'जिन्दगीका रङहरू'को लोकार्पण

  • Get News Alerts

डा.सीताराम बस्नेतको 'जिन्दगीका रङहरु' संस्मरणात्मक कृतिको लोकापर्ण भएको छ । यस संग्रहमा आफूले साबुन नचिन्ने समयदेखि बेलायतसम्मका संस्मरणहरु संग्रहित रहेको लेखक बस्नेतको भनाइ छ ।

लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि साहित्यकार नगेन्द्र शर्माले यस किसिमका कृतिले हिजोको पुस्ताले भोगेका तिता मिठा घटनाका कारण भोलिको पुस्तालाई जीवनप्रति मार्गदर्शन गर्ने बताए । डायस्पोरामा बसेर कृतिको रचना गरिएको भएपनि यसले नेपाली मन र नेपालीपन नगुमाएको उनको भनाइ थियो ।

विमोचित कृतिको समीक्षात्मक टिप्पणी दिँदै प्रा.डा. गोविन्दमान सिंह कार्कीले यस संग्रहमा लेखकीय आत्मवृत्तान्त, लेखकका नजिकै रहेका व्यक्तिहरु र तिनका क्रियाकलाप तथा लेखकसँग चिन्दै नचिनेको तर सामाजिक चरित्र बोकेका मानिसहरुको स्मरण गरिएको बताए । यसले नेपालको ग्रामीणपन, सामाजिक परिवेश, आजभन्दा चालिस पाचस वर्ष पहिलेको शैक्षिक अवस्था र समाजमा व्याप्त अन्धविश्वासको चिरफार गरेको उनको भनाइ थियो । त्यसैगरी समीक्षात्मक टिप्पणी गर्दै तोया गौतम र लक्ष्मी उप्रेतीले सूक्ष्म लेखन भएकाले पुस्तक पठनीय रहेको बताए ।

कार्यक्रममा बोल्दै मञ्जु काँचुलीले घटनाको रोचकतापूर्ण बयान भएको बताइन् । समकालीन सीताराम बस्नेतको कृतिले आफ्ना सम्पूर्ण बाल्यकाल समेटेको भन्दै पूर्व मन्त्री अग्नी खरेलले खुशी व्यक्त गरे ।

नेपाल स्रष्टा समाजको आयोजनामा भएको उक्त कार्यक्रममा पूर्व मन्त्री आनन्द पोख्रेल, पूर्व सचिव माधव घिमिरे, कवि शैलेन्द्र साकार, विधान आचार्य,श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी,राम प्रसाद पन्त, ठाकुर शर्मा, धुव्र मधीकर्मी, गोकुल अधिकारी, तर्कना शर्मा, दिव्य गिरी, चेतनाथ कँडेल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति तथा नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले यस पुस्तकले राज्यका उच्च पदमा बसेर पदीय दायित्व पूरा गर्न नसक्नेलाई खबरदारी गरेको बताए ।

प्रतिकृया दिनुहोस