बच्चालाई खुसी पार्नुछ? किताब उपहार दिनु

  • Get News Alerts

बिहेको सिजन छ। पैदलयात्रीसमेत छिर्न नपुग्ने गरी बाटो छेकेर पन्चैबाजा र ब्यान्डबाजाका लावालस्कर भेटिन्छन्। 
 
दुलहीपट्टिका निम्तालुका हातमा रङ्गी–चङ्गी झिलझिले कागजले बेरिएका अनेक गिफ्ट देखिन्छन्। यस्ता दृश्य देख्दा म २०/२२ वर्षअघिको एउटा घटना सम्झन्छु।
 
चितवन छँदाको कुरा हो। म त्यतिबेला आइएड पढ्दै थिएँ। सानैदेखि कोर्सबाहिरका किताबको नशा लागेकाले साहित्यमा लठ्ठिँदै गएको समय थियो त्यो। भर्खरै दिनेश अधिकारीको एउटा कवितासंग्रह किनेर ल्याएको थिएँ। साझा प्रकाशनका किताब सस्तो मोलमा पाइन्थ्यो। आफूसँग भएको पैसा किताब किन्दैमा सकिन्थ्यो। 
 
एकदिन बुबाले भन्नुभयो, ‘रिमाल काकाकी छोरीको बिहेमा जा है। अनि सुन्, यसो दुई–चार पैसा हातमा राखिदिनुपर्छ नि। चेलीको बिहेमा उसै खानुहुँदैन।’
 
बुबालाई मसँग पैसा छ भन्ने परेको थियो। नभएको पनि होइन। तर, किताब किन्दैमा सकिएको थियो। तै पनि, बुबासँग पैसा मागिन।
 
सोच्न थालेँ, थोरै पैसा के दिनु? उपहार किन्दा त झन् महँगो पर्छ!
 
जुक्ति फु¥यो– दिनेश अधिकारीको कविता दुई दिनमै पढिसिध्याएको थिएँ। किताब जतन गरेर पढ्ने बानी भएकाले नयैं थियो। त्यही दिन्छु भन्ने सोच पलायो।
नजिकैको स्टेसनरी पसलमा पाँच रुपैयाँ तिरेर झिलझिले कागजले किताबलाई ¥याप गर्न लगाएँ।
 
बिहेमा गएँ। अरुका हातमा भएका उपहार र मेरो हातमा भएको उपहारको रङ नै बेग्लै थियो। अरुका हातमा ठूला सामान थिए। सामान्य प्लास्टिकमा हालिएका। पत्रिकाले बेरिएका भए पनि ठाउँ–ठाउँमा च्यातिएकाले प्वालबाट त्यो के सामान हो थाहा भइहाल्थ्यो। कसैको हातमा खण्डे थाल हुन्थे, कसैसँग चरेस थाल त कसैसँग कप या यस्तै घरायसी सामान। मेरो हातमा पातलो किताब थियो। कसैले अनुमान नै लगाउन सक्थेन, मेरो हातमा के छ?
 
अरुले के दिँदैछ भन्ने चासो सबैमा भइहाल्छ। तर मेरो हातमा भएको सामानमा भने धेरैको आँखा गढेको प्रष्टै थाहा हुन्थ्यो। किनकि, कसैले पत्ता लगाउन सकिरहेका थिएनन्!
 
दिदीलाई टीका लगाएर त्यो किताब उपहार दिएँ। 
 
पछि अरुले सोधे, ‘के दिइस्, झिलिमिली थियो त?’
 
‘किताब दिएको।’
 
‘खुब पढन्ते छस् है,’ उनीहरु भन्थे।
 
गाउँमा मेरो बोलाउने नाम, भरत। एक÷डेढ वर्षपछि ती दिदीसँग भेट हुँदा भनिन्, ‘भरत, तैंले दिएको कविता त राम्रो रैछ नि। मैले अझै जतनले राखेकी छु।’
 
यसै–यसै खुसी लाग्यो। अरुले दिएको भन्दा सस्तो मोलको सामान भए पनि महत्व झन् बढी रहेछ भन्ने लाग्यो। ती दिदीले अरुले दिएका खण्डे थाल या चरेस थाल राम्रा थिए भनेको सुनेको छैन। यत्रो वर्षपछि पनि बेला–बखत भेट हुँदा दिदी मैले दिएको किताबको कुरा झिकिहाल्छिन्। किताबले नै हामीबीच यत्तिका वर्षसम्म पनि एक–अर्कालाई सम्झिने बनाएको छ।
 
पैसा नभएर सस्तो सामान उपहार दिने विकल्पका रुपमा सुरु भएको किताब उपहार पछि गएर अभियानै बन्यो। त्यसपछि म अहिलेसम्म जतिको बिहे, ब्रतबन्ध, जन्मदिनमा जान्छु, किताबै बोकेर जान्छु। यतिसम्म कि, आफ्नो नजिकको आफन्त (जसलाई गाग्री, खड्करोजस्ता सामान दिनैपर्छ भन्ने गाउँघरतिरको मान्यता छ) उनीहरुलाई समेत म किताबै दिन्छु। अरु सामान दिन्न। 
 
यसरी किताब उपहार दिँदा दोहोरो फाइदा हुन्थ्यो। म साहित्यको विद्यार्थी भएकाले किनेको किताब उपहार दिनुअघि नै पढिसिध्याउथेँ।। अनि, उपहार दिन्थेँ। आफूले पढ्न पनि पाइने, अर्कोलाई उपहार पनि हुने। सस्तो मोलमा यत्तिको फाइदा अरु सामानबाट कहाँ मिल्ला?
 
फर्केर हेर्दा लाग्छ, ‘किताब उपहार’ लहड मेरो अघोषित अभियानजस्तै बनेछ। 
 
एकदिन मैले आफैंसँग सोधेँ, ‘म किताब नै उपहार किन दिन्छु? जबकि मसँग अहिले अरु उपहार किन्न नपुग्ने पहिलेको जस्तो अवस्था छैन!’
 
आफैंले उत्तर पत्ता लगाएँ, म लोभी रहेछु। 
 
त्यो लोभ, मनको अन्तरकुन्तरमा बच्चैदेखि गडेर बसेको रहेछ। त्यस्तो लोभ, म लेखक बनुँ। मेरा किताब अरुले किनिदिउन्। पढिदिउन्। उपहारका रुपमा अरुलाई दिउन्। मैले आफूले लेखेको किताब आफैं उपहार दिन्न। म चाहन्छु, मन परेको छ भने मेरो किताब अरु कसैले उपहार साटासाट गरुन्।
 
बच्चा छँदादेखि नै कोर्सबाहिरका किताब पढ्ने भएकाले अरुले पनि ‘खुब पढ्छ यो केटो त’ भन्थे। त्यसैले अलि पढेलेखेका आफन्त घर आउँदा किताब उपहार ल्याइदिन्थे। मलाई चकलेट दिने आफन्तभन्दा किताब दिने आफन्त मन पथ्र्यो। चकलेट दिएका आफन्तहरु केही समयपछि म बिर्सन्थेँ, किताब दिने आफन्तका अनुहारहरु अझै सम्झनामा छन्। 
 
म उनीहरुलाई धन्यवाद दिन्छु!
 
मैले पनि अहिलेसम्म थुप्रै धन्यवाद खाइसकेछु।
 
स्नातकोत्तर तहमा पढाउने भएकाले अधिकांश विद्यार्थी बिहे गर्न उमेर पुगेका हुन्छन्। पढ्दा–पढ्दै बिहे गरेका विद्यार्थीहरुलाई किताबै उपहार दिन्छु। जसको बिहेमा म गएँ, उनीहरुसँग निकै वर्ष बितिसक्दा पनि उस्तै सामिप्यता छ। भेट हुँदा सुरुमा किताबकै कुरा झिक्छन्, सरले दिएको किताब त कस्तो राम्रो! कतिले त मैले किताब दिएपछि हरेक वर्ष एउटा किताब उपहार पठाइरहन्छन्। यसरी मेरो हातबाट कयौं किताब उपहारका रुपमा गए पनि उत्तिकै मात्रामा हात भरिइरहन्छन्।
 
किताबले दिने आत्मीयता साँच्चै बेजोडको हुने रहेछ। अहिलेसम्म कति विद्यार्थी पढाएँ हुँला? कुनै गन्ती छैन। कतिका बिहे, ब्रतबन्ध, जन्मदिनमा गएँ हुँला? त्यसको पनि गन्ती छैन। तर, मैले किताब उपहार दिएका विद्यार्थी सबैका नाम र अनुहार याद छन्। 
 
त्यस्ता थुप्रै विद्यार्थी छन्, जसले मलाई सम्झिरहन्छन्। जसलाई म सम्झिरहन्छु। 
 
एउटी राजनीति गर्ने विद्यार्थी थिइन्। उनको बिहेमा जान भ्याएको थिइनँ। एकदिन अकस्मात बाटोमा भेट भयो। बधाई दिएँ। उपहार दिनु त मेरो लहडै भइहाल्यो। कसैले उपहार दिएका या कतै यात्रामा जाँदा आफैंले पढ्न भनी बोकेका किताब झोलामा टुट्दैनन्। उनले थाहा नपाउने गरी झोलाभित्र हात घुसारेँ। तीन÷चार थान किताबबाट एउटा तानेँ। कविताको किताब परेछ। उनलाई दिएँ।
 
पछि भेट हुँदा उनले भनिन्, ‘सबले मलाई नेता मात्र सोच्थे, खासमा मेरो मनको कुरा सरले मात्र बुझ्नुभयो। मलाई साहित्य मन पर्छ नि सर।’
 
यस्तै–यस्तै किताबी कुराहरुले सम्झना दिलाइरहन्छन्। मान्छे सम्झनामा त बाँच्दो रहेछ! सम्झनका लागि केही बहाना चाहिन्छ। त्यो चाहे भौतिक पदार्थसँग जोडियोस् या भावनात्मकतासँग। किताब भौतिक सामान हो तर त्यसभित्र चेतना हुन्छ। चेतना भावनात्मक सम्बन्धसँग अझ नजिक हुँदो रहेछ। यसरी भावनात्मक सम्बन्ध स्थापित गर्ने गतिलो बहाना बनेको छ किताब। 
 
यति मात्र होइन, किताब मेरा लागि खुसी हुने बहाना पनि हो। किताब पढ्दा मलाई खुसी लाग्छ। किताब पढ्ने मान्छे भेट्दा खुसी लाग्छ। किताब दिने मान्छे भेट्दा खुसी लाग्छ। म बाल्यकालको त्यो खुसी सम्झन्छु। त्यो खुसी, जसले मलाई किताबसँगै खुसीसमेत उपहार दिएका थिए। म खुसी हुन्छु भने यसरी खुसी हुने अरु पनि त होलान् भन्ने सोचेर पनि किताब उपहार दिन्छु। अरुलाई किताब पढ्न मन परोस्, नपरोस्। त्यो किताब पढेर खुसी होउन्, नहोउन्। त्यतातिर सोच्नु मेरो काम होइन। किताब दिनु मेरो काम हो। त्यसो त म उनीहरुको रुचि बुझेर किताब किन्ने गर्छु।
 
बच्चा छँदा किताब पाएर खुसी भएको सम्झिएर मैले साना बच्चा भेट्दा मिठाइ होइन, किताब उपहार दिन थालेँ। ट्रेकिङ गाइड गर्थेँ, कुनै समय। ठाउँ–ठाउँमा बास हुन्थ्यो। घुलमिल भइहाल्ने सबैको उस्तै स्वभाव हुँदैन। 
 
मैले उपाय पत्ता लगाएँ, यदि कुनै घरमा सानो बच्चा छ भने ऊसँग मिल्नु सबैभन्दा उत्तम उपाय हो। यदि बच्चा चाँडै घुलमिल भयो भने बाआमा पनि नजिकिन्छन्। तर, पराई मान्छेसँग बच्चा झन् घुलमिल भइहाल्दैन। बच्चाको साथी बन्नु गाह्रो काम हो। सबैका स्वभाव फरक–फरक हुन्छन्। पहिले उसको मनोविज्ञान बुझ्नुपर्छ। 
 
सबै बालबालिकासँग मिल्ने समान उपाय कुनै छ भने त्यो हो, उसलाई कथा सुनाउनु।
 
बालबालिकाको साथी बन्नु र उसलाई किताब उपहार दिनु मेरो उद्देश्य हुन्थ्यो। बालबालिकालाई सुरुमै किताब दिएर साथी बनाउन सकिँदैन। ऊ सुरुमा त चकलेटबाटै लोभिन्छ। तर, बालबालिका मिठाइका होइनन्, कथा सुन्नका लोभी हुन्छन्।
 
जस्तोः म उनीहरुसँग नजिकिन सुरुमा परिचय गर्थेँ। केही समयपछि म उसलाई सोध्छु, ‘तिमीलाई एउटा कुरा थाहा छ?’
 
‘के कुरा?’
 
‘बाँदरले पनि हाम्रोजस्तै घर बनाउँछ नि।’
 
उसले त समाजबाट बाँदरले घर भत्काउँछ भन्ने सुनेको हुन्छ। त्यसैले ऊ भन्छ, ‘हैन, बाँदरले घर भत्काउँछ।’
 
‘हैन, बाँदरले पनि घर बनाउँछ’ भन्दै म कथा सुरु गर्छु। ऊ झन् टाठो भएर कथा सुन्दै जान्छ। 
 
त्यो कथा सकिएपछि ऊ भन्छ, ‘अरु कथा पनि सुनाउनुस् न।’
 
‘बाँकी कथा सुनाउने पालो तिम्रो’ भन्दै म उसलाई कथाको किताब दिन्छु। फेरि भन्छु, ‘यो पढेर अर्कोचोटी आउँदा तिमीले सबै कथा मलाई सुनाउनुपर्छ है।’
 
यसरी मैले किताब दिएका बालबालिकाहरुसँग पछि भेट हुँदा उनीहरुलाई चिन्न समय लाग्थेन। उनीहरुले किताबकै माध्यमबाट मलाई चिनेका हुन्थे। ती बालबालिकाहरु अहिले ठूला भइसके। सानो छँदा उनीहरुले भेटेका थुप्रै अनुहार स्मृतिबाट बिलाए होलान्। मलाई लाग्छ, किताब सम्झँदा मलाई सम्झन्छन्। मलाई सम्झँदा किताब सम्झन्छन्। 
 
जसरी, किताब सम्झँदा सानो छँदा मलाई किताब दिएका अनुहारहरु सम्झन्छु। उनीहरुलाई सम्झँदा म किताब सम्झन्छु। उनीहरुलाई सम्झँदा त्यतिबेलाको खुसी सम्झन्छु।
 
अहिले मेरो निश्कर्ष छ, बच्चालाई खुसी बनाउनु छ भने किताब उपहार दिनु। मेरो छोरा मसँग खुसी छ। किनकि, उसको छुट्टै लाइब्रेरी छ। उसको जन्मदिनमा म अरु उपहार किन्दिनँ। किताब पसलमा लगेर स्वतन्त्र छोडिदिन्छु र भन्छु, ‘तिमीलाई जुन किताब पढ्न मन छ आफैं छान।’
 
प्रस्तुति– समुन्द्र राज घिमिरे 
 

प्रतिकृया दिनुहोस