शान्त भए हार्मोनियम फिट्ने औंलाहरु

  • Get News Alerts

अबिच्युरी
विक्रम परियारका औंलाहरुले अब सदाका लागि हार्मोनियम फिट्ने छैनन्। रंगमञ्चका प्रशिक्षार्थीहरुलाई संगीत सिकाउने क्रममा उनको गलाले अब कहिल्यै गाउने छैन, सा रे ग म प ध नि सा ...। सा नि ध प म ग रे सा ...।
 
उनका औंलाहरु छटपटाउँदै शान्त भएका छन्। छटपटाउँदै अस्ताएको शरीरसँगै शान्त भएको गलाले गाउन बन्द गरेसँगै संगीत र रंगमञ्चका प्रशिक्षार्थी मात्र नभइ स्कुले विद्यार्थीका पनि गला अवरुद्ध भएका छन्। 
 
तर, शान्त स्वभावका विक्रमको मृत्यु भने शान्त किसिमले भएन। 
 
बीसौं वर्षपछि आइतबार सम्पन्न स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा जनप्रतिनिधि चुन्न आफ्नो गृह जिल्ला तनहुँ पुगेका बेला उनको हत्या भएको छ। तनहुँ प्रहरीका अनुसार दिउँसो भोट दिएर साँझपख मोटरसाइकलमा दमौली सहर चाहार्ने क्रममा उनीमाथि अज्ञात समूहले हमला गरेको थियो। ढुंगा र धारिलो हतियार प्रहारबाट हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ। आक्रमणपछि बेहोस भएका उनको पोखरास्थित अस्पतालमा उपचार गराउने क्रममा आइतबार साँझ नै मृत्यु भएको छ। 
 
उनको हत्यापछि स्तब्ध बनेका अधिकांश विद्यार्थीहरुले फेसबुकमा एउटै फोटो राखेर श्रद्धान्जली व्यक्त गरेका छन्। उक्त फोटोमा– ह्याट लगाएका विक्रमले दाह्रीलाई फ्रेन्च कट स्टाइल दिएका छन्। पलेटी आसनमा काँधमाथिको भागलाई अलिकति टेढो पारेका विक्रम हलुका हँसिला देखिन्छन्। उनको देब्रे हातले हार्मोनियम बजाउन चाहिने हावा पम्प गरिरहेको छ भने अर्को हातका औंलाहरु धुन निकाल्न व्यस्त देखिन्छन्। उनको छेवैमा लमतन्न सुतेका प्रशिक्षार्थीहरु आँखा चिम्लिरहेका छन्। नचल्ने तस्बिर हेर्दा थाहा लाग्छ, परियारले फिटिरहेको हार्मोनियमको धुनमा उनीहरु ध्यानस्थ छन्। 
 
नाटक, संगीत, चित्रकला, साहित्य– कलाका यी र अरु विधामा साधना गर्नेहरु भन्छन्, कलामा रमाउनु भनेको ध्यान गर्नुजस्तै हो। नाटक गर्नेहरुका भनाइमा ध्यान गर्दा जस्तो आनन्द मिल्छ, नाटक गर्दा त्यस्तै आनन्द अनुभूत हुन्छ। नाटकको प्रयोगात्मक सिकाइमा शारिरीक तथा मानसिक रुपमा अनेक अभ्यास गराइन्छन्। सिक्नेहरुको अनुभवमा सिक्दा पनि ध्यानको आनन्द मिल्छ। 
 
सायद, फेसबुकमा अधिकांश प्रशिक्षार्थीहरुले ट्याग गरेको फोटोले भन्छ– उनीहरुले ‘विक्रम सर’को संगीत सिकाइबाट पाएको आनन्दलाई व्यक्त गरेका हुन्! परियारबाट जुन आनन्द प्रशिक्षार्थीहरुले पाउँथे, अब कल्पिँदा मात्र पाउनेछन्। जुन आनन्द, अब स्मृतिमा मात्र संग्रहित भएर रहनेछ।
 
फोटोमा विक्रमले एउटा टिसर्ट लगाएका छन्, जसमा ‘एक्टर्स स्टुडियो’ को लोगो छ। काठमाडौंका नाटकघरमा भेटिँदा विक्रम अधिकांश समय यही लोगो भएको टिसर्टमा भेटिन्थे। कहिले पहेँलो रङको त कहिले कालो रङको। 
 
यो लोगो भएको ‘एक्टर्स स्टुडियो’ रंगमञ्चमा स्थापित अनुप बरालको नेतृत्वको नाटक समूह हो। जसले झन्डै दुई दशकदेखि नेपाली रंगमञ्चमा आफ्ना नाटकहरु मञ्चन गरिहेको छ। अनुप ती हुन्, जो भारतको प्रख्यात नाट्यस्कुल ‘नेसनल स्कुल अफ ड्रामा’ (एनएसडी) मा नाटक विषयमा स्नातक पढेर आएका हुन्। त्यसयता उनले नाटक गर्ने मात्र नभइ नयाँ–नयाँ रंगकर्मीहरु उत्पादन गर्न नाटकको स्कुल पनि चलाउँदै आएका छन्। जसले अहिले बीसौं ब्याचलाई प्रशिक्षण दिँदैछ। 
 
यी सबै ब्याचका विद्यार्थीका मूल गुरू अनुप त हुन् नै, विक्रम पनि एक मुख्य गुरू हुन्। हाल फिल्ममा स्थापित अभिनेता दयाहाङ राई, अभिनेत्री सिर्जना सुब्बा, निर्देशक नरेशकुमार केसी, थिएटर भिलेजका निर्देशक विमल सुवेदीजस्ता कलाकारहरु विक्रमका पनि विद्यार्थी हुन्। 
 
नाटकको पढाइमा स्वरको अभ्यास महत्वपूर्ण मानिन्छ। नाटकमा लामा संवाद भन्नुपर्दा ख्याल गर्नुपर्ने उतारचढाव, लामा संवादहरु एकै सासमा स्पष्ट र टड्कारो आवाजमा बोल्नुपर्नेजस्ता अभ्यास यसअन्तर्गत पर्छन्। नाटक कलाका धेरै विधाहरुको संयोजित रुप पनि हो। त्यसैले एउटा रंगकर्मीले संगीतको आधारभूत ज्ञान लिनु जरुरी मानिन्छ। संवाद बोल्नका लागि पनि संगीत सिकाइले ठूलो सहयोग पु¥याउँछ। हो, विक्रम यस्तै अभ्यास गराउने गुरू हुन्। एक्टर्स स्टुडियोको पहिलो ब्याचदेखि हालसम्मै उनी संगीत र स्वर अभ्यासका गुरू थिए। नेसनल एक्टिङ कम्पिटिसन, थिएटर भिलेज, मण्डला थिएटर, अोस्कार फिल्म कलेजमासमेत संगीत र स्वर अभ्यास पढाएका थिए उनले।
 
अनुप बरालका भनाइमा नाटक तथा फिल्ममा अभिनयसमेत गर्ने विक्रम पहिले संगीतकर्मी हुन्। त्यसो त, यी दुईको भेट भने अभिनयका सिलसिलामा भएको थियो। करिब १२ वर्षअघि नवीन सुब्बाको निर्देशनमा बनेको टेलिश्रृंखला ‘दलन’ को ‘कास्टिङ डाइरेक्टर’ (कलाकार छान्ने निर्देशक) थिए अनुप। विक्रम यसै टेलिश्रृंखलामा अभिनय गर्न अडिसनमा आएका थिए।
 
अडिसनमा अनुपले सोधे, ‘एक्टिङबाहेक के गर्नहुन्छ?’
 
‘म खासमा म्युजिकको मान्छे हो सर,’ विक्रमले त्यतिबेला बोलेको अनुपको स्मृतिमा ताजै छ, ‘अभिनय पनि मेरो रुची हो। म बाजाहरु पनि बजाउँछु। गाउँछु पनि।’
 
‘अनि, मैले भनेँ– ल केही सुनाउनुस् न त,’ एउटा कलाकारका विविध प्रतीभा खुट्याउने निर्देशक अनुपले आइतबार सेतोपाटीसँग आफ्नो सम्झना बाँडे, ‘उहाँले बाजागाजाबिनै गन्धर्वहरुको गीत गाउनुभयो। तर, मुखले मात्र होइन, आफ्नो शरीरलाई नै बाजाको ताल दिएर। मैले त्यतिबेलै मनमनै कुरा गरेँ– यस्तो मान्छे थिएटरमा आवश्यक छ, जसले आफ्नो शरीरलाई कलामा रुपान्तरण गर्न सकोस्। विक्रम सर हातले बजाउने बाजाभन्दा मुखले धुन निकालेर बजाउने बाजा बजाउन आनन्द मान्नुहुन्थ्यो। उहाँलाई एक्वोर्डियन (हार्मोनियमजस्तै शरीरमा झुन्ड्याएर बजाइने बाजा) बजाउने ठूलो रहर थियो। तर, त्यो रहर पुरा हुन पाएन।’
 
अभिनयको अडिसनमा आएको मान्छेको संगीत प्रतीभा त अनुपले अभिनय गर्नुअघि नै पत्ता लगाए। तर, उनले अभिनय भने देखेका थिएनन्। दलनमा काम गर्दा अनुपले विक्रम कुनै चरित्र टपक्क टिप्न सक्ने खुबी भएको कलाकारको रुपमा चिने। 
 
अनुपले त्यतिबेलै विक्रमको अर्को प्रतीभा पनि पत्ता लगाए, उनी जति राम्रो संगीतकार, अभिनेता हुन्, त्यति नै राम्रो मिमिक्री पनि गर्न सक्छन्। उनी नेवार, तामाङजस्ता विभिन्न जातजातिका लवज र चरित्र दुरुस्तै उतार्न सक्थे। कतिसम्म भने त्यतिबेलासम्म अनुप मिमिक्री मन पराउँदैनथे। उनी आफ्ना विद्यार्थीलाई भन्ने गर्थे, ‘मिमिक्रीले गम्भीर अभिनयलाई बिगार्छ।’
 
तर, विक्रमसँगको संगतपछि भने अनुपको त्यस्तो धारणा स्वाट्टै घटेछ।
 
दलितको विषयमाथि बनेको ‘दलन’मा अभिनेत्री दिया मास्केले निभाएको कालीको दाइ बनेका विक्रम टेलिभिजनबाट पहिले अभिनेताका रुपमा परिचित बने। तर, अनुपले उनलाई अभिनेताका रुपमा हैन, संगीतकारको भूमिकामा एक्टर्स स्टुडियोमा गुरू बन्न प्रस्ताव राखे। विक्रम तयार भए। अनुपले रंगमञ्चमा चाहिने संगीत र स्वर अभ्यासका केही अनुभव साटे। 
 
त्यसबेलादेखि अहिलेसम्म अनुप र विक्रमको सम्बन्ध रहिआएको थियो। एक्टर्स स्टुडियोका प्रशिक्षार्थीका संगीत गुरू, नाटकका संगीतकारमै आफूलाई केन्द्रित गरे। तर, नामको भोकमा विक्रम कहिल्यै भौंतारिँदै हिँडेनन्। एक्टर्स स्टुडियोको सानो घेरामा नाटकका प्रशिक्षार्थीहरुलाई हार्मोनियमको तालमा सा रे ग म ... सिकाइरहे। 
 
एक्टर्सको प्रस्तुतिमा अनुप बराल निर्देशित चोख्याउनी, टलकजंग भर्सेस टुल्के, बाँकी उज्यालो, मलामी, द ग्रेट सर्कस, भर्चुअल रियालिटीलगायत नाटकहरुमा उनले पाश्र्व तथा लाइभ संगीत दिए। बाँकी उज्यालोजस्ता नाटकमा मुख्य भूमिकामा अभिनयसमेत गरे। अनुप बरालसँग उनले काम गरेको पछिल्लो चर्चित नाटक कोर्ट मार्सल हो। अनुपको निर्देशनमा बनेको फिल्म ‘फिटकिरी’मा समेत उनले अभिनय गरेका थिए। सबिन लेम्यान, डेबोरा मेरोलालगायत निर्देशकको नाटकमा पनि उनले अभिनय गरेका थिए। पछिल्लो समय उनी फिल्म अभिनयमा बढी केन्द्रित देखिन्थे। ताण्डव, कुसुमे रुमाल, काठमाडौंः द मिरर इन द स्काइलगायत आधा दर्जनभन्दा बढी फिल्ममा उनले अभिनय गरेका छन्।
 
तर, उनले संगीत र नाटकलाई भने जहिल्यै पहिलो प्राथमिकतामा राखे। अंग्रेजी शिक्षक विक्रम केही विद्यालयमा नाटकसमेत पढाउँथे। विद्यालयको कोर्समा नाटकसमेत पढाइ हुनुपर्छ भनेर लामो समयदेखि बोल्दै आएका विक्रमको सपना पनि लगभग पुरा भयो। जब उनी आफैं नाटकको ‘कोर्स डिजाइनर’ बने।
 
अनुपका भनाइमा उनी नाटकलाई बुझेर संगीत दिन सक्ने व्यक्ति हुन। रंगमञ्चको समेत ज्ञान भएका, अभिनयमा चासो राख्ने भएकाले उनी नाटकमा चाहिने संगीतको खोजी गर्न निकै मेहनत गर्थे। ‘चोख्याउनी नाटक गर्दा उहाँले थारु सँस्कृति झल्काउने संगीत बनाउन निकै मेहनत गरेको अझै सम्झन्छु,’ उनले भने।
 
अनुपले बुझेका विक्रम शालीन थिए। ‘गरीब परिवारमा हुर्किनुभएका विक्रम सर संघर्षशील हुनुहुन्थ्यो,’ अनुप भन्छन्, ‘थिएटरको संगीत के हो भन्ने बुझेर संगीत रचना गर्न सक्ने खुबी उहाँमा थियो। स्वभाव शान्त भए पनि थिएटर र संगीतमा केही गरौं भन्ने छटपटी जहिल्यै उस्तै देखिन्थ्यो। यति मात्र नभइ, उहाँ एकदमै पारिवारिक मान्छे हुनुहुन्थ्यो। श्रीमती र बालबच्चाको खुसीका लागि उहाँ मरिमेट्नुहुन्थ्यो। छोरा–छोरीलाई समेत संगीत पढाउन उहाँले निकै मेहनत गर्नुभएको छ।’
 
यतिका वर्ष रंगमञ्च र संगीतमा निरन्तर लागि परेका विक्रम कुनै समय विरक्तिएर झन्डै पलायन भएका रहेछन्। एक्टर्स स्टुडियोका तेस्रो ब्याचमा विक्रमबाट प्रशिक्षण लिएका मध्येका एक विमल सुवेदीले दुई वर्षअघिको क्षण सम्झिए। जुन कुरा विक्रमले दुई वर्षअघि गुरूपूर्णिमाका दिन एक्टर्सका आफ्ना प्रशिक्षार्थीहरुसँग सम्झाएका रहेछन्।
 
छोरी जन्मिदाको कुरा हो। सुत्केरी गराउन थापाथली अस्पतालमा भर्ना भएकी श्रीमतीको उपचार गर्न औषधी किन्ने पैसासमेत नभएपछि उनी पैसा खोज्दै हिँडेका थिए। आफ्नै चेला सुवेदीलाई पैसा नहुँदाको दुःख सुनाए। सुवेदीको सम्झनाअनुसार खोजखाज पारी चार÷पाँच हजार बोकेर उनी अस्पताल पुगे। गुरूलाई अस्पतालको काममा सघाए। त्यहीँ गुरू–चेलाको लामो बातचित भयो। 
 
विक्रमले पैसा नहुँदाको दुःख पोख्दै भनेछन्, ‘मैले यत्तिका वर्ष थिएटरमा काम गर्दा बच्चा जन्माएकी श्रीमतीको उपचार पनि गराउन सकिनँ। यहाँ मेरो के मूल्य? श्रीमती तंग्रिएपछि विदेश जान्छु।’
 
तब विमलले भनेछन्, ‘सर! तपाईं आफ्नो मूल्यको कुरा गर्दै हुनुहुन्छ। तपाईंको श्रीमतीको मूल्य कति? भर्खरै जन्मिएकी छोरीको मूल्य कति? यहाँ तपाईं आफ्नो परिवारसँग बसेर आफूलाई खुसी लाग्ने काम गर्दै हुनुहुन्छ। यो पनि कुनै मूल्यमा आउने कुरा हो र?’
 
‘त्यो बेला के सुरमा मैले त्यसो भनेछु,’ विमल भन्छन्, ‘मैले आफूले भनेको पनि बिर्सिसकेको थिएँ। दुई वर्षअघि गुरूपूर्णिमाका दिन पो साथीहरुकै बीचमा उहाँले भन्नुभयो– विमलको भनाइले म विदेश गइनँ। मैले त्यतिबेला ऊसँग लिएको पैसा सधैं सम्झिरहन्छु। तर, तिर्ने आँट भने कहिल्यै भएन। अब पनि छैन। त्यस्तो अप्ठ्यारो परेको बेला गरेको सहयोगको मूल्य कति हो र म कति तिरौं?’
 
'विक्रम सरको त्यो कुरा सुनेपछि म निकै भावुक भएँ,' विमलले भने। 
 
आफ्ना प्रिय गुरूको हत्या भएको खबर सुनेपछि विमलले यही क्षण सम्झिए र आफैंलाई प्रश्न गरे, ‘जिन्दगीको मूल्य कति?’
 
जसरी जिन्दगीको मूल्य कुनै गणनामा आउँदैन, नेपाली रंगमञ्चमा उनले दिएको संगीत, अभिनय र प्रशिक्षणको मूल्य पनि गणना हुन सक्दैन! अझै उनी अमूल्य संगीत दिने छटपटाहटमा थिए होलान्! तर, अब त्यो छटपटीले संगीतको रुप नलिँदै सधैंका लागि शान्त हुन बाध्य भएको छ।
 
उनका औंलाहरुले अब सदाका लागि हार्मोनियम फिट्ने छैनन्। एक्टर्स स्टुडियोको कोठामा लमतन्न सुतेर ध्यानस्थ मुद्रामा सुन्न पर्खिरहेका कानहरुमा अब सम्झनाको गुञ्जायस मात्र बज्नेछ– सा रे ग म प ध नि सा ... सा नि ध प म ग रे सा ...! 

प्रतिकृया दिनुहोस