फिल्मको नामैमा वर्ष दिनदेखि लफडा

  • Get News Alerts

एउटा फिल्मको नामलाई लिएर यति ठूलो विवाद सायदै कहिले भएको थियो, नेपाली चलचित्र क्षेत्रमा।

सन्दर्भ हो, चलचित्र ‘गाँजाबाजा’ को।

यसमा उल्लिखित ‘गाँजा’ शब्दमा चलचित्र विकास बोर्डले आपत्ति जनाएपछि यतिबेला निर्माण पक्ष ‘फिल्मको नाम गाँजाबाजा नै राख्न पाऊँ’ भन्दै कानुनी लडाइँ लडिरहेको छ।

बोर्डले फिल्मको नाम पास नगरेपछि ‘टुका इन्टरटेनमेन्ट’ का तर्फबाट निर्देशक तथा निर्माता गणेशदेव पाण्डेले आठ महिनाअघि सर्वोच्च अदालतमा रिट हालेका थिए। सर्वोच्चले फागुन २ लाई तेस्रो पेसी तोकेको छ। 

तेस्रो पेसीसम्म पुग्दा यो फिल्म झमेलामा फसेको ठ्याक्कै एक वर्ष पुग्नेछ।

‘मञ्जरी’, ‘मालतीको भट्टी’ जस्ता फिल्मका निर्देशक पाण्डेले गत वर्ष यसैबेला आफैंले फिल्म बनाउने निधो गरेका थिए। फिल्मका कलाकारदेखि सम्पूर्ण चाँजो मिलाएपछि उनले आफ्ना एक सदस्यलाई फागुन अन्तिम साता निर्माण अनुमति लिन पठाए। 

फिल्म बनाएबापत् सरकारलाई तिनुपर्ने राजस्व र बीमाबापत् तिर्नुपर्ने रकम गरी करिब १३ हजार रुपैयाँको बिल बुझाए। सम्बन्धित फाँटका कर्मचारीले राजस्वको बिलसहित फाइल दर्ता गर्दै इजाजत लिन केही समयपछि आउन भने।

केही समयपछि फाइल दर्ता गर्न पुगेका तिनै सदस्य इजाजतपत्र लिन पुगे। कर्मचारीले भने ‘माथिको आदेश’ भन्दै इजाजत दिन नमिल्ने बताए।

‘किन?’ उनले सोधे।

‘माथि नै सोध्नुस्,’ ती कर्मचारीले जवाफ दिए।

माथि अर्थात् चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, जो फिल्म निर्माताहरूको हकहितका लागि भन्दै खोलिएको चलचित्र निर्माता संघका अध्यक्ष हुँदाहुँदै विकास बोर्डको अध्यक्ष बनेका थिए। 

बोर्डको अध्यक्षमा फिल्मसम्बद्ध व्यक्ति भएनन् भन्ने फिल्मकर्मीको गुनासोबीच अध्यक्ष बन्न पुगेका उनै राईसँग गाँजाबाजाका निर्देशक पाण्डे आफैं गएर इजाजतपत्र नदिनुको कारण सोधे। राईले भनेछन्, ‘२०३३ सालको लागुऔषध नियन्त्रण ऐनले गाँजालाई लागुऔषध मानेकाले गाँजा बिक्रीवितरण, ओसारपसार गर्न पाइँदैन। तपाईंको फिल्मको नामले लागुऔषधको प्रचार गर्छ। अर्कै राख्नुस्।’

पाण्डेले प्रश्न गरे, ‘नाम राख्दैमा लागुऔषधको प्रचार कसरी हुन्छ? के मैले गाँजा नाम राख्दैमा समाजमा विकृति फैलिन्छ र? मैले लामो समयदेखि छानेको र मेरो कथालाई सुहाउँदो नामै यही हो। मलाई यही नाममा अनुमति दिनुस्।’

दुवै आफ्नो अडानबाट डेग चलेनन्। 

राईले भने, ‘यो नाममा इजाजत दिन त मिल्दै मिल्दैन। तपाईं जे गर्न सक्नुहुन्छ गर्नुस्।’

उनको यस्तो ढिपीले पाण्डेलाई रिस पनि उठ्यो, चित्त पनि दुख्यो।

‘म एउटा कलाकर्मी,’ पाण्डेले सेतोपाटीसँग भने, ‘मैले जानेको काम त कथा लेख्ने, त्यसलाई फिल्ममार्फत् सुनाउने न हो। मैले अरू के नै गर्न सक्छु र? यो फिल्म मैले करोड खर्च गरेर बनाउन लागेको पनि थिइनँ। अलिकति आफ्नो र बाँकी ऋण लिएर सामान्य कथामा चिटिक्कको फिल्म बनाउँछु भन्ने सोचेको थिएँ। तर, अब गर्ने के? फिल्म नबनाएर ऋण फिर्ता गरौं, धेरै खर्च भइसकेको छ। बनाउँ, कि त कथा सुहाउँदो र आफूलाई निकै मन परेको नाम फेरेर सम्झौता गर्नुप¥यो, कि त भइसकेको खर्च माया मारेर चुप लागेर बस्न प¥यो।’

उनी चुप लागेर बस्न चाहेनन्। 

सोचे, फिल्म अभिव्यक्ति स्वतन्त्रताको माध्यम हो, यसमा सेन्सर हुनुहुँदैन। समाजमा खलल पु¥याउने विषय छ भने त्यसमा राज्यले कारबाही गर्नुपर्छ। उनले एक महिना यस्तै विषय सोचेर वैशाखमा सर्वोच्च अदालत गुहारे।

अदालतमा पनि न्याय पाउन सजिलो कहाँ रहेछ र! 

पटक–पटक पेसी सरिरह्यो। तेस्रोपटक तोकिएको मिति पुग्दा पूरा एक वर्ष बित्नेछ। डिजिटल प्रविधिको विकास र ‘क्यु सिस्टम’ तोडिएपछि सामान्यतयाः एक वर्षभित्र एउटा नेपाली फिल्मको सुटिङ, रिलिज भईवरी नाफाघाटाको हिसाब–किताब पनि भइसक्छ।

फिल्मको नाफा–घाटाको हिसाब त उनले कथा लेखेर फिल्म बनाउने पक्का गरेपछि सपनामा मात्र देखेका थिए। अहिले उनी विपनामा फिल्म बनाउन लिएको ऋणको ब्याज हिसाब गरिरहेका छन्।

‘पैसाको क्षतिपूर्तिको कुरा एकातिर भयो,’ उनी अचेल एउटै प्रश्न बोकेर हिँडिरहेका छन्, ‘मलाई विश्वास छ, अदालतले मेरो अभिव्यक्ति स्वतन्त्रताको पक्षमा फैसला गर्छ। तर, फैसला हुँदाको समयसम्म मैले भोगेको मानसिक पीडाको क्षतिपूर्ति कसले तिर्छ?’

अदालतले आफ्नो मुद्दालाई प्राथमिकतामा पारेर चाँडो फैसला गरिदेओस् भन्ने अनुरोध छ उनको। ‘चित्तबुझ्दो कारण देखाए म अदालतको जस्तो फैसला पनि स्विकार्न सक्छु,’ उनले भने।

निर्माण इजाजत नपाए पनि उनले ‘ह्याप्पी अन ट्रिपिङ मुड’ बोलको गीतको भिडियो युट्युबमार्फत् सार्वजनिक गरिसकेका छन्। गीतमा केही पात्रले गाँजा खाइरहेको दृश्य देख्न सकिन्छ। फिल्ममा भने दुई मुख्य पात्रले गाँजा खोजी गर्दा ‘बाजा बज्ने’ भएकाले फिल्मको नाम गाँजाबाजा राखिएको उनको भनाइ छ।

उनी विरोधस्वरुप गीत सार्वजनिक गरेको बताउँछन्। ‘त्यति मात्र होइन, अलिकति खुसी पनि हुनु थियो,’ उनी भन्छन्, ‘गीत ज्याज फर्ममा छ। ज्याजले मलाई अलि खुसी बनाउँछ। यति लामो समयसम्म खराब सिस्टमका कारण पीडा भोगेकाले देशप्रति यति वितृष्णा बढेछ, आशालाग्दो कुरा भेट्नै छाडिसकेको थिएँ। परिवारमा पनि बारम्बार यस्तै कुरा गर्दो रहेछु। सानी छोरीले समेत एकदिन ‘आइ हेट सिस्टम’ भनिन्। एउटा बालकको दिमागमा यस्तो कुरा पर्नु भनेको साँच्चै खतरनाक कुरा हो। यस्ता कुरा भुल्न अचेल आफ्नै फिल्मको गीत र अरू गीत सुन्दै खुसी हुने प्रयास गर्दैछु।’

गीत मात्र होइन, उनले पूरै फिल्मकै सुटिङ सिध्याएर ट्रेलर सार्वजनिक गर्ने तर्खरमा छन्।

 

 

इजाजतबिना नै सुटिङ गर्नु नियमविपरित भएन र?

‘एउटा कलाकारले फिल्म नबनाए के काम गरेर बस्न सक्छ त?’ उनी भन्छन्, ‘मेरो कामै फिल्म बनाउने हो। म बाँच्ने फिल्म बनाएरै हो। संविधानले नै अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ भने म कसरी नियमविपरित भएँ?’

यसबीच उनले भेट्न पर्ने मान्छे भेटिसके। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीलाई समेत भेटेर समस्या सुनाइसकेका छन्। कार्कीले नाममा गाँजा हुँदैमा कानुनविपरित नहुने बताउँदै आफूले समस्या सल्टाउन प्रयास गर्ने आश्वासन दिएको पाण्डेको भनाइ छ।

उनलाई कतिले त बारम्बार ‘फिल्मको नाम परिवर्तन गर्, किन झमेला बोक्छस्?’ पनि भनिरहेका छन्। यतिसम्म कि, उनकी श्रीमतीले समेत भनिसकेकी छन्, ‘किन टाउको दुखाइरहन्छौ बेकारमा?’

जसले जे भने पनि उनी नाम फेर्न मान्नेवाला छैनन्। ‘मलाई भन्न मन लागेको कुरा भन्न पाउनैपर्छ, मैले यही नाममा फिल्म बनाउन पाउनुपर्छ,’ उनी भन्छन्, ‘मैले कोही अमुक व्यक्तिविरुद्ध लडिरहेको होइन। मैले खराब सिस्टमविरुद्ध बोलेको हुँ। मैले जानेको सिर्जना हो। सिर्जनामाथि अंकुश लगाउन खोज्दा बोल्नु के अपराध हो र? एउटा फिल्मकर्मीको सामाजिक दायित्व हुन्छ। समाजमा रहेका विषयलाई देखाउनु मेरो दायित्व हो। मैले गाँजाबाजामा त्यही देखाउन खोजेको हुँ। मैले जस्तोसुकै फिल्म बनाउँ, हेर्ने नहेर्ने निर्णय दर्शकले गर्छन्।’

पाण्डे बोर्ड अध्यक्ष राईसँग व्यक्तिगत रूपमा आफ्नो कुनै गुनासो नरहेको बताउँदै अगाडि भन्छन्, ‘बोर्डको काम नियन्त्रण होइन, फिल्म विकासका लागि सहजकर्ता बन्ने हो। कसैको सिर्जनालाई रोक्ने अधिकार बोर्डसँग छैन।’

प्रतिकृया दिनुहोस