अब हामी मुसहर भयौं : धुर्मुस-सुन्तली

  • Get News Alerts

भुइँचालो पीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा लगालग दुइवटा बस्ती बनाएपछि पिछडिएका जाति मुसहरका लागि घर बनाउन मधेस झरेका हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले आइतबार हास्य प्रस्तुति दिए। 
 
बर्दीवास नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरुले हँसाएनन् मात्र, अब आफूहरुको जात फेरिएको समेत बताए।
 
उनीहरुको भनाइ थियो, ‘अब हामी मुसहर भयौं। हामीलाई बोलाउँदा नामको पछाडि मुसहर थर जोडिदिनुहोला।’
 
हिमाल, पहाड र तराईबीचको सद्भाव बढाउन प्रेम र समर्पणको बाटो अवलम्वन गरिनु पर्ने धुर्मुस–सुन्तलीको भनाइ थियो। आफूहरुले ठूलो परोपकारी काम गरेको नभइ मधेसका मुसहरसँग खेल्न, रमाउन र उनीहरुका दुःखमा साथ उभिन बर्दिवास आएको उनीहरुले बताएका थिए।
 
‘मुसहरसँग काम गर्न मुसहरजस्तै बने सजिलो हुन्छ,’ धुर्मुसले भने, ‘त्यसैले हामी मुसहर बन्दैछौं। 
 
कार्यक्रममा सुन्तलीले आफूलाई ‘मुसहरर्नी’ भनेर बोलाए झनै आनन्द मिल्ने बताइन्।
 
बर्दिवास–२ का ५० घरपरिवार मुसहरका लागि सडक, बिजुली र खानेपानी सुविधासहितको बस्ती निर्माणकार्य आजदेखि सुरु भएको छ। बस्ती निर्माणको शिलान्यास  सोमबार हास्यकलाकार मह जोडीले गर्नेछन्।

प्रतिकृया दिनुहोस