न्यानो टोपी किन्न ढाका टोपी थाप्दै ‘हनुमानजी’

  • Get News Alerts

ढाका टोपी दिवसको अवसरमा ‘जात्रा’ निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले ‘न्यानो टोपी किन्न ढाका टोपी थाप्ने’ गत वर्षदेखिको अभियानलाई निरन्तरता दिएका छन्। 
 
यस वर्ष भने उनले ढाका टोपी दिवसको अघिल्लो दिनबाटै अभियान थालेका छन्। जात्राले ५१ औं दिन मनाएको अवसरमा शनिबार साँझ राजधानीमा आयोजित खुसीयाली कार्यक्रमबाट उनले टोपी थाप्न सुरु गरेका हुन्। जात्रा निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन कार्की र वर्षा राउतले सय÷सय रुपैयाँका नोट खसालेर अभियानको ‘ओपनिङ’ गरे।
 
गत वर्ष उनले ‘हनुमानजी’ को भूमिका निभाएको फिल्म ‘पशुपतिप्रसाद’ अभिनेत्री वर्षा राउत अभियानमा सघाउनेमा पहिलो भएकी थिइन्।
 
गत वर्ष उनले यसरी पचास हजार रुपैयाँ संकलन गरेर चितवनका चेपाङ समुदायलाई कान छोप्ने टोपी किनेर वितरण गरेका थिए। यस वर्ष पनि उनले चेपाङ समुदायका बाहुल्य रहेको एक विद्यालयका विद्यार्थीलाई न्यानो टोपी किन्ने जनाएका छन्।
 
‘मौसमको प्रतिकुलता र व्यस्तताका कारण आज धेरै ठाउँ जान पाइनँ,’ उनले भने, ‘म बस्ने ठाउँ बालाजु वरपर संकलन गरेँ। हामी यता ढाका टोपी लगाएर नेपाली विरता र गौरवका कुरा गरिरहेका हुन्छौं। जबकि, नेपालभित्रै आङ ढाक्ने लुगा नपाएर मान्छे मरिरहेका हुन्छन्।  राष्ट्रियताभन्दा मानवता ठूलो कुरा हो। ढाका टोपी थाप्ने एउटा संकेत मात्र हो। कान छोप्ने टोपी मात्र दिए पनि उनीहरु खुसी हुन्छन्।’
 
आउँदा वर्षहरुमा पनि यो अभियानलाई निरन्तरता दिने जनाउँदै उनले यस वर्ष धेरै शुभचिन्तक र साथीहरुबाट पोहोरको भन्दा बढी सहयोगको आश्वासन पाएको बताए।

प्रतिकृया दिनुहोस