श्रीमानसँग मेरो सम्बन्ध बिग्रिएको छैनः करिश्मा

  • Get News Alerts

बीसौं वर्षपछिको स्थानीय निकायको निर्वाचनका दिन करिश्मा एकाएक चर्चामा आइन्। नेकपा माओवादीबाट फुटेर बाबुराम भट्टराईले खोलेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेपछि करिश्माका लागि अभिनेत्रीबाट नेतृ बनेपछिको पहिलो चुनाव थियो। 
 
तर, उनले भोट दिन पाइनन्। चुनावका दिन फेसबुकमार्फत् श्रीमान विनोद मानन्धरलाई मतदाता परिचय पत्र नपाएको झोंकमा रिस पोखिन्। काठमाडौंमा जन्मे/हुर्केकी करिश्माका पति विनोद मानन्धरले पुख्र्यौली थलो सप्तरीबाट आफ्नो बसाइँसराईं कागज नल्याइदिएपछि मतदाता परिचय पत्र बनाउन नपाएको भन्दै आक्रोश पोखेकी थिइन्।
 
यसपछि अनेक क्रिया–प्रतिक्रिया आए। पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि जोडिन पुगिन्। आखिर, उनले पनि आफ्नो स्ट्याटस करिश्मा लक्षित नभएको भन्दै स्पष्टिकरण दिनुप¥यो। अहिले करिश्मा आफैंले अर्को स्पष्टिकरण दिनुपरेको छ। उनले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएजस्तो श्रीमान र आफूबीचको सम्बन्ध नबिग्रिएको जनाएकी छन्। साथै उनले दोस्रो चरणको निर्वाचनमा राजविराज गएर भोट हाल्ने पनि उल्लेख गरेकी छन्।
 
यस्तो छ उनले फेसबुकमा लेखेको स्ट्याटसः

यो लामो समयको चलचित्र यात्रामा जहिले पनि आफूलाई चित्त नबुझेको कुरा स्पष्ट राख्ने कलाकारमध्ये म एक कलाकार हुँ जस्तो लाग्छ। त्यो अर्थमा म जहिले पनि एउटा खुला किताबको रुपमा नेपाली दाजुभाइ/दिदीबहिनीहरु को अगाडि बस्न चाहेँ। एउटा कलाकार वा अरु जे रुपले हजुरहरु ले मलाई लिनुभएको छ, त्यो बाहेक सर्वप्रथम म एउटा मानिस हुँ। जसरी मानवीय भावना र वेदनाले अरुलाई छुन्छ मलाई पनि छुन्छ।

अनि म आत्मनिर्भर महिला पनि हुँ र आफ्नो र आफ्नो अधिकार को बारेमा सचेत छु तर, सबै कुरा आफ्नो हातमा हुँदैन। त्यसैले चार वर्षदेखि विनोदजीलाई बसाइँसराइको कागज मागिरहेको थिएँ। (सचेत नभएको भए आफ्नो पार्टीले दिएके अभिभारा- चुनावका प्रचार सामग्री बनाउनेदेखी हरेक जिम्मेवारी निभाएको छु। र चलचित्र क्षेत्रमा पनि आफ्नो मेहनतले आफ्नो ठाउँ बनाएको हुँ।) त्यो क्षणमा सायद आफूले काठमाडौंबाट भोट दिन नपाउँदा आवेगमा आफूलाई मनमा लगेको कुरा विनोदजी लाई भनेँ। उहाँले मेरो कुरामा ध्यान नदिएको आक्रोश हो सायद)

तर, जुन प्रकारले विभिन्न मिडियामा हाम्रो सम्बन्धको बारेमा लेखिरहेको देखेँ, त्यो एकदम गलत हो। हामी एक अर्काको सम्मान गर्छौं र यो घटनाले सायद हामी दुवैमा भएका कमजोरीहरु हटाउनु पर्छ भन्ने शिक्षा लिनुपर्छ होला। म त लिनेछु। आशा छ, विनोदजीले पनि लिनु हुनेछ।

केही छैन, आखिर तराई, पहाड, हिमाल जहाँ भोट दिए पनि नेपालमै दिने हो। आउँदो ३१ गते को चुनावमा राजविराज गएर भोट हाल्नेछु।

 

प्रतिकृया दिनुहोस