के कुनै दर्शक कुनै पात्र रुँदा रुनैपर्छ?

  • Get News Alerts

एन्टोन चेखव बीसौं शताब्दीका चर्चित रुसी लेखक तथा नाटककार हुन्। उनका कथा तथा नाटकले विश्व साहित्यमा गहिरो छाप छोडेका छन्। मानव जीवनको यथार्थलाई नजिकसम्म पुगेर लेख्ने उनका दि सिगल, अंकल भियना, थ्री सिस्टर्स र दि चेरी अर्केड जस्ता नाटकहरू चर्चित छन्। प्रस्तुत अन्तर्वार्ता सन्डे इन्टर्भ्यु सिरिजबाट लिइएको हो। सुरज सुवदीले यसको अनुवाद गरेका हुन्।

तपाईंले यो अन्तर्वार्ता दिन किन मान्नुभएको?

मेरो रंगमञ्चको करियरमा धेरै बाध्यता र अनुरोधहरू आइरहे। अझै पनि मन परेका मानिसहरूलाई स्वीकार गर्नुजति सजिलो किन स्वीकार नगरेको भन्ने प्रश्नको जवाफ दिन लाग्दैन। सायद त्यसैले मानेँ।

जब उच्च शिक्षा पढ्ने विद्यार्थीहरूलाई चेखव पढेको छौ भनेर सोधियो¸ उनीहरूले मजा नआएको भन्ने असन्तुष्टी पोखे। तपाईंलाई पढ्दा नर्भस भएका र अल्छी मानेका ती विद्यार्थीहरूलाई के भन्नुहुन्छ?

म पनि पहिला तिमीहरूजस्तै थिएँ, त्यसैले तिमीहरूले कस्तो सोचिरहेको छौ बुझ्छु। एकदिन तिमीहरू पनि म जस्तै हुनेछौ, पछाडि फर्किएर हेर्नेछौ र म जस्तो मूर्ख बुढो मान्छेले तिमीहरूको असन्तुष्टी सुनेर किन रमाइलो मान्यो र मोहित भयो होला भनेर थाहा पाउनेछौ।

अमेरिकाले रसियाको बारेमा गरेको मुख्य गलत बुझाई के हो जस्तो लाग्छ?

अमेरिकाको लागि रसियासँगको मुख्य स्वार्थ भनेकै जापानको विरुद्ध युद्ध जित्नु हो। मनचुरिया (जापान नजिकैको ठाउँ, जसलाई रसियाले आक्रमण गरेको थियो) मा हाम्रो उद्देश्य खुला द्वार नीतिमा कुनै खतरा पैदा गर्नु थिएन।

तपाईं आफ्नो नाटकहरूलाई ‘कमेडी’ भन्नुहुन्छ। यो के चाला हो एन्टोन?

तिनीहरू साँच्चै हुन्। सत्य के भने, तपाईंजस्ता मानिसहरूले यो कुरा मान्नुभएको छैन। मतलब म नाटककारको रूपमा असफल भएँ। म यो कुरा पनि लुकाउन चाहान्न। म वास्तवमै स्टेजको लागि लेख्न योग्य छैन।

सधैंभरी मलाई एउटै जिज्ञासा भइरह्यो- के दु:खले दया निम्त्याउनैपर्छ? के कुनै दर्शकले कुनै पात्र रुँदा रुनैपर्छ? कोही मानिसहरू जब हाँस्नुपर्थ्यो तब रुन्छन् हामी अचम्म पर्छौं। त्यसरी नै कोही रुनुपर्ने बेलामा हाँसिदिन्छन् हामी दया मान्छौं। हो, मेरो नाटकका पात्रहरू दु:ख पाएर रुन्छन् तर, उनीहरू खुसी छर्ने अन्य पात्रहरूभन्दा महत्त्वपूर्ण हैनन्।

दु:खले कुनै पनि नाटकको रमाइलो मुडलाई सिध्याउनुहुन्न भन्ने लाग्छ मलाई। दु:ख त प्राय: हलुका हुन्छन् र कहिलेकाहीँ त फार्सियल पनि हुन्छन्।

द हाइडआउट ले त ‘नथिङ एण्ड एभ्रिथिङ: इम्प्रोभाइज्ड एन्टन चेखव प्लेज्’ तयार गर्दैछ नि। यसमा के भन्नुहुन्छ? के यो सम्भव छ? के तपाईंलाई उनीहरूको काम आपत्तिजनक लाग्यो?

आपत्तिजनक? हैन लागेन। उनीहरू जे वाहियात चाहन्छन् गर्न सक्छन्। मलाई थाहा छ, यसबाट केही हुनेवाला छैन।

सही र खराब अभिनेताबचको फरक के हो?

यो प्रश्नको जवाफ दिन मभन्दा स्टेनिस्लभ्स्की योग्य व्यक्ति हुन्। म त भन्छु तपाईं उहाँलाई नै सोध्नुहोस्। यदि उसले नाटक खेलेको हेरेर उसको सोचाइ वा विचार के होला भन्ने सिक्न खोज्नुहुन्छ भने तपाईंले गलत बुझ्ने निश्चित छ। अहिलेलाई यति मात्र भनुँ, सही अभिनेताले उसको संवाद थाहा पाउँछ भने खराब अभिनेताले संवादबाहेक सबैथोक थाहा पाउँछ।

बुझ्न नसकिने रसियन नै सही, एउटा जोक सुनाउनुहोस् चेखव।

एकपटक मैले उचाइसँग डराउने एउटी राम्री जवान युवतीलाई ओरालो हिँउमा सँगै चिप्लिएर झर्नको लागि मनाएँ। झर्दै गर्दा उनको कानमा मैले भनेँ, ‘म तिमीलाई प्रेम गर्छु।’ तल पुगेपछि जब उनको फुलिरहेको सास ठाउँमा फर्कियो। उनले के सुनेँ भनेर सम्झिन थालिन्। के उनले मैले जे भनेको थिएँ साँच्चै सुनिन् त? यदि हो भने¸ के मैले त्यसो भनेँ? अथवा उनले डराएको बेला मैले बोलेको अरु नै कुनै कुरा त्यसरी सुनिन्?

जे भए पनि त्यसरी दौडिँदा पनि उनको डर घटेन। उनले फेरि त्यसरी नै चिप्लिनका लागि मलाई भनिन्। मैले मानेँ। मैले फेरि पनि त्यसरी नै शब्दहरू बोलेँ। उनको डरले फेरि पनि सुनेको शब्दको स्रोत कहाँ हो भनेर ठम्याउन दिएन। त्यो प्रश्नले उनलाई यातना र पीडा दिन थाल्यो।

जाडोभरी उनले धेरैपटक मलाई त्यसरी नै चिप्लिन भनिरहिन्। हरेकपल्ट मैले ‘म तिमीलाई माया गर्छु’ भनिरहेँ। उनी ती शब्दहरू सुन्ने लतमा परिन्। तर उनलाई त्यो भनेको मैले हो कि उनको कल्पनाले भन्ने कहिल्यै थाहा भएन।

त्यो वसन्तमा जब म पिटर्सबर्ग जाने तयारीमा थिएँ¸ झल्याँस्स भएँ कि म उनलाई फेरि भेट्ने छैन। मैले बगैंचाको बीचमा भएको दुलो र हाम्रो घरको बीचबाट उनलाई हेरिरहेँ। उनका आँखाहरू बन्द थिए। उनी ठुलो पीडामा देखिन्थिन्। आकाशतिर फर्किएर उनको दिमागमा भएको प्रश्नको उत्तर खोजिरहेजस्तो लाग्थिन्। मैले फेरि पनि ‘म तिमीलाई माया गर्छु’ भनेँ र उनको अनुहारभरी पोखिएको मनमोहक अभिव्यक्तिलाई हेरिरहेँ।

दुई दिनपछि म फर्किएँ।

धेरै वर्षपछि मैले थाहा पाएँ कि, उनले बिहे गरिछन् र तीन जनाकी आमा भइ सकिछन्। म शंका गर्छु कि, उनले हामी झरेको ओरालो र उनले मबाट सुन्न चाहेका शब्दहरू कहिल्यै भुल्ने छैनन्। सत्य त के हो भने त्यो सम्झना उनको जिन्दगीको सबैभन्दा महत्त्वपूर्ण सम्झना हो भन्दा म अचम्म मान्नेछैन।

मेरो कुराभन्दा, म अझै पनि यो बुझ्न सक्दिनँ कि, त्यति वर्षअघि नै उनीसँग मैले त्यस्तो खेल मैले खेलेँ?

तपाईंको नाटक मान्छेले किन पढ्ने?

म उनीहरूले पढ्नुपर्छ भन्नेमा निश्चित छैन।

म मान्छेलाई हाम्रो कल्पनामा वा मिथकमा भएको जस्तो वा हाम्रो आधुनिक स्टेजमा भएको जस्तो हैन। म वास्तवमा जस्तो छ त्यस्तै देखाउन खोज्छु। हाम्रो जीवन कृत्रिम घटनाहरू जस्तै भेटघाट, पार्टी¸ श्रम¸ खानेकुरा र बेकारका कुराकानीहरूबाट बनेको छ। मेरो नाटकहरू पनि त्यस्तै छन्। यदि मान्छे ऊ कसरी बाँचिरहेको छ भन्ने कुरामा सचेत भैदिएको भए, सम्भवत मैले त्यसको बारेमा नाटक लेख्नु पनि पर्दैन थियो होला।

केही कुरा जो तपाईं थप्दै हुनुहुन्छ?

म अहिले आर्क्टिक यात्राको बारेमा एउटा नाटक लेखिरहेको छु। यदि मेरो स्वास्थ्यले यसलाई सिध्याउन दियो भने मैले अगाडि लेख्ने प्रयत्न गरेका सबै नाटकहरूभन्दा यो सफल हुनेछ। 

त्यो के हो जो धेरै मानिसहरूलाई तपाईंको बारेमा थाहा छैन?

मलाई कसैले मेरो कामको बारेमा वर्णन गर्न लगाएको मन पर्दैन। यदि लेखेको भन्दा थप कुरा केही भन्न बाँकी भएको भए म नाटकमै लेखिहाल्थेँ। 

प्रतिकृया दिनुहोस