अभया किन चिच्याएर गीत गाउँछिन्?

  • Get News Alerts

‘नैनी ताल, नैनी ताल
घुमी आयो रेल
घुमी आयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलमा तेल नारन
नैनी ताल
 
खुबै लड्यो लाहुरे दाइ
जर्मनसित घुँडा धसेर
 
लाहुरेको रेलिमाई फेसनै राम्रो
रातो रुमाल रेलिमाई खुकुरी भिरेको’
 
अभया सुब्बाका रक गीत सुनेकालाई आठ महिनाअघि रिलिज यो गीत साह्रै नरम लाग्छ। उनी जति चिच्याउँछिन्, उफ्रिन्छिन्, यो गीतमा त्यस्तो भेटिँदैन। 
 
रक गीतमा उनको अभिनय हेर्दा लाग्छ, उनी भएभरका आक्रोश एकैचोटि पोखिरहेकी छन्। यो भिडियोमा भने अभया बेग्लै आनन्दमा देखिन्छिन्। गीत गाउने र अभिनय गर्नेले भित्रैदेखि महसुस गर्नुपर्छ भनिन्छ। अभया यसमा भित्रैदेखि खुलेकी छन्।
 
हुन त उनी सबै गीतमा यस्तै खुल्छिन्, गफगाफमा खुलेजस्तै।
 
उनी बोलक्कड छिन्। मन लागेको कुरा हात फैलाई–फैलाई भन्दिहाल्छिन्। हाँस्न मन लागे खित्का छाडेर हाँस्न छेकबार लगाउँदिनन्। बोल्दाको हाउभाउमा हातले ठूलो क्षेत्र ओगट्छ। आँखा खुम्चिन र यताउता दौडिन रोकिँदैनन्। 
 
नारी दिवसका अवसरमा हरेक वर्षंझैं यस वर्ष पनि आयोजित ‘वुमन इन कन्सर्ट’ को ग्रान्ड रिहर्सलका दिन हामी ठमेलको एक रेस्टुरेन्टमा भेटिएका थियौं। मार्च महिना उनी सबैभन्दा बढी व्यस्त हुन्छिन्। त्यही भएर होला, उनी आफैंले दिएको समयभन्दा झन्डै डेढ घन्टा ढिलो आइपुगिन्।
 
भनिहालियो, अभया बोलक्कड छिन्। रिझाउन पनि खुबै सिपालु! आक्रोश पोख्न परे आफूलाई रोक्दिनन्। प्रशंसा गर्नु परे कन्जुस्याइँ गर्दिनन्। चार वर्षदेखि गाउनेदेखि बजाउनेसम्म स्टेजमा महिलालाई उतार्दै आएकी अभयाले यसपालि महिला नेतृत्व भएको पाँचवटा ब्यान्डका १५ जना महिला संगीतकर्मीलाई एउटै स्टेजमा ल्याएकी थिइन्।
आजभन्दा डेढ दशकअघि नेपालको सन्दर्भमा कन्सर्ट स्टेजमा उफ्रिने, चिच्याउने, ज्याकेट फुकालेर हावातिर फाल्दै गाउनेजस्ता क्रियाकलाप पुरुषका खातामा मात्र सीमित थिए। अभया तिनकै बराबरीमा स्टेजमा ओर्लिइन्। पुरुष वाद्यवादकहरूलाई पछाडि राखेर ‘फ्रन्ट’ मा आइन्।
 
त्यसयता उनको अभियान निरन्तर छ। मार्च त अझ विशेष महिना हो। त्यसैले महिलासँग सम्बन्धित गफ नै बढ्ता भए। महिलाबारे कुरा गर्दा अभया आक्रोशित नहुने कुरै छैन। उत्तिकै आलोचनात्मक पनि सुनिन्छिन् उनी।
 
अभया यत्तिको बोल्ड हुनुको पृष्ठभूमिमा छ, दार्जीलिङ। र छ यो गीत, ‘नैनी ताल नैनी ताल...’
 
यो गीत सम्झिनेबित्तिकै अभया दार्जीलिङ सम्झन्छिन्। सानो छँदा उनले बाबुबाट सुनेको गीत थियो यो। हालसालै उनले बाबुलाई सम्झिँदै यो गीत तयार पारेकी हुन्। यो उनको करियरको पछिल्लो गीत हो। जब उनी आफ्नो करिअरमा ‘बोल्ड’ भएर निस्किइन्, बाबुबाट गीत सुन्दाको समयमा उनी अहिलेकी अभयाभन्दा बिल्कुलै भिन्नै थिइन्।
 
‘दुःखले कलाकार बन्छ भन्छन्,’ उनले आफ्नो कलाकारिताको पृष्ठभूमि सुनाउँदै भनिन्, ‘मलाई पनि दुःखले कलाकार बनायो। आँटिलो बनायो। त्यसैले अहिले म स–साना कुराले विचलित भइहाल्दिन।’
 
‘नैनी ताल’ गीतको पृष्ठभूमिमा पनि उनको दुःख जोडिन्छ।
 
तीन दिदीबहिनीमध्ये कान्छी अभया सानै छँदा आमा बितिन्। बाबुले बढाए÷पढाए। छोरीहरूलाई आफ्नो रुचिको काम गर्न छुट थियो। संगीतका सोखिन बाबु चाहन्थे, छोरीहरू कलाकार नै बनुन्।
 
‘खुबै लड्यो लाहुरे दाइ, जर्मनसित घुँडा धसेर’ जस्तो गीत गाउने उनका बाबु भन्ने गर्थे, ‘नेपालीहरू वीर हुन्, लडाइँका लागि नेपालीलाई कसैले जित्न सक्दैन भन्ने कुरा झुठ हो। हामीले पनि यो पढ्यौं। तिमीहरूलाई पनि यो कुरा पक्का पढाइन्छ। तर नपत्याउनु। नेपालीहरू शारीरिक काम होइन, बुद्धिको काम गर्न खप्पिस हुनुपर्छ। तिमीहरू बुद्धिको काम गर्नू।’
 
बाबुले भनेको त्यो बुद्धिको काम थियो, कलाकारिता। 
 
बाबुको अनुशासन कडा थियो। कलाकारिताका लागि पढाइको पृष्ठभूमि बलियो हुनुपर्छ भन्थे। त्यसैले तीन दिदीबहिनीलाई हार्मोनियम छुन दिनुअघि एक–एक पेज नेपाली र अंग्रेजी लेख्नुपर्ने नियम बनाएका थिए।
 
दिदीबहिनीहरू यो नियम पूरा गर्थे। अनि, बाबुबाट संगीत सिक्थे।
अभयाको मनलाई भने कुन्नी के–के विस्मातले गाँजेका थिए, वर्षौंसम्म उनको मनले फुकेर संगीत सिक्न सकेन। स्कुलमा सबैले हेप्थे। युवा छँदै श्रीमती गुमाएका उनका बाबुलाई सानै दुःख पर्दा पनि तीन दिदीबहिनी विचलित हुन्थे। उनीहरू बाबुमा खुसी भर्ने उपायको खोजीमा थिए। त्यो खुसी कहाँ मिल्थ्यो, थाहा थिएन।
 
कक्षा नौ पुग्दा अभयाले एउटा नाटकमा मुख्य भूमिका पाइन्।
 
अचम्म त तब भयो, जब कक्षा नौतिर पुगेपछि अभयाको वाक्य फुट्न थाल्यो। नाटकमा रोल पाएपछि उनका बाबु पनि निकै खुसी भए। वर्षौंदेखि बाबुले सिकाएको संगीत स्कुलमा प्रयोग गर्न थालिन्। उनको चर्चा सुरु भयो। चर्चा बाबुको कानमा आएर ठोक्किन्थ्यो। उनको ढाडमा बाबुको हातले धाप मार्न थाले।
 
अभयाले बल्ल थाहा पाइन्, बाबुलाई खुसी बनाउने काइदा यसो पो रहेछ!
 
वर्षौंदेखि अभयाको मनमा गढेको पीडामा आत्मविश्वासले अड्डा जमायो।
 
अन्ततः उनी बाबुलाई खुसी हुने काममै लागिन्।
 
बाबुले कुनै दिन भनेका थिए, ‘तिम्रो स्वर पश्चिमा शैलीका संगीतसँग बढी सुहाउँछ।’
 
अंग्रेजी माध्यमको स्कुलमा पढेकाले अंग्रेजी संगीतले नै उनलाई प्रभाव जमाएको थियो। दिल्लीमा रहँदा दुई÷तीन ब्यान्डमा बाबुले भनेजस्तै संगीतमा सक्रिय भइन्। नेपाल आएपछि पनि ‘रकस्टार पारा’ सुरु भयो। 
 
नेपालका लागि उनको यो पारा नौलो थियो। गाउने शैली मात्र नौलो होइन, प्रस्तुतिकरणका हिसाबले पनि उनी त्यस्तो गायिका बनिन्, त्यसबेलासम्म त्यत्तिको ‘ओपन’ हुने आँट कसैले गरेकै थिएन।
 
‘म नेपाली संस्कृतिमै खोट देख्छु,’ उनी आलोचनात्मक सुनिइन्, ‘नेपाली संस्कृति भन्नेबित्तिकै लोक मात्र होइन, विचार पनि हो।समाजको विचार महिलालाई दमन गर्ने थियो। महिलालाई बोल्ने छुट छैन। खुलेर हाँस्ने छुट छैन। नेपाली संस्कृतिले महिलालाई एक्लै नहिँड भन्छ। रात नपर्दै घर पुग भन्छ। म त्यो संस्कृति संगीतको माध्यमबाट तोडेर नयाँ संस्कृति बनाउन चाहन्थेँ। समाज परिवर्तन गर्नुछ भने संस्कृति नै फेरबदल गर्नुछ भन्ने मेरो अभियान हो। त्यसबेलादेखि म एक्टिभिस्ट भएँ।’
उनले त्यो अभियान यसरी छेडिन्, जहाँ गायकीको मात्र भूमिका थिएन। सुन्दा सुरिलो र महिलाको जस्तो स्वरलाई मिठो भनिन्छ, उनको स्वर त्यस्तो खालको मिठोभित्र पनि पर्थेन। उनी पुरुष संगीतकर्मीलाई पछि राख्दै आफू अगाडि आएर गाउन थालिन्। स्टेज चढेर चिच्याएर गाइन्। उफ्रिइन्। ज्याकेट फुकालेर हावामा फाल्दै चिच्याउनुलाई उनले आफ्नो विशेषताभित्र पारिन्।
 
यी सबै उनका लागि सजिलो भने थिएन।
 
एकचोटि भृकुटीमण्डपमा गाइरहेकी थिइन्। ‘रकस्टार पारा’ छोड्ने कुरै थिएन। ज्याकेट फुकालेर हावातिर के फालेकी थिइन्, दर्शकदीर्घातिरबाट पुरुषको चर्को स्वर निस्कियो, ‘ओई! अब लुगा पनि खोल्।’
 
अभयाले तुरुन्तै म्युजिक बजाइरहेकाहरूलाई आवाज बन्द गर्न भनिन्। र, दर्शकदीर्घातिर हेर्दैै माइकबाट चिच्याइन्, ‘अघि लुगा खोल भन्ने केटा कहाँ हुनुहुन्छ? अगाडि आउनुस् त। ल ठिक छ, म लुगा त खोल्छु तर त्योभन्दा अघि तपाईं आफ्नो कट्टु खोल्नुस्।’
 
पुरुषबाहुल्य दर्शकले भरिएको प्रांगणमा हाहा.. हुहु.. छुट्यो।
 
त्यो बेला कन्सर्टमै ढुंगा हान्नेसम्मका क्रियाकलाप हुन्थे। एउटा कन्सर्टमा उनी गाइरहँदा ढुंगा बर्सिएछ। अरू गायक÷गायिका ढुंगा नहान्न अनुरोध गर्थे। तर अभया स्टेजबाटै चिच्याइन्, ‘अझै ढुंगा हान्।’
 
पछाडि पुरुष वाद्यवादकहरू भन्ने गर्थे रे, ‘प्लिज दिदी, त्यसो नभन्नुस् न अहिले ढुंगा लाग्यो भने हामी कसरी बजाउनु?’
अभया भन्थिन्, ‘चिन्ता नलेउ भाइ, जस्तालाई तस्तै गर्नुपर्छ।’
 
‘महिलालाई पनि रिस उठ्छ, खुलेर हाँस्न मन लाग्छ, चिच्याउन मन लाग्छ,’ उनी भन्छिन्, ‘महिला जब यी सबै गर्छे, तब समाज भन्छ, लोग्नेमान्छेजस्तो भई। महिलालाई महिला हुने छुट नै छैन।’
 
उनले अझै थपिन्, ‘तपाईं–हामीले कुनै महिलाको बलात्कारको घटना हुँदा सधैंजसो सुन्ने कुरा हो, बलात्कार गर्ने केटालाई गाली गर्दै मान्छे भन्छन्– त्यसको आमा–बहिनी कोही छैन कि क्या हो! मेरो प्रश्न छ, यो संसारमा महिला भनेका आमा र बहिनी मात्र हुन्? बलात्कृत महिलालाई महिलाकै स्थानमा हेर्न सकिँदैन?’
 
‘तपाईंमा यस्तोखाले विद्रोही चेत कहाँबाट आयो?’
 
‘पहिलो कुरा त म महिला भएर नै विद्रोही बनेँ,’ उनले भनिन्, ‘संस्कारले महिलालाई मान्छेको हैसियतमा राख्दै राख्दैनथ्यो।’
 
स्कुलमा उनी उति नबोल्ने भए पनि घरमा भने अलि विद्रोही नै थिइन्। 
 
एकचोटि आमाको तस्बिरमा दियो बाल्नुपर्ने भएछ। उनी महिनावारी भएकी थिइन्। दिदीहरूले दियो बाल्न दिएनन्। उनले दियो आफैंले बाल्न पाउनुपर्ने अडान लिँदै भनिन्, ‘आज बाल्न पाइन भने म कहिल्यै दियो बाल्दिनँ।’
 
बाबुलाई सुनाइन्। त्यसपछि बल्ल दियो बाल्न पाइन्।
 
सानै छँदा उनीसँग अर्को भोगाइ पनि छ। नेपाली फिल्मकी पहिलो महिला संगीतकार शान्ति ठटाललाई आफ्नो गुरू मान्छिन् अभया। सानो छँदा उनी ठटालको घर गइरहन्थिन्। सबैलाई अगाडि राखेर शान्ति गाउँथिन्। सबै ध्यान दिएर सुन्थे। जब शान्ति कोठाबाट बाहिरिन्थिन्, सबै पुरुष शान्तिको कुरा काट्थे। शान्ति फर्किँदा चाप्लुसी घस्थे।
सानै भएकाले तिनीहरूले किन त्यसो भने अभयाले छुट्याउन सकिनन्। पछि बुझिन्, महिला भएकैले आफ्नी गुरूलाई नपत्याएका हुन्। जब उनी बुझ्ने भइन्, शान्ति ठटाल नै उनलाई समाजमा आफूले देखेको सबैभन्दा पहिलो शक्तिशाली महिला लाग्यो।
 
संगीतमा सक्रिय भइसकेपछि उनको भोगाइ पनि शान्तिको जस्तै रह्यो। गाउने र लेख्नेमा त थुप्रै महिला अघि आइसकेका थिए। संगीत र वाद्यवादनमा भने निकै कम थिए। अभयाले पुरुष संगीतकर्मीहरूसँग काम गर्नुपथ्र्यो। समूहमा भइसकेपछि आफ्नो कुरा सुनाउन मन हुन्थ्यो। तर, पुरुष सहकर्मीहरू ‘यसले के जानेकी छ र’ भन्ने भावका कुरा गर्थे।
त्यसबेलासम्म अरूका शब्द र संगीतमा गाउँदै आएकी उनले अठोट लिइन्, ‘अब हत्तपत्त अरूका शब्द र संगीतमा गाउँदिन।’
 
त्यसपछि खुल्यो ‘अभया एन्ड स्टिम इन्जन्स।’
 
अभयाका भनाइमा यो सांगीतिक ब्यान्ड मात्र होइन, एउटा अभियान पनि हो।
 
‘अरूका मात्र गीत गाइरहनु भनेको फेसन शोमा मोडलले अरूका लुगा लगाएर राम्रो देखिएजस्तो हो,’ उनले भनिन्, ‘जबसम्म महिलाले आफैं लेख्ने, संगीत तयार पार्ने, बजाउने र गाउने गर्दैनन्, तबसम्म गीतमा महिलाको आत्मा आउँदैन। मलाई लाग्छ, मैले लेखेको, संगीत दिएको र गाएको गीतमा मेरो आत्मा झल्किन्छ। जबसम्म गीतमा आत्मा हुँदैन, तबसम्म महिलाको भावना गीतले समेट्न सक्दैन।’
 
उनले आफ्नो ब्यान्ड तयार पारे पनि एउटा गीत तयार पार्न चाहिने महिला जनशक्तिको उपस्थिति नगन्य थियो। त्यसैले पुरुषको सहारा लिनुपरिहाल्यो। उनी सबैभन्दा अगाडि आएर गाउँथिन्, पुरुषहरू पछाडि हुन्थे। अभयाको अनुमानमा उनीहरूलाई ‘पुरुष मर्दाङ्गी’ले एउटी महिलाको पछाडि बसेर बाजा बजाउन दिएन। त्यसैले आउनेजाने क्रम चलिरहन्थ्यो। 
 
जब ब्यान्डमा राजीव रिन्छेन छिरे, अभया र उनको विचार मिल्यो।
 
सन् २००५ मा अभयाले ब्यान्डकै नाममा पहिलो एल्बम सार्वजनिक गरिन्। ‘सक्दिनँ’ बोलको गीतले चर्चा पायो। उनको चासो र चर्चा पनि सुरु भयो। उनका बाबुले भनेछन्, ‘कस्तो चिच्याएर गाएको? अलि सरल गीत गाउनु नि।’
 
उनलाई अरूको त मतलब थिएन। तर बाबुको सुझावमा बाबुकै नामबाट दोस्रो एल्बम ‘नयन’ निकालिन्। ‘तिम्रो लागि’ जस्ता गीतले चर्चा पाए। जुन एल्बममा अघिल्ला एल्बममा भन्दा कम चिच्याइएको थियो।
 
गीत लेख्नु, संगीत भर्नु र गाएर मात्र अभयाको मन भरिँदनथ्यो। उनको ध्याउन्न त संगीतमा महिला नेतृत्वलाई अगाडि ल्याउनु थियो। 
 
‘गीतमा शब्दको भूमिका ठूलो त हुन्छ तर त्यतिले मात्र हाम्रोजस्तो समाजमा महिला सशक्तिकरणको अभियान छेड्न सक्दैन,’ उनी भन्छिन्, ‘जब महिला फ्रन्टमा देखिन्छन्, चिच्याउँछन् र कराउँछन् तब अरू महिलामा आँट बढ्छ। म महिलाहरूमा आँट बढाउने अभियानमा लागेको हुँ। मलाई सबैले सोध्छन्, अभया तिमी किन यस्तरी चिच्याएर गीत गाउँछौ? आज यसको जवाफ दिन्छु, म सदियौंदेखि महिलाहरूको मनमा गुम्सिएर बसेको आवाजलाई चिच्याएर बाहिर निकाल्न खोज्दैछु।’
 
यसै अभियानस्वरुप उनले मार्च महिनामा ‘वुमन इन कन्सर्ट’ थालिन्। त्यसको जिम्मा अर्कैले लिन्थ्यो र कन्सर्ट हुन्थ्यो, ‘फाइभ स्टार’ होटलमा। अभयाले केही वर्ष यसरी नै गाइन्। जुन समाज बदल्न उनी डटिरहेकी थिइन्, त्यस्ता स्रोता त त्यहाँ छँदै थिएनन्। यसपछि उनले फाइभ स्टार होटलबाट समाज नबदलिने निष्कर्ष निकालिन् र बाहिरिइन्।
 
चार वर्षअघिदेखि भने उनले सम्पूर्ण जिम्मा आफैं लिएर कन्सर्ट थालिन्। त्यसपछि अभया र अरु ब्यान्डका गीत सुन्न दर्शकले पहिले फाइभ स्टार होटलमा जस्तो हजारौं तिर्नु नपर्ने भयो।
 
महिला स्वतन्त्रताको स्वर सुनिने यो कन्सर्ट राति अबेरसम्म चल्छ। तर समाज अझै महिलालाई रातिसम्म बाहिर रहने छुट दिँदैन। विस्तारै महिला सहभागी बढ्दै गएको देखेकी छिन् उनले। र, समाजले आफूलाई हेर्ने दृष्टिकोण पनि बदलिएको पाएकी छिन्।
 
‘समाज त आजकाल मसँग डराउँछ,’ उनले भनिन्, ‘मलाई यो ठाउँ भेट्न १५ वर्ष लाग्यो। मैले वुमन इन कन्सर्ट थालेको वर्षको एकचोटि गीत गाउन होइन। महिला नेतृत्वका ब्यान्डहरूलाई आफ्नो अनुभव सुनाएर ढाडस दिन पनि हो। मेरो अनुभवले भन्छ, कसैले दुई मिनेटमा नराम्रो प्रतिक्रिया दिँदैमा वर्षौंदेखिको आफ्नो संघर्षलाई बेकार ठान्नुहुन्न। समाजले मलाई पत्याउने बन्न १५ वर्ष लाग्यो भने अब अरू महिलालाई त्यति समय लाग्दैन।’
उनका बाबु त सहयोगी छँदै थिए। उनका श्रीमान् पनि सहयोगी छन्।
 
बिहेपछि उनले केही समय समाजले भन्ने गरेजस्तो ‘असल श्रीमती’ बन्न खोजेकी थिइन्। घरमै बस्ने, खाना पकाउने इत्यादि। तब उनका श्रीमानले भनेछन्, ‘तिमीले आफ्नो खुसीका लागि गरेको यत्रो वर्षको मेहनत किन खेर फाल्छौ? तिमी यसरी निष्क्रिय बस्नु भनेको पहिलेको अनुभव खेर फाल्नु हो र बाँकी समय पनि खेर फाल्नु हो। तिमी आफूले गर्न चाहेको काम किन गर्दिनौ?’
 
यसपछि अभया संगीतमा फर्किइन्। श्रीमानसँग संगतका वर्षौं लामो उनको अनुभवले भन्छ, ‘श्रीमतीलाई उसले चाहेको काम गर्ने वातावरण तयार पारिदिनु भनेको श्रीमानका लागि झनै ठूलो उपलब्धि हो।’
 
उनी भन्छिन्, ‘जस्तो हामी दुवै कलाकार हौं। एकले अर्कासँग सिक्न पाइरहेका छौं। मेरो श्रीमानले मलाई छुट दिए भन्न खोजेको होइन। उनी पनि मैले छुट दिएँ भनेर जस लिँदैनन्। पुरुषले मैले छुट दिएको छु भन्नु ‘पुरुष नै शक्तिसम्पन्न हो’ भन्नु नै त हो।’
 
अभया जुन ठाउँमा बस्छिन्, त्यो ठाउँ धेरै हदसम्म महिलाका लागि सहज समाज हो। तर, देशभित्रै महिलाहरू बन्धनमा पारिएका त्यस्ता ठाउँ छन्, उनी त्यहाँ महिला नेतृत्वको कन्सर्ट लिएर ‘नेपाल टुर’ गर्न चाहन्छिन्।
 
यस्तो अभियान उनका लागि समाज मात्र होइन, आफैं बदलिने अभियान पनि हो। जस्तो, एकदिन ओछ्यान मिलाएन भने उनलाई दिनभर खसखस भइरहन्छ। जतिबेला घर जाँदा पनि कसैले केही भन्दैनन्। तर, सात बजेपछि उनको मनमा छटपटी बढ्दो रहेछ।
 
‘म जति नै स्वतन्त्र छु भने पनि पूर्ण रूपले स्वतन्त्र नहुने रहेछु,’ उनले सुनाइन्, ‘छोरी मान्छेले भात पकाउन नसिके, घर सफा गर्न नसिके लोग्नेको घरमा दुःख पाइन्छ भनेर सानैदेखि यसरी घोटाइएको हुन्छ, त्यसलाई दिमागबाट निकाल्न साह्रै गाह्रो पर्ने रहेछ। म चाहन्छु, छोरीलाई यस्तो काम सिकाउन पराई घरको भूत नदेखाइयोस्।’

प्रतिकृया दिनुहोस