मीरा राईमाथि बनेको डकुमेन्ट्री युट्युबमा (भिडियो)

  • Get News Alerts

१५ वर्षको उमेरमा तत्कालिन नेकपा माओवादीका तर्फबाट सशस्त्र युद्धमा होमिएकी मीरा राई कालान्तरमा ‘अयोग्य लडाकु’ बनिन्। माओवादी शिविरमै रहँदा कराँते सिकाएका गुरूको सहयोगमा काठमाडौं आइपुगिन्।
 
भोजपुरको खान–लाउन पनि धौ–धौ पर्ने परिवारमा हुर्किएकी राईले तीन वर्षको अन्तरमा यति ठूलो सफलता पाइन्, नेसनल जियोग्राफीले उनलाई सन् २०१७ को संसारकै साहसिक महिलाको उपाधी दियो। 
 
गाउँमा आफ्नो तौलभन्दा बढी भारी बोकेर दौडिने राईले तीन वर्षअघि प्रतिष्पर्धाका लागि अल्ट्रा दौड सुरु गर्दा उनको साथमा बालाजुमाथिको जंगल छिर्न चाहिने टिकट दस्तुरबराबरको रकम पनि थिएन। उनले थुप्रैपटक च्यातिएको जुत्ता लगाएर दौडिएकी छन्। घाइते अवस्थामा दौडिएर प्रतिष्पर्धा जितेकी छन्। आर्थिक संकटका कारण मलेसिया जान म्यानपावरमा पासपोर्ट बुझाइसकेकी थिइन्।
 
उनै ‘विश्व च्याम्पियन’ मीरा राईमाथि बनाइएको डकुमेन्ट्री युट्युबमा सार्वजनिक भएको छ। केही महिनाअघि काठमाडौंमा आयोजित ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव’ (किम्फ) मा यो डकुमेन्ट्री प्रदर्शन हुँदा दर्शकले टिकट नपाएर फर्कनुपरेको थियो। यसै महोत्सवमा डकुमेन्ट्रीले दर्शकका तर्फबाट सबैभन्दा धेरै भोट पाउँदै ‘अडियन्स च्वाइस अवार्ड’ जितेको थियो। 
 
हालसम्म संसारभरका आधा दर्जन फिल्म महोत्सवमा छानिइसकेको डकुमेन्ट्रीले केही महोत्सवमा अवार्डसमेत हात पारिसकेको छ। ४२ मिनेट लामो ‘नेपाली भर्सन’को डकुमेन्ट्रीलाई लोयड बेल्सरले निर्देशन गरेका छन्।

 

प्रतिकृया दिनुहोस