‘रोमान्टिक थ्रिलर’ कथामा ‘चपली हाइट २’

  • Get News Alerts

तीन वर्षअघि रिलिज भएको हिट फिल्म ‘चपली हाइट’ को सिक्वेल घोषणा गरिएको छ । सोमबार राजधानीमा एक समारोहबीच ‘चपली हाइट २’ नाममा बन्ने फिल्मको पोष्टरसमेत सार्वजनिक गरिएको छ ।
 
निर्माण पक्षकाअनुसार फिल्म चपली हाइटको निरन्तरता भने होइन । फिल्मको अघिल्लो सिक्वलका कुनै  पात्र हुने छैनन्। उक्त फिल्ममा एक युवती र दुई युवाको कथा थियो भने सिक्वेलको पोष्टरअनुसार दुई युवती र एक युवा मुख्य चरित्रमा रहनेछन् ।
 
फिल्ममा आयुष्मान डिएस श्रेष्ठ, परमिता आरएल राणा र मरिष्का पोखरेलको मुख्य भूमिका रहनेछ । आयुष्मान र परमिताले यसैबाट फिल्मक्षेत्रमा डेब्यु गर्न लागेका हुन् । आयुष्मान संगीत र मोडलिङमा सक्रिय छन् भने परमिता र मरिष्का पनि मोडलिङमै सक्रिय छन् । मरिष्काले भने ‘के म तिम्रो होइन र’बाट डेब्यु गरिसकेकी छिन् ।
फिल्मलाई पहिलेकै निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् भने निर्माता पनि अर्जुन कुमार नै हुनेछन् ।
 
कार्यक्रममा निर्देशक खनालले चपली हाइटलाई अश्लिलताले परिभाषित नगर्न अनुरोध गर्दै सिक्वेल पनि त्यस्तोखाले नहुने बताए । उनले भने,‘चपली हाइट ‘सेक्सुअल थ्रिलर’ हो भने सिक्वेल ‘रोमान्टिक थ्रिलर’ जनरामा बन्नेछ । चपली हाइटलाई लिएर अश्लिलताको जुन कुरा आयो अब त्यसलाई सिक्वेलबाट मेटाउने चुनौतिसमेत ममा थपिएको छ ।’ 
 
त्यसो त उनले चपली हाइटले नेपाली फिल्म क्षेत्रमा क्रान्ति ल्याएको अाशय व्यक्त गर्दै क्रान्तिमा सानातिना अप्ठ्यारा गौण हुने तर्क गरे भने सिक्वेलबाट दर्शकले चपली हाइटमाथि लागेको अश्लिलताको आरोप बिर्संदै चपली हाइट सिरिज प्रतिक्षा गर्ने दाबी गरे ।
 
उनले चपली हाइट सिक्वेलको कथामा यही समाजको तर परिवेश, सामाजिक चालचलन र रहनसहन नै छुट्टै समाज चित्रित हुने बताए । 
 
त्यस्तै अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीले चपली हाइट २ अाफूले खोजेजस्तै फिल्म भएको र कला क्षमता देखाउने पहिलेदेखिको चाहना पुरा गर्ने बताए भने अभिनेत्री मरिष्का पोखरेलले कथाले मागेअनुसारको मेहनत गर्ने बताइन् । साथै अर्की अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले बच्चैदेखि अभिनयको प्यासन पुरा गर्न चपली हाइट २ मा सक्दो मेहनत गर्ने बताइन् ।
 
फिल्ममा निर्देशक खनालको कथा हुनेछ भने पटकथा र संवाद सान बस्न्यातले लेखेका छन् । निरज कँडेलले फिल्म खिच्नेछन् ।
तस्बिर-उत्सव रसाईंली
 

प्रतिकृया दिनुहोस