बन्ने भयो ‘मिस्टर झोले’, दयाहाङ मुख्य भूमिकामा

  • Get News Alerts

यसअघि दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘झोले’ को ‘टाइटल ब्रान्ड’लाई लिएर निर्देशक रामबाबु गुरुङले ‘मिस्टर झोले’ निर्माण घोषणा गरेका छन्। यसअघि मुख्य भूमिकामा रहेका दयाहाङ नै यसका मुख्य अभिनेता हुन्, तर यो झोलेको सिक्वेल भने होइन। 
 
बिहिबार बिहान काठमाडौंको भाटभटेनी मन्दिरमा पूजा गर्दै फिल्मको मुहुर्त गरिएको छ। फेसबुकमार्फत् फिल्मबारे जानकारी दिँदै निर्देशक गुरुङले भनेका छन्, विषय, स्थान, पात्र, कथा संरचना भिन्न रहेकाले झोलेको सिक्वेलको रुपमा भने रहनेछैन।’
 
रामबाबु आफैं फिल्मका निर्मातासमेत हुन्। टेकेन खड्का निर्माता हुन् भने रौनकविक्रम कँडेल कार्यकारी निर्माता रहने जानकारी गराइएको छ। सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको ब्यानरबाट संयुक्त निर्माण हुन लागेको फिल्मलाई शैलेन्द्र डी. कार्कीले खिच्नेछन्। 
 
‘कबड्डी’बाट चर्चित निर्देशकको यो पाँचौं फिल्ममा दयाहाङका अलावा दिया पुन, वर्षा राउत, प्रवीण खतिवडा, बुद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, सरोज अर्याललगायतले अभिनय गर्नेछन्। 

प्रतिकृया दिनुहोस