भोजराजको सुनाकलीलाई २ विधामा अवार्ड दिँदै किम्फ सकियो

  • Get News Alerts

पत्रकार भोजराज भाटले निर्देशन गरेको 'सुनाकल'लाई दुई विधामा अवार्ड हस्तान्तरण गर्दै १२औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)सकिएको छ।
 
हिमाल एसोसिएसनले राजधानीको कुमारी हलमा पाँच दिन आयोजना गरेको महोत्सवमा पर्वतीय विकासका विषयमा बनाइएका फिल्ममध्ये उत्कृष्ट हुँदै पत्रकार भाटको डकुमेन्ट्री 'सुनाकली'ले इसिमोड अवार्डसहित एक हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गरेको हो। यस्तै 'सुनाकली'ले नै जुरी अवार्डसमेत प्राप्त गर्‍यो।
 
डोल्पाको भौतिक संरचना र पर्यटन विकाससम्बन्धी डकुमेन्ट्री 'डेज अफ ट्याप'ले १५ सय डलरको पुरस्कार उत्कृष्ट अवार्ड पायो। 'टिज्स ड्याट वाक' र 'द केभ कनेक्सन' ले क्रमशः दोस्रो र तेस्रो अवार्ड प्राप्त गरे। दोस्रो फिल्मले एक हजार डलर र तेस्रोले पाँच सय डलर पुरस्कार प्राप्त गरेका छन्।
 
यस्तै नेपाली फिल्महरूको प्रतिस्पर्धातर्फ नेपाल प्यानोरमामा सञ्चिन घिमिरेको फिल्म 'पुन्टेको पांग्रा'ले फिक्सन विधामा उत्कृष्ट पुरस्कार हात पार्‍यो। त्यस्तै डकुमेन्ट्री 'मानिस हराएको सूचना'ले ननफिक्सनतर्फ उत्कृष्ट अवार्ड जित्दै ३०–३० हजार रुपैयाँ पुरस्कारका हकदार बने।
 
दर्शकहरूको मतले विजयी हुने अडियन्स च्वाइस अवार्ड भने 'बुट्टे जामा'ले पायो। किम्फमा ७५ वटा फिल्महरु प्रदर्शन गरिएका थिए।
 
कार्यक्रममा बेलायती फोटोग्राफर हेनरी आइडन, अमेरिकी फिल्म निर्माता डेभिड ब्रेसिएर्स र इटालेली फिल्म निर्माता पाओला नेस्सी निर्णायक थिए। 
 

 

प्रतिकृया दिनुहोस