छुट्टाछुट्टै ‘सोलो’ नाटक लिएर अमेरिका जाँदै सुनील-निशा दम्पती

  • Get News Alerts

रंगकर्मी सुनील पोखरेल र निशा शर्मा दम्पती छुट्टाछुट्टै ‘सोलो’ अभिनयकाे नाटक लिएर अमेरिका जाने भएका छन्। केही समयअघि ‘सिजर अट्याक’ भएर अस्पताल भर्ना भएका पोखरेल श्रीमती र छोरासहित डेढ सातापछि अमेरिका उँड्दैछन्। दशैं र तिहार उतै मनाउनेगरी जान लागेकाे पाेखरेल परिवारले करिब डेढ महिना अमेरिकाका बिभिन्न सहरमा नाटक मन्चन, रंगमन्चसम्बन्धि क्रियाकलापमा भाग लिनुका साथै पारिवारिक भेटघाटमा समय बिताउनेछ।
 
निशा शर्माको सोलो अभिनय रहने ‘याज्ञसेनी’लाई सुनील आफैंले निर्देशन गर्नेछन्। जसलाई डा. प्रतीभा रायद्वारा उडिया भाषामा लिखित उपन्यासलाई सुमन पोखरेलले नाटकिकरण गरेका हुन्। महाभारतकी मुख्य पात्र द्रौपदीको कोणबाट लेखिएको नाटक करिब एक घन्टा लामो हुनेछ। निशाको यो दोस्रो एकल अभिनय हो।
 
निशा शर्माको सोलोसँगै सुनीलको संक्षिप्त जीवनयात्रामाथिको प्रस्तुति पनि मञ्चन हुनेछ। यसै नाटकबाट आफ्नै बाबुलाई निर्देशन गरेर छोरा निशांस लामाे समयपछि रंगमन्चमा 'कमब्याक' गर्दैछन्। निशांसले गुरूकुलमा मञ्चन भएको करिब आधा दर्जन नाटकमा बालकलाकारको रुपमा अभिनय गरेका थिए। निशांसले अाफ्ना अामाबाबु अभिनित नाटकमा प्रकाश र संगीत परिचालनसमेत गर्नेछन्।
 
नाटक अक्टुबर २ मा टेक्सस र त्यसपछि न्युयोर्क र बोस्टनमा मञ्चनकाे तय भइसकेकाे छ भने दर्शककाे माग अाएकाे खण्डमा अन्य सहरमा पनि मञ्चन हुने सम्भावना रहेको  पोखरेलले जानकारी दिए। 
 
‘जर्नी’ शीर्षकको सुनीलको प्रस्तुति भने चलिरहेको नाटकका शैलीभन्दा बेग्लै हुनेछ। ‘मैले यसअघि एउटा नाटकमा सोलो अभिनय गरेँ,’ सुनीलले सेतोपाटीसँग भने, अहिले मैले देखाउन खाेजेकाे प्रस्तुति चलिरहेको नाटकभन्दा बेग्लै शैलीकाे हो। यसमा मैले आफ्नै जीवनको यात्रालाई देखाउनेछु। यसको रिहर्सल पनि हुँदैन। करिब बीस मिनेटभित्र म कविता पनि पढ्न सक्छु, दर्शकलाई स्टेजसम्म ल्याएर अभिनय गराउन पनि सक्छु। ठाउँ र दर्शकको मुडअनुसार भर पर्छ। यसमा ठोस कथा पनि तयार भएको छैन। अहिलेसम्म अन्तिमको जम्मा दुइटा संवाद मात्र तय भएको छ।’
 
यो प्रस्तुतिका लागि लेखक कुमार नगरकोटीको सहयोग लिने सुनीलले बताए। ‘कुमार मलाई मन पर्ने लेखक हुन्,’ सुनीलले थपे, ‘र, मेरो मिल्ने साथी पनि। यो प्रस्तुतिमा मेरो नितान्त व्यक्तिगत कुराहरु त खुलाउँदिन। अहिलेसम्म जति देखाउने सोचेको छु, त्यसमा कुमारको आइडिया प्रयाेग हुनेछ।'
 
 

प्रतिकृया दिनुहोस