मुसहर बस्तीको शिलान्यास, धुर्मुस–सुन्तलीलाई मह जोडीको एक लाख

  • Get News Alerts

हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले बनाउन लागेको तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास  भएको छ। महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित बस्तीको शिलान्यास हास्यकलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र सरसफाइ अभियन्ता रामआशिष यादवले संयुक्त रुपमा गरे।
 
नयाँ वर्षमा हस्तान्तरण गर्ने योजनाअनुरुप निर्माण सुरु भएका बस्तीको शिलान्यास गर्दै हास्यकलाकार आचार्यले धुर्मुस–सुन्तलीले देशको सन्तान भएर गर्नुपर्ने कर्तव्य निभाएको बताउँदै जोडीले पहाडदेखि तराईसम्म खुसीको उज्यालो छर्ने काम गरेको बताए। ‘अब सिंगै देशमा खुसी छरुन्,’ उनले थपे। 
 
यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए। ‘पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुँदैनथ्यो,’ उनको भनाइ थियो।
 
शिलान्यास कार्यक्रममा मह जोडीले बस्ती निर्माणका लागि रु. एक लाख सहयोग गर्ने घोषणा गरे।
 
बस्ती शिलान्यासपछि धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताउँदै पूर्व–पश्चिम राजमार्ग सफा गर्ने क्रममा पहिलोपल्ट मुसहर बस्तीको दयनीय अवस्था देखेपछि बस्ती बनाउने इच्छा पलाएको बताए। ‘यो मानवता र सद्भावको कार्य हो,’ धुर्मुसको आग्रह छ, ‘बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।
सुन्तलीले मुसहर बस्तीमा खुसीयाली छर्न पाउँदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन्।
 
यसैगरी, अभियन्ता यादवले मुसहर बस्ती तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम हुन सक्ने बताउँदै धुर्मुससुन्तलीलाई धन्यवाद दिए।
४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ। नमुना बस्तीमा ५० वटा घर, एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए।  
 
यसअघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयाँबाट निर्माण प्रारम्भ गरिएको उनको भनाइ छ। बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरिसकेका छन् भने पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले रु १० लाख, दिने घोषणा गरेका छन्। 
 
शिलान्यास कार्यक्रममै कलाकार किरण केसीले रु १० हजार र पत्रकार राजकरण महतोले रु दशहजार पाँच हस्तान्तरण गरेका थिए।
 
बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठीलगायत मुसहर बस्ती पुगेका थिए। शिलान्यास कार्यक्रममा  मुसहर समदायले कलाकारहरूलाई फूल मालाले भव्य स्वागत गरेका थिए । 

प्रतिकृया दिनुहोस