध्यान एकल प्रदर्शनीमा मात्र जान्थ्यो। त्यसैले कसैले किन्ला कि नकिन्ला, बुझ्लान् कि नबुझ्लान् भन्ने कहिल्यै भएन। मेरो आत्माले जे भन्थ्यो म त्यही बनाउँथेँ।’
 
उनी कहिलेकाहीँ त मूर्ति बनाउँदा बनाउँदै ‘फेन्टासी मुड’ समेत पुगिदिन्थे।
चार वर्षअघि उनको खुट्टा भाँचिएको थियो। वैशाख १२ को भुइँचालोलाई उनले खुट्टा भाँचिनुसँग दाँजे। उनले प्रस्ट्याए, ‘चार वर्षअघि सगरमाथाका फोहोरबाट मूर्ति बनाउने कार्यशालामा अक्सिजनको सिलिन्डर लागेर मेरो खुट्टा भाँचिएको थियो। स्टिल लगाइसकेपछि म तीन दिनमै बैसाखी टेकेर हिँड्न सक्ने भएँ।’
 
‘हामीले इन्डियन र युरेसियन ‘प्लेट’ का कारण भुइँचालो गएको भन्ने धेरै सुन्यौं। अनि लाग्यो, विज्ञानले मेरो खुट्टाभित्रको ‘प्लेट’लाई किलाकाँटी ठोकेर तीन दिनमै उस्तै पार्यो भने जमिनमुनिको प्लेटलाई चाहिँ किलाकाँटी ठोकेर हलचल गर्न नमिल्ने बनाउन मिल्दैन? भित्र जान नमिले पनि ‘रे’बाट त मिल्थ्यो होला नि!’
 
दिमागमा यस्तो स्वैरकाल्पनिक सोच आएपछि उनले काठ जम्मा पारे र प्लेट जोडेको भावमा मूर्ति तयार पारे।
 
यति मात्र होइन, पटकपटक विपत्तिको कुरा सुनिरहँदा उनको मनमा आउँथ्यो, पृथ्वीमा विपत्ति आउँछ भने सूर्य, चन्द्रमालाई पनि विपत्ति आउला नि! उनले यस्तो सोचलाई पनि मूर्तिमा उतारे।
 
भुवन आफ्ना मूर्ति कुनै न कुनै कोणले फरक हुनैपर्छ भन्ने मान्यता राख्छन्। मानिसले देखिरहेको भौतिक वस्तुलाई पनि फरक तरिकाले प्रस्तुत गर्न चाहन्छन्। भन्छन्, ‘स्याउको मूर्ति बनाउँदा म हामीले देखिरहेको स्याउ बनाउँदिन। स्याउ त सबैले देखेको हुन्छ, म त बरु यस्तो आकृति बनाउँछु जुन स्याउ हो भनेर मान्छेले चिन्न पनि सकोस् र अलमलमा पनि परोस्।’
 
‘एउटा भनाइ छ, मूर्तिकारले कागती देखाउने होइन, कागतीको रस देखाउने हो,’ उनले भने।
भुइँचालोपछि राहत तथा सहयोगका लागि कलाकारको समूह ‘हातेमालो अभियान’ मार्फत् काठको मूर्तिकला कार्यशालासमेत चलाएका छन् भुवनले। उक्त कार्यशालामा कलाकारहरूले भुइँचालोकै विषयलाई लिएर मूर्ति तयार पारेका थिए। त्यही कार्यशालासहित घरमा तयार पारेका मूर्ति जम्मा पारेर भुवनले एकल प्रदर्शनी थालेका छन्, जुन बबरमहलको आर्ट काउन्सिलमा चैत २१ देखि जारी छ।
 
झुन्ड्याउने मूर्ति बनाउने उत्कट इच्छाकै कारण उनले मूर्ति बनाउँदा के कति खर्च लाग्यो हिसाब गरेका छैनन्। प्रदर्शनी हलमा मूर्ति झुन्ड्याउने संरचना बनाउन पनि उनले आफैं खर्च गरे। हलको दैनिक दुई हजार पाँच सय रुपैयाँ भाडासहित मूर्ति झुन्ड्याउने संरचनाका लागि करिब दुई लाख खर्च भएको उनको भनाइ छ।
 
पुराना सामग्रीबाट बनेका आफ्ना मूर्तिलाई ‘इन्सटेलसन आर्ट’ भन्न रुचाउँछन् भुवन। ताजा विषय समेटेकाले ‘समसामयिक कला’ पनि भन्छन्। 
 
प्रदर्शनीमा मूर्ति बिक्ला कि नबिक्ला भन्नेतिर उनको ध्यान छैन। उनलाई यति कुराले खुसी लाग्छ, मूर्तिकै कारण भुइँचालोको पीडा भुल्न सजिलो भयो। मन बहलाउन गरेको कामले ठोस रूप लियो। झुन्ड्याउने मूर्तिको प्रदर्शनी गराउने सपना पूरा भयो।
 
मनका भावना मूर्तिमा उतारेकैले भुवनले आफ्नो प्रदर्शनीको नाम दिएका छन्– ‘सेल्फ रियलाइजेसन’ अर्थात् आत्मानुभूति।

प्रतिकृया दिनुहोस