अर्पण र प्रियंकाको ‘अनागत’

  • Get News Alerts

फिल्म ‘अनागत’को औपचारिक घोषणा भएको छ। राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै  फिल्मबारे जानकारी गराइएको हो।
 
‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका सिक्किमे युवा साम्तेन भुटियाले फिल्मलाई निर्देशन गर्नेछन्। भुटियाको दोस्रो फिल्म ‘तान्द्रो’ हाल बहुप्रतीक्षित छ। 
सस्पेन्स थ्रिलर श्रेणीमा बन्ने फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रवीण खतिवडा र राेशिन सुवेदीको मुख्य भूमिका हुनेछ।
 
कार्यक्रममा निर्देशक भुटियाले श्रीमान्–श्रीमतीबीच घर व्यवहारमा उब्जिने मसिना समस्यालाई फिल्ममा उतारिने जानकारी दिए। उनले प्रियंका र अर्पण थापा हालका ‘भर्सटाइल’ कलाकार भएकाले यी दुईको ‘भर्सटाइलिटी’लाई प्रयोग गर्न खोजिएको बताए। फिल्म प्रयोेगात्मक हुने उनको भनाई छ।
 
अभिनेता अर्पण थापाले हालसम्म आफूले अभिनयले नै धानेको फिल्म खेल्न पाइरहेको बताउँदै अनागतमा पनि अभिनयबाट चरित्रलाई न्याय दिन सक्दो मेहनत गर्ने भनाई राखे। 
 
अभिनेत्री प्रियंका कार्कीले फिल्ममा नौलो चरित्र रहने बताइन्। 
 
माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक भुटियाले नै सम्पादन गर्नेछन्। समीर उपाध्याय, चन्द्र कुमार झा, निलु डोमा शेर्पा निर्देशक भुटिया निर्माता रहने फिल्मलाई सिशन बानियाँले खिच्नेछन्। चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथामा ढाल्नेछन्।
 

प्रतिकृया दिनुहोस