रमोन साम्प्रेदोको समुद्रभित्र

  • Get News Alerts

फिल्म अनुभूति
एड्गर एलन पो भन्छन्, ‘कविता केवल कविताकै लागि लेखिन्छ।’
 
कविताका यावत् सौन्दर्यका पछाडि कुनै पनि दायित्वबोधको भारी नहुनुले नै सायद कविता केवल कविताकै लागि भनिएको हुनुपर्छ। 
 
कहिलेकाहिँ यसै गरी सोच्ने गर्छु, आखिर हरेक चेतनाको बौद्धिक गन्तव्य हुन्छ भने हरेक सौन्दर्यको अभिव्यक्ति केवल बग्नुमा हुँदो हो। यो कविताको अन्तर्य कहाँ चुक्यो भन्दा पनि यसले कति हृदयलाई वशिभुत बनायो, त्यो नै मेरा लागि सौन्दर्य चेतना हो।
 
विषय उस्तै लागे पनि हरेकको आफ्नो पृष्ठभूमी अनि, उभिने जमिन हुँदो हो। यही जमिनको एउटा कुनामा, होइन, किनारामा भेटेको हुँ रमोन साम्प्रेदोलाई। आफ्नो अर्धमृत शरीरलाई एकातिर थन्क्याएर मृत्युको खातिर लडिरहेका थिए उनी। उनीसँगको भेटको मिति ठ्याक्कै एकिन नभए पनि यस्तै एक महिनाअघि, छ महिनाअघि, वा वर्षौँ पनि भइसकेको हुनसक्छ। तर, जबजब फिल्मको पर्दामा उनलाई भेटेर फर्किन्छु, लाग्छ– म गहिरो ध्यानमा मग्न भैरहेको हुन्छु, जहाँ मलाई मृत्यु आफ्नै लागि होझैँ लागिरहन्छ।
 
५४ वर्षे साम्प्रेदोले आफुसँगै मलाई कहाँ पु¥यायो? सम्झन्छु, आफूसँगै दुर्घटित बनायो, कोमामा पु¥यायो, मस्तिष्कको दासी बनायो, ह्विलचेयरको यात्री बनायो, आधा कवितामै बाँच्ने बनायो र मृत्युलाई मात्र आफ्नो यात्रा बनायो।
 
बाँकी जिन्दगी काट्न दाजुभाउजुमा आश्रीत हुन्छ तर, उनको जीवनप्रतिको हेराई निरर्थक र केवल गन्तव्यहीन यात्राकोे रुपमा ठहरिन्छ। त्यसकै विरुद्धमा साम्प्रेदोले एउटा अधिकार दाखिला गर्छ, मृत्युको अधिकार। ऊ निश्चिन्त हुन्छ कि, उसका लागि सबैभन्दा महान उपहार नै जीवनको अन्त्य हो।
 
साम्प्रेदोले अघिल्लो जीवन पार्टटाइम कवि र सीप मेकानिकको रुपमा व्यथित गरेको हुन्छ। जब एउटा बेड र ह्विलचियरमा आश्रीत हुन पुग्छ तब, उसका लागि जीवन अव्यक्त, रित्तो त दिशाविहिन हुन पुग्छ। जीवन यसरी कतिपय अवस्थामा महत्वहीन र साह्रै असहज पनि हुन सक्छ, जसको सजीव उदाहरण साम्प्रेदो बनेका छन्। पेण्डुलम जस्तो अवस्थामा पनि मान्छेले आफ्नो मर्न पाउने अधिकार पाउन कानुन विरुद्ध लडिरहनुपर्छ? त्यो पनि करिब तीन दशक। यहीँनेर मेरा हरेक सम्भावनाहरुले भ्याएसम्म प्रश्न गर्छ, बाँचेर मात्र स्वाभिमानको युद्ध सफल होला? के बाँच्नु नै सबैभन्दा ठूलो उपलब्धी हो? के हामी सबैसँग एक–एक युद्ध चलायमान रहेका छैनन् र! जसलाई हामी बाँच्नु नै उपलब्धी ठानी भ्रामक शैलीमा केवल बाँच्नका निम्ती बाँचेका त होइनौँ?
 
यी सब प्रश्नहरुका जङ्गलबाट एउटा स्पष्ट उत्तर फेला पारेँ, बाँच्नु जती क्रान्तिमय हुन्छ, त्यति नै कहिलेकाहिँ मृत्यु पनि आफैंविरुद्धको क्रान्तिको लागि सबल पक्ष हुँदो रहेछ। साम्प्रेदोको संवादले यसरी हिर्काउँछ, जसरी एउटा रहस्यमय कविताले अनौठा–अनौठा प्रश्न जन्माउँछ। जस्तो कि, उनी भन्छन्, ‘जब तिमीले उम्किने मौका पाउँदैनौ र सधैँजसो अरुमाथि भर पर्छौ तब तिमी मुस्कुराउँदै रुन थाल्छौ।’ म यसरी नै संवादहरुमा हराउँदा–हराउँदै साम्प्रेदोको समुद्रभित्र पुगिसकेको रहेछु।
 
‘द सि इन्साइड’ नाम राखिएको यस फिल्मले थुप्रै अवार्ड हात पारिसकेको छ, जसलाई उल्लेख गरिरहनु साम्प्रेदोको जीवनप्रतिको शुन्यबोध जस्तै शुन्य र केवल शुन्य मात्रै रहन्छ। यसले अवार्ड नै हात नपारेको भए पनि सफल भइ नै रहन्थ्यो, त्यस्ता दर्शकका लागि जसले असमयको पराकाष्ठालाई रुचाउँछन र कलात्मक अभिव्यक्तिमा आफू भेट्टाउँछन्।
 
मृत्युको तपस्वी साम्प्रेदो सम्भावनाको दुरीलाई यसरी बुझ्छन्, ‘यसबारे सोचः तिमी त्यहाँ बसेका छौ, तीन फिट पर। तीन फिट के हो र? हरेक मान्छेका लागी महत्वहीन दुरी। ती तीन फिट, जसले तिमीसँग पुग्न, तिमीलाई छुनबाट रोकेको छ, मेरा लागी असम्भव यात्रा हो। केवल एउटा भ्रम हो, एउटा परिकल्पना हो त्यसैले म मर्न चाहन्छु।’

प्रतिकृया दिनुहोस