ती देहातका शिल्पीहरुः रेणु, राजकपुर, शैलेन्द्र र ‘तीसरी कसम’

  • Get News Alerts

फिल्म अनुभूति
आज फणीश्वरनाथ रेणुको जन्मदिन। रेणुलाई सम्झनेबित्तिकै मन देहाततिर डुल्न थालिहाल्यो। पँयडाहरुबाट गुज्रन थाल्यो। भारत र नेपालका स्वतन्त्रता संग्रामहरुमा भाग लिएका यी सेनानीलाई जन्माउने, हुर्काउने, पढाउने अनि बढाउने विहारको फारबिसगंज, नेपालको बिराटनगर र कोइराला परिवारबारे धेरै जानकार होइन। तर, रेणुका कृतिहरुमा उभिएका देहातचाहिँ मेरो पनि भूभाग हो। मेरो बाल्यकालको महत्वपूर्ण अंश बोकेको मामाघर अर्थात रौतहटको पुरेनवा देहातै थियो। रेणुका आंचलिक साहित्यले चित्रण गर्नेजस्तै निख्खर देहात।
 
रेणुको कलमले उभ्याएका देहातका घुर्मैला चित्रहरु अहिले पनि तत्कालीन समाजलाई उसैगरी प्रतिविम्वित गर्छन् जसरी इम्प्रेसनिस्टका तैल रंगहरु। केटाकेटीलाई औषधि खान महले सजिलो पारिदिएजस्तो ‘मैला आँचल’ र ‘परती परिकथा’ जस्ता महान कृतिका उपन्यासकारलाई मैले चिन्न सुरुगरेको चाहिँ एउटा हिन्दी सिनेमाबाट थियो।
‘तीसरी कसम’। 
...
 
देहातबाट सुरुभएर देहातमै सकिएको सिनेमा कस्तो हुन्छ? सबथोक एकतमासले चलिरहेको–प्रकृतिको नियमलाई कतैपनि उल्लंघन नगरिकन। अलिकता गतिशिल केही छ भने एउटा टायरगाढा। त्यो टायरगाढामा सवार नायक अर्थात् मिता अर्थात् राजकपुर अनि नायिका अर्थात् हीराबाई अर्थात् वहीदा रहमान।
 
मान्छेलाई कहिलेकाहिँ अनौठो समस्या पर्ने गर्छ। मलाई त्यस्तो समस्या कोहिकोहि मानिसले ‘सबैभन्दा मनपरेको फिलिम कुन हो?’ भनेर सोध्दा पर्ने गर्छ। किनभने मैले जतिलाई इमान्दारिपूर्वक जवाफ दिनेगरेको छु, तीमध्ये अधिकांशले त्यो सिनेमा पुरा गर्नै नसकेर आधामै छाडेको बताउने गर्छन्। यस्तो जानकारी पाउँदा पाउँदै सकभर कसैलाई त्यो सिनेमा तर्फ बढाउन नपरोस् भन्ने हुन्छ। यस्तो दोधारमा पार्नेगर्छ मलाइ मेरो प्रिय ‘तीसरी कसम’ले।
 
हो पनि त, जुन सिनेमाको अधिकांश भाग एउटा देहातमा गुडिरहेको टायरगाढा र त्यसमा सवार नायक नायिकाको संवाद अनि गानामा अघि बढेको छ, त्यो कसरी धेरैलाई रुचीकर हुनसक्छ? नायिकालाई सोझै हेर्नसमेत अप्ठेरो मान्दै नजर छलिरहेका राजकपुरका आँखाको गहिरो भाव र भारतीय चलचित्र उद्योगकै शालिन र गम्भीर नायिका वहीदाका जिज्ञासाहरु। त्यो जमानाकी कम्पनीकी बाइ बजारको रमझमभन्दा पर एउटा अत्यन्तै भद्र र उत्तिकै रोचक युवकसँग लगातार पराजित हुँदै गइरहेका क्षणहरु। त्यस सिनेमाका प्रत्येक फ्रेमहरु एउटा गजबको चित्रकारिताजस्ता लाग्छन्।
 
गाउँले मेला, त्यसमै आयोजित नौटंकी, त्यसैमा नाच्न आउने बाइ, उसको वरपर झुम्मिन रुचाउने गाउँलेदेखि लिएर टायरगाढामा दुलहा र दुलहीजस्तै यात्रा गरिरहेको देख्दा परसम्म पछ्याउने देहाती केटाकेटी। मधेसमा अनुभव गरेरै हुर्किएजस्ता हाम्रै गाउँ देहातका दृश्यहरुले मन छुन्छ। राजनीतिक सिमानाले नकाट्ने हो भने कहाँबाट नेपाल सुरु हुन्छ र कहाँबाट भारत आइपुग्छ भन्ने पत्तो नपाइने साझा दृश्यहरु।
 
काठमाडौंले सबैभन्दा कम बुझेको र यतिबेला सबैभन्दा बढी चर्चा चलिरहेको मधेसका यस्तै विशेषताहरु यतिबेला विडम्बना बनिरहेको यथार्थ छ। जो कसैलाई राष्ट्रियताको हवाला दिँदै सहजै ‘कलंकित’ पारिदिने जुलुस चलिरहेको बेला यस्ता कुरा उठाउनु पनि डरमर्दो।
 
त्यसले गर्दा पनि शनिबार रेणुप्रतिको आदर भित्रभित्रै अझ बढेको थियो।
 
रेणुकै तुलनात्मक रुपले कम चर्चित एउटा कथा ‘मारे गए गुलफाम’मा आधारित भएर बनेको सिनेमा थियो यो।
 
...
 
जबजब सन्दर्भ ‘तीसरी कसम’को आउँछ, म सबैभन्दा बढी शैलेन्द्रलाई पनि महशुस गर्छु। एउटा कवि जसलाई फिल्मी दुनियाँले गीतकार बनाइदियो र उसैको तातो पाकमा डुबाएर असमयमै सिध्याइ दियो। नत्रभने शंकरदास केसरीलाल (पछि शैलेन्द्र) सायद अलिक पछिसम्म पनि चोक चौराहामा कविता सुनाएरै बाँचिरहने थिए।
 
मायानगरी मुम्बइ आइपुगेका उनलाई कविहरुको जमघटमा पहिलोपटक राजकपुरले देखेका थिए। सायद त्यो रेलवेस्टेशनमा आयोजित कुनै मुसायरा थियो। त्यसताका शैलेन्द्रको काम फकिरजस्तो डुल्नु र सार्वजनिक थलोहरुमा गीत कविता सुनाउनु हुन्थ्यो। उनी विचारले कम्यूनिष्ट थिए र सडकमै आफूलाई सहज महशुस गर्थे। 
 
त्यो मुसायरामा शैलेन्द्रले सुनाएको ‘जलता है पञ्जाब’ शिर्षकको कविता असाध्यै जोडदार थियो। राजकपुर मान्छे चिन्न खप्पीस। उनी त्यतिबेला ‘आग’ बनाउने तयारी गरिरहेका थिए। राजकपुरले शैलेन्द्रलाई आफ्नो सिनेमाका निम्ति गीत लेखिदिन अनुरोध गरे।
 
शैलेन्द्र जुन विचार राख्थे त्यो विचारले फिल्मी रमझमको दुनियाँमा उनलाई अघि बढ्न दिँदैन थियो। उनले आफू सडकमै मस्त रहेको बताउँदै त्यो बेलाका त्यत्रा प्रभावशाली राजकपुरको प्रस्तावलाई अस्वीकार गरिदिए।
त्यतिबेला सिनेमामा अवसरका निम्ति कस्ता कस्ता पछि लाग्ने राजकपुर एउटा सडकमा हिँड्ने कविका सामुन्नेबाट चाहिँ खाली हात फर्किए।
 
मान्छेको नियति कहाँनिर गएर बदलिन्छ, थाहा हुँदैन। पछि शैलेन्द्रले दुःख पाए। विशेषगरेर उनको श्रीमति गर्भवती भएको बेलामा राम्ररी खानदिने पैसा पनि नभएपछि उनी एकसमय आफूले खाली हात फर्काएको उनै राजकपुरका सामुन्ने पुगे।
 
‘म तपाइँसँग काम गर्न तयार छु,’ शैलेन्द्रले राजकपुरलाई सुनाए। राजकपुरले तत्कालै स्वागत पनि गरिहाले।
 
त्यसपछि भारतीय चलचित्रको घेरामा एकसेएक गीतहरु आउन सुरुभयो। राजकपुर र शैलेन्द्रको संगत अनि शंकर जयकिशनका संगीत।
शैलेन्द्रले गीत त ‘वरसात’ (सन् १९४९) बाटै लेख्न सुरुगरे। तर, लेख्न थालेको दुइ वर्षमै सन् १९५१ मा बनेको ‘आवारा’को एउटा गीतले चाहिँ उनलाई उचाइँको हदसम्मै लग्यो।
 
‘आवारा हुँ
या गर्दिशमे हुँ, आसमानका तारा हुँ
आवारा हुँ’
 
यो गीत कतिसम्म प्रसिद्ध भयो भने, त्यो बेलाको भाषा र राष्ट्रियताको सिमाना नाघेर संसारभरि फैलियो। राजकपुर पछि तत्कालीन सोभियत संघ गएका बेला रुसीहरुले उनलाई सामूहिक रुपले त्यो गीत गाएर स्वागत गर्दा चकित परेका सन्दर्भ समेत चर्चामा आएको थियो।
 
शैलेन्द्रका गीतहरु कतिसम्म चर्चित र प्रभावशाली भइदियो भने राजकपुरका निम्ति त उनी ‘ब्राण्ड’ नै भइसकेका थिए। त्यसबाहेक पनि फरक निर्देशकका ‘गाइड’ जस्ता सिनेमामा उनले लेखेका गीतहरु उत्तिकै कालजयी बने।
 
यसरी फिल्मी दुनियाँमा रमाउँदै गएपछि शैलेन्द्रलाई राम्रैसँग सिनेमाको चस्का बस्न थाल्यो। अब उनी आफू पनि निर्माता बन्ने सपना देख्न थाले।
 
उनले फणीश्वरनाथ रेणुको कथा छाने, त्यसका निम्ति त्यतिबेलाका माहिर निर्देशक बासु भट्टाचार्यको चयन गरे र नायक नायिकामा पनि अब्बल छनौट थियो नै। सन् १९६१ बाट उनले सिनेमाको काम अघि बढाए र फिल्म तयार भयो १९६६ मा।
 
यो सिनेमा बनाउनका निम्ति शैलेन्द्रले जीन्दगीभरिको कमाइ मात्र लगाएका थिएनन्। भारतीय पत्रपत्रिकाले जनाएअनुसार उनले टन्नै रिन पनि लिएका थिए।
 
यसरी बनेको थियो ‘तीसरी कसम’। 
 
एउटा टायरगाढा हाँक्ने सोझो गाउँले कसरी दुनियाँदारीको मोहमा फँस्दैजान्छ र कसरी कसम खाँदै त्यसबाट निस्कँदै जान्छ भन्ने कुराको अत्यन्त मार्मिक चित्रण यसमा गरिएको थियो। ठोक्कर पाउनेबित्तिकै दुइवटा कसम त उसले सिनेमाको प्रारम्भिक क्षणमै खाएको देखाइन्छ। तेश्रो कसम खानुअघिको परिस्थितीमा भने यो सिनेमा बनेको छ। अर्थात्, सिनेमा त्यही तेश्रो कसममाथि छ।
 
गीतकारको सिनेमा भएपछि गीतको झनै के कमी? ‘सजन रे झुठ मत बोलो, खुदाके पास जाना है’, ‘दुनियाँ बनानेवाले क्या तेरी मनमे समाइ, काहेको दुनियाँ बनाइ?’, ‘सजनवा बैरी होगइ हमार’, ‘लाली लाली डोलियामे लाली रे दुल्हनियाँ’, ‘चलत मुसाफिर मोह लिया रे पिँजडेवाली मुनिया’, ‘पान खाए सैयाँ हमार’ देखि ‘मारे गए गुलफाम’ सम्म एकसेएक गीतहरु यसमा थिए।
 
तर, नहुनुपर्ने कुरा भइदियो। सिनेमा भारतभरिका हलहरुमा लाग्न नपाउँदै उत्रियो। ‘फ्लपै’ ठहर गरियो। यसका रिलहरु डब्बामा बन्द भए।
 
सडकमा गाएर रमाइरहेको मानिसलाई फिल्मी दुनियाँले रंगीन आकाशमा उडाएर नराम्ररी भुइँमा बजारिदियो। त्यसको प्रभाव त पर्नु नै थियो। शैलेन्द्र अचानक अत्यन्त रक्सीवाज भइदिए। बौलाहाजस्तै बने। सिनेमा रिलिज भएकै वर्ष शायद हृदयाघातबाटै उनको ४३ वर्षकै उमेरमा निधन भयो।
 
भाग्यको खेल! फेरि अर्को चमत्कार भइदियो।
 
शैलेन्द्रको मृत्यु भएको केहि समयमै अर्थात् सन् १९६७ मा त्यो सिनेमा तत्कालीन विश्वकै प्रसिद्ध चलचित्र महोत्सव ‘मस्को इन्टरनेशनल फिल्म फेस्टिभल’को छनौटमा पर्न सफल भयो। सर्वोत्तम चलचित्रको पुरस्कार ‘ग्रयाण्ड प्रिक्स’को निम्ति प्रतिस्पर्धामा पुग्नेबित्तिकै यस सिनेमालाई लिएर संसारभरि चर्चा सुरु भयो। 
 
त्यसले डब्बामा बन्द भइसकेको सिनेमालाई फेरि एकपटक चम्कायो। त्यतिमात्र होइन, त्यसै वर्ष भारतको ‘नेशनल फिल्म अवार्ड’ पनि यसै सिनेमाले पाउन सफल भयो। 
 
त्यतिबेला निर्देशक बासु भट्टाचार्यले पुरस्कार स्वरुप ५ हजार रुपैयाँ मात्र होइन, निधन भइसकेका निर्माता शैलेन्द्रले जितेको २० हजार रुपैयाँको पुरस्कार पनि ग्रहण गरेका थिए।
 
यसरी एउटा डब्बामा पुगेको सिनेमा सोभियतसंघबाट उठेको तुफानलाई पछ्याउँदै फेरि हलहरुमा खचाखच भीँड लाग्न सुरुभयो। सुपरहिट मानियो। 
 
तर, नियति... निर्माता शैलेन्द्रले त्यो दिन देख्नै पाएनन्। एउटा शब्द शिल्पीलाई सिनेमाको रंगीन दुनियाँले यसरी अनाहकमा सदाको निम्ति मेटाइदिएको थियो।
 
...
 
इमान्दारिपूर्वक लेख्ने मानिसहरु कहिल्यै हार्दैनन्। शैलेन्द्रलाई श्रद्धान्जली। 
 
देहातलाई बोकेर बाँचेका र अब धमाधम हराउँदै गएका देहातका चित्रलाई सँधैभरि शब्दहरुले जोडेर गइदिएका फणीश्वरनाथ रेणुलाई पनि आज उनको जन्मदिनमा हार्दिक नमन। नेपाल र भारतका सिमावर्ती क्षेत्रमा बाँच्दै आएकाहरुको कथा अमर रहोस्।  

प्रतिकृया दिनुहोस