दीपेन्द्र शाहमाथि आधारित फिल्म 'दीपेन्द्र सरकार' बन्ने

  • Get News Alerts

तत्कालिन राजा दीपेन्द्र शाहमाथि आधारित फिल्म 'दीपेन्द्र सरकार' बन्ने भएको छ। आशु सेन फिल्मस् प्रालिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर 'दीपेन्द्र सरकार' बनाउन लागेको जानकारी दिएको छ। 'प्रेम गीत र चंखे पंखे शंखे' फिल्म बनाएर चर्चामा आएका निर्माता सन्तोष सेनले सो फिल्म बनाउन लागेका हुन्।

नेपाल, बेलायत र अमेरिकामा छायांकन गरिने सिनेमाको छायांकन भव्य सेट खडा गरेर गरिने निर्माता सेनले बताए। फिल्ममा कलाकार प्रदीप खड्काले दीपेन्द्रको भूमिका निर्वाह गर्ने सेनले बताए। ५ करोड ५० लाख रुपैयाँ बजेट छुट्टाइएको सो फिल्म ७५ सालको जेठ १९ गते प्रर्दशनमा ल्याइने उनले बताए।

दरबार हत्याकाण्ड जेठ १९ गते नै भएको थियो। दीपेन्द्र शाह नेपाली राजनीतिका एक यस्ता पात्र हुन् जो सम्भवतः विश्वमै छोटो समयका लागि राजा भए। १३ औं राजाको रुपमा अर्धमृत अवस्थामा उनलाई राजा घोषित गरियो।  दरबार हत्याकाण्डको तेस्रो दिनमै उनलाई मृत घोषणा गरियो। राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्र अविवाहित अवस्थामै दिवंगत भए।

२१ जुन १९७१ मा नारायणहिटी दरबारमा उनको जन्म भएको थियो। शाहवंशका यी पात्रलाई लिएर इतिहासमा धेरै लेख लेखिए र पढिए। उनका निकटवर्ती अहिले पनि उनका मित्रता र अन्तरंग क्षणलाई सम्झिएर भावुक बन्छन्। विवेक कुमार शाह लिखित पुस्तक मैले देखेको दरबारमा दीपेन्द्र र दरबारसँग सम्बन्धित धेरै तथ्य उल्लेख छन्। 

बायोपिक विधामा राखिएको यो फिल्मलाई दुई फम्र्याटमा तयार गरिनेछ। फेस्टिभलका लागि डेढघन्टा र व्यवसायिक रिलिजका लागि २ घन्टा लामो सिनेमा तयार गरिने भएको छ। यही सिनेमाका लागि फिल्म निर्माताले उक्त पुस्तकको कपिराइट समेत खरिद गरेको छ।

अभिनेता प्रदीप खड्काले आफूलाई दीपेन्द्रको स्वरुपमा बदल्न तौल बढाउनेदेखि लिएर अनुसन्धानमा आफूलाई होम्ने तयारी गरिरहेका छन्। 

 

प्रतिकृया दिनुहोस