आउँदो नयाँ वर्षमा ‘नाईं नभन्नु ल ५’

  • Get News Alerts

अहिलेसम्मकै लामो संस्करण मानिएको ‘नाईं नभन्नु ल’ को पाँचौं संस्करण बन्ने पक्का भएको छ। आउँदो नयाँ वर्षका अवसरमा रिलिज गर्ने गरी निर्देशक विकास आचार्यले तयारी थालेका छन्। सामीप्यराज तिमल्सिना र आचार्यले संयुक्त रुपमा पटकथा लेखिरहेका छन्।
 
हरेक नयाँ वर्षमा ‘नाईं नभन्नु ल’ टाइटल जोडिएका फिल्म रिलिज हुन्थे र हिट पनि भइरहेका थिए। यो वर्ष भने न यो नामले नै निरन्तरता पायो, न निर्देशक विकास आचार्यका कुनै फिल्म रिलिज भए। 
 
निर्देशक आचार्य यो नामलाई निरन्तरता दिने या नदिने भन्नेमै लामो समयसम्म द्विविधामा रहे। पहिले सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ लाई नाईं नभन्नु ल ५ नाम दिने कुरा पनि चलेको थियो। तर, पछि आचार्यका चेला मुस्कान ढकालले समर लभ नाममै फिल्म बनाइरहेका छन्। मुस्कानले यसअघि नाईं नभन्नु ल ३ को निर्देशन गरेका थिए।
 
मुस्कान समर लभमा व्यस्त भएपछि आचार्यले ‘निराञ्जना’ निर्देशनको घोषणा गरे। फेरि, हालसालै उनी ‘छक्कापञ्जा २’ को लेखन र निर्माणमा लागेका छन्। छक्कापञ्जाकै कारण निराञ्जना पछाडि धकेलियो। अहिले नीराञ्जनालाई नै नाईं नभन्नु ल ५ को टाइटल दिन लागिएको आचार्यले जानकारी दिए।
 
फिल्मका कथाकारसमेत रहेका अचार्यले भने, ‘फिल्मका पात्रहरुका नाम नीर र अञ्जना रहेकाले निरञ्जना सोचिएको हो। अहिले निराञ्जनामा नाईं नभन्नु ल टाइटल जोड्ने या निराञ्जना नराखी नाईं नभन्नु ल ५ राख्ने भन्नेमै सल्लाह भइरहेको छ।’   
 
दर्शक नाईं नभन्नु लको प्रतीक्षा रहेको जनाउँदै आचार्यले यो टाइटल छोड्ने सम्भावना भने नरहेको बताए।

प्रतिकृया दिनुहोस