'वर्णविन्यासघातीहरू कानूनको कठघरामा' सार्वजनिक

  • Get News Alerts

नेपाली मानक भाषा बचाऊ अभियानका अभियन्ता लेखक चूडामणि गौतमको लेखन तथा सम्पादनका 'वर्णविन्यासघातीहरू कानूनको कठघरामा' पुस्तक सार्वजनिक भएको छ । नेपाल बार एसोसिएसनको कार्यक्रम कक्षमा वरिष्ठ अधिवक्ता सर्वज्ञ रत्न तुलाधर, कृष्ण प्रसाद भण्डारी र प्राज्ञ वियोगी बुढाथोकीले संयुक्तरुपमा पुस्तक लोकार्पण गरेका थिए ।

यस संग्रहभित्र चूडामणि गौतम, मुकुन्दशरण उपाध्याय, कृष्णप्रसाद भण्डारी, बलदेव गाउँले, रामेश्वर राउत, शम्भूप्रसाद खनाल, हरिप्रसाद उप्रेती, देवीप्रसाद सुवेदी, रोचक घिमिरे, विद्यानाथ कोइराला, अर्जुन ज्ञवाली र पेशलकुमार निरौलाको खोजमूलक लेखहरू छन् ।

कार्यक्रमकमा बोल्दै भाषाविद् शरदचन्द्र बस्तीले नेपाली भाषा माथिको प्रहार चालिसको दशकबाट सुरु भएको र अहिलेसम्म पनि यथावत् नै रहेको बताए । नेपाली भाषाका कतिपय संयुक्त शब्दहरुलाई शब्दकोशबाटै विस्थापन गरेर नेपाली भाषालाई प्रज्ञा प्रतिष्ठान जस्तो निकायले नै ध्वसं पारेको उनको भनाइ थियो। भाषा बिगार्ने खेल बिगार्ने सबैले आफ्नो गल्ती बेलैमा सच्याउन उनले आग्रह गरे ।

नेपाली भाषा माथि भाँडभैलो भएको हेरेर बस्न नसकेकाले आफूले यस्ता कृति लेखेर सबैलाई सचेत गराउन खोजेको लेखक गौतमको भनाइ थियो । भाषा बचाऊ अभियान उत्कर्षमा मात्रै पुगेकाले ढुक्क भएर नबस्न उनले भाषाप्रेमीहरूलाई आग्रह गरे ।

भाषाविद् मुकुन्दशरण उपाध्यायले नेपाली भाषा माथिको प्रहार नेपाल र नेपालीलाई नै सिध्याउने खेल भएकाले त्यस्ता व्यक्ति जोसुकै भएपनि सामाजिक बहिष्कार गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अभिवक्ता सर्वज्ञ रत्न तुलाधरले लेखक, साहित्कार, भाषाविद् सबैले नेपाली भाषाको मानक रूपमा बचाउनु पर्ने बताए।

कार्यक्रमका सभापति अधिवक्ता रामेश्वर राउत मातृदासले कानूनले कथा नसुन्ने र नाटक नहेर्ने तर तथ्यमा टेक्ने भएकाले भाषा बचाउन कानूनविद्हरू एक हुनु पर्ने बताए ।

कार्यक्रममा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानका तर्फबाट प्राज्ञ वियोगी बुढाथोकी र कानुनविद् कृष्णप्रसाद भण्डारीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

प्रतिकृया दिनुहोस