फिल्म समीक्षक लामालाई अब आफ्नै फिल्मको पर्खाइ

  • Get News Alerts

‘फिल्म निर्देशक बन्दा कस्तो लाग्यो?’

जब दीपेन्द्र लामा सिन्धुलीमा ‘घामपानी’ को एक महिने लामो सुटिङ सकेर फर्किए, धेरैले सोध्ने पहिलो प्रश्न यही थियो।

यस्तो प्रश्न सोध्ने सबैखाले थिए, शुभचिन्तकदेखि ‘खुच्चिङ’ भन्न पर्खिरहेकाहरूसम्म।

केही वर्षअघि दीपेन्द्रले एउटा फिल्म लेखेका थिए। नाम थियो, नागबेली। कला पत्रकारिता र फिल्म समीक्षा यात्राको नागबेली यात्रा गर्दै उनले लेखेको फिल्म व्यावसायिक रूपमा सफल भएन। हुन त फिल्मको मूल खाँबो भनेकै कथा/पटकथा हो। तर, खाँबो बलियो भएर मात्र घर बलियो हुँदैन। निर्देशकले राम्रो निर्देशन गरिदिएन भने अपजस अरूले पनि भोग्नुपर्छ। त्यही भएर निर्देशकले भन्दा बढी खप्की दीपेन्द्रले नै खाए।

धेरैले खुच्चिङ पनि भने। कारण के भने, दीपेन्द्रले लेख्ने खरो समीक्षाबाट ‘मूलधार’ का धेरै फिल्मकर्मी चिढिएका थिए। जब उनी फिल्मको रौं–चिरा केलाएर समीक्षा लेख्थे, धेरैलाई उनी टाउको दुख्ने रोग बनेर बल्झिन्थे। फिल्म यस–यस कारणले राम्रो भएन भनेर लेख्दा सम्बन्धित फिल्म निर्देशक/निर्माता भन्थे, ‘तँ आफैं बना न त। हामी पनि हेरौं, कस्तो बनाउँदो रै’छस्?’

लामाले पहिले फिल्म लेखे। दुर्भाग्य! फिल्मले न राम्रो व्यापार गर्यो न त समीक्षकहरूले नै राम्रो माने। फिल्मको नतिजा हेर्न कुरिरहेकाहरुलाई खुच्चिङको बहाना मिलिहाल्यो।

उनै लामा अहिले फिल्म निर्देशनमा ओर्लिएका छन्। खुच्चिङ गर्न पर्खिबसेका थुप्रै छन्। राम्रो बनोस् भनेर कामना गर्ने पनि उत्तिकै छन्। दुवै समूहमध्येका केहीले सोधेका थिए, ‘निर्देशक बन्दा कस्तो लाग्यो?’

डेढ दशक काम गर्दा उनको नशामा पत्रकारिता यसरी घुलेछ, जे प्रश्न सोधे पनि पत्रकारितालाई नै उदाहरण बनाएर अनुभव खोल्छन्।

‘जसरी एउटा प्रधान सम्पादकलाई उसका संवाददाताहरुले हरेक दिन अभिवादन गर्छन्,’ निर्देशक बन्दाको अनुभव कसैले सोधिहाले ठट्टा गर्न खप्पिस लामा सुनाउँछन्, ‘निर्देशकलाई सुटिङमा त्यस्तै सम्मान हुँदो रहेछ। आफूभन्दा पाकाहरु पनि ‘सर नमस्कार’ भन्छन्। जसरी सम्पादकसम्म संवाददाताहरु अनेक समस्या बोकेर आउँछन्, फिल्म टोलीका सदस्यहरु उसैगरी समस्या सुल्झाइ माग्न आइपुग्छन्। म उनीहरुलाई चित्त बुझाउन सक्दो प्रयास गर्थें।’

उनको उत्तरमा कतिले ‘कडा व्यंग्य’ भन्दा रहेछन्। तर, उनले सुरुमा जानेरै यसो भनेका होइनन् रे। पछिचाहीँ आफैंलाई ‘हो कि’ झैं लागेछ।

...

सानै उमेरमा दीपेन्द्रलाई मिथुन चक्रवर्ती, अमिताभ बच्चनले नजाँनिदो पाराले लठ्याए। निकै पछिसम्म यी हिरो उनको मनमा यसरी गडे, अलि गम्भीरखाले फिल्म त उनको रोजाइमै परेनन्।

‘पोस्टरमा हेलिकप्टर उडेको छ, बम पड्केको छ भने मात्र एक्सन फिल्म रहेछ भन्ने अन्दाजले फिल्म हेर्न जान्थेँ,’ उनले सुनाए, ‘राजेश खन्नाका फिल्मको पोस्टर यस्तो हुँदैनथ्यो। त्यसैले उनका फिल्म नै हेरिन्थेन।’

उनी यस्तै गानाबजाना, फाइटले भरिएका फर्मुला फिल्मका नियमित ग्राहक बने। हिन्दीसँगै नेपाली फर्मुला फिल्मका पनि उनी असली ग्राहक नै थिए। पचासका दसकका एउटै नेपाली फिल्म छुटेका छैनन् रे।

तर, उनको फिल्म हेराइले ‘युटर्न’ मार्यो, पत्रकारिता सुरु गरेदेखि।

०५५ सालतिर पत्रकारिता गर्न थालेपछि उनको भेट निर्देशक छिरिङरितार शेर्पा, पत्रकार तथा फिल्म निर्देशक नवीन सुब्बासँग भयो। शेर्पा ‘मुकुण्डो’ बनाउँदै थिए भने सुब्बा ‘नुमाफुङ।’ यी दुईको संगतमा परेपछि लामा फर्मुला फिल्मको तलाउबाट उत्रिए। सुब्बा, शेर्पाहरुले संसारभरका राम्रा फिल्म हेर्न सुझाए। कति त आफैंले दिए पनि। पहिले छुटेका गम्भीर फिल्म खोजी–खोजी हेर्न थाले। पहिले छुटेका राजेश खन्ना उनको फिल्मी खातामा आइपुगे र उनका लागि गम्भीर अभिनेता बनेर बसे।

संसारका उत्कृष्ट मानिएका नयाँ–पुराना फिल्मको आदत बसेपछि उनको लेखाइमा पनि निखार आउन थाल्यो। हुन त, त्यसअघि नै समीक्षा लेख्न थालिसकेका थिए। उनको समीक्षा त्यस्तै ‘क्लिसे’ हुन्थ्यो, जस्तो–नेपाली मूलधारले त्यही आरोप खेपिरहेको थियो।

‘निर्देशन के हो, अभिनय के हो बुझिएको थिएन, तै पनि समीक्षा लेख्थेँ,’ उनले अनुभव सुनाए, ‘त्यतिबेला चलचित्र विकास कम्पनीमा फिल्म प्रशोधनको काम हुन्थ्यो। जहाँ, खिचिएका फिल्मका रिल काटेर सम्पादन हुन्थे। सम्पादन के हो भन्ने नबुझ्दा रिल काट्दा देखेको कुरालाई समातेर सम्पादनमा कैंची चलाउन पुगेन। राम्रो कैंची चलाइएको छ। निर्देशन उत्कृष्ट। अभिनय तारिफयोग्य। यस्तै–यस्तै हुन्थ्यो, मेरो समीक्षा।’

जब उनले संसारका फरक–फरक स्वादका फिल्म चाखे, उनले बहस छेड्न थाले– नेपाली फिल्ममा अब परिवर्तन आउनैपर्छ। त्यतिबेला अधिकांश नेपाली फिल्म बलिउडबाट प्रभावित थिए। यतिसम्म कि, कति फिल्म त बलिउडबाट सिधै चोरिएका। सानैदेखि हिन्दी फिल्म हेरेर हुर्किएका न परे, पछि नेपाली फिल्म हेर्दा पहिल्यै हेरिसकेका हिन्दी फिल्मको दृश्य जस्ताको तस्तै उतारेको थाहा पाएपछि उनको समीक्षक मन उम्लिहाल्थ्यो। लेखनमा उनले यसको विरोधमा सानोतिनो खहरे नै चलाइदिए।

यसपछि त सम्बन्धित फिल्मकर्मीलाई के चाहियो? भेटका बेला गालीको वर्षा त सामान्य। कति त उनले लेख्ने गरेको पत्रिकाको कार्यलयसम्मै आइपुग्थे, धम्क्याउन। सिधै गाली गर्न नसक्नेहरू भन्ने गर्थे, त्यस्तो लाग्छ भने आफैं बनाए भै’गो नि! कतिपय भन्ने गर्थे, हामीले तथाकथित बौद्धिकका लागि बनाएको फिल्म होइन। आम–दर्शकको मन छुने गरी बनाएको।

उनको जवाफ हुन्थ्यो, समीक्षकको काम बहस सिर्जना गर्ने हो। समीक्षकले लेखेको मन नपर्दा ‘तैं बना न त’ भन्नु भनेको कुखुराले सानो अण्डा पार्यो भनेर आलोचना गर्दा कुखुराधनीले ‘तैं पार्न त’ भनेजस्तै हो।

तर, यो जवाफ उनको मनले मात्र सुन्थ्यो। कसैलाई जवाफको रूपमा फर्काएनन्।

यसरी गाली गर्ने र बचन लगाउने हरेक व्यक्तिको अनुहार उनलाई प्रस्टै याद छ। के–के भनेका थिए, एक–एक संवाद याद छन्।

‘तँ त साह्रै बिग्रिस् नि बद्री’ को समीक्षा लेख्दा हरिवंश आचार्यले भनेछन्, ‘भाइले पनि बनाउनु न त एउटा फिल्म। कस्तो बनाउनुहुँदो रै’छ।

अर्का एक जना चर्चित निर्माता छन्, जसले उनलाई कडा धम्की दिए। भनेछन्, ‘भाइ दसैंको बेला भएर मात्र बच्यौ। नत्र...।’

‘नत्र’ भनेपछि कस्ता शब्द आउँछन्, उनलाई कन्ठै भइसकेको थियो। किनकि, सबैको धम्क्याउने तरिका एकैखाले हुन्थ्यो।

तर, निर्माताहरूको आक्रोशको यस्तो ज्वाला हलबाट फिल्म ओर्लिनुभन्दा अघि नै हटिसक्थ्यो क्यारे! उनीहरूलाई अर्को फिल्म पनि त बनाउनु थियो! त्यतिबेला बेला ‘समाचार लेखिदिनुपर्यो’ भन्दै आइपुग्थे।

समीक्षा लेख्दा जसले जे–जे भने पनि व्यक्तिगत र व्यावसायिक सम्बन्धमा त्यस्ता कुरालाई कहिल्यै नजोडेको उनको भनाइ छ। ‘समीक्षा लेखेकै कारण जसले मलाई प्रहार गरे, उनीहरूलाई जवाफ दिन फिल्म बनाएको होइन,’ उनी भन्छन्, ‘मलाई फिल्म बुझ्ने भोक छ, त्यो भोक मेटाउन फिल्म बनाएको हुँ।’

‘फिल्म बुझ्न पढ्न या फिल्म बनाउनै पर्छ भन्ने छैन, हेर्दा मात्र पनि फिल्म बुझिन्छ,’ उनले अगाडि थपे, ‘पहिले दर्शक भएर फिल्म बुझेँ। फिल्मलाई फरक–फरक कोणबाट हेरेर बुझ्न समीक्षा लेखेँ। त्योभन्दा माथि बुझ्न पटकथा लेखेँ। अहिले फिल्म कसरी बन्छ, कसरी हलसम्म पुग्छ र दर्शकले के भन्छन् भन्ने बुझ्न फिल्म बनाएको हुँ। मैले पत्रकारिता र फिल्ममा जे गरिरहेको छु, त्यो सबै फिल्म बुझ्नकै लागि हो।’

फिल्म निर्देशनमै ओर्लिसकेपछि के बुझे त उनले?

हुन त, उनी सुटिङबारे केही नै थाहा नपाई फिल्म निर्देशनमा होमिएका होइनन्। फिल्मका छोटा कार्यशाला, दुई म्युजिक भिडियो र एउटा सर्ट फिल्म निर्देशन गरिसकेका थिए। तै पनि, उनलाई त ठूलै फिल्म बुझ्नु थियो।

‘समीक्षक हुँदै निर्देशक बन्दासम्म मैले बुझेको कुरा, हामी समीक्षकले फिल्मका कतिपय दृश्यलाई हलुका तरिकाले हेरेका हुँदा रहेछौं,’ उनले अनुभव सुनाए, ‘हेर्दा सामान्य देखेको दृश्य खिच्न निकै मेहनत पर्दो रहेछ। जस्तो, घाम अस्ताउने बेलाको दृश्य छ। सबै कलाकारलाई तयार पार्नुपर्यो। पृष्ठभूमिमा देखिएको पहेँलो घाम केहीबेरमै बिलाउने तरखरमा छ। यति छिटो काम गर्नुपर्छ, सानो मात्र गडबड भइदियो भने त्यो एउटा सानो दृश्य खिच्न भोलि पर्खनुपर्छ। भोलिको के थाहा? पानी पर्दिन्छ कि, दिनभर बादल लागिदिन्छ कि! यत्ति एउटा सिनले पूरै सुटिङमै हलचल ल्याइदिन्छ। तर, कति कुराहरू हामीले निकै गाह्रो सोचेका हुन्थ्यौं, तर खिच्न सजिला हुँदा रहेछन्।’

सुटिङमा जानुअघि नै तोकिएको मितिमा बिना हलचल सुटिङ सक्ने खुबी नै निर्देशकका लागि चाहिने मुख्य आवश्यकता भएको उनी बताउँछन्। निर्देशक भएपछि उनले मुख्य तीन खुबी हुनुपर्ने अनुभव गरेछन्।

पहिलो, बौद्धिक।

दोस्रो, शारीरिक हिसाबले बलियो।

तेस्रो, भावनात्मक।

‘फिल्म बनाउने तरिका मात्रै थाहा भएर नहुने रहेछ,’ उनले सुनाए, ‘कहिले पहिरो, कहिले खोलामा पुग्नुपर्छ। चर्को घामदेखि हिउँसम्म सुटिङ गर्नुपर्छ। त्यसैले शारीरिक हिसाबले बलियो हुनुपर्यो। कहिलेकाहीँ सुटिङमा एकअर्काबीच मनमुटाव चल्छ। त्यसलाई मिलाउन सक्ने खुबी पनि चाहिन्छ। त्यसका लागि आफ्ना सदस्यहरुको स्वभाव बुझ्न सक्ने भावनात्मक पनि हुनुपर्छ।’

...

जतिबेला, उनले समीक्षा लेख्न थालेका थिए, उनको मुख्य मुद्दा थियो, नेपाली फिल्मको मौलिकता स्थापित हुनुपर्छ। जसरी हरेक देशका फिल्मले आ–आफ्नै शैली बनाएका छन्, नेपाली फिल्म पनि आफ्नै मौलिक शैली लिएर वैदेशिक बजारमा उभिनुपर्छ। तर, उनले खोजेजस्ता फिल्म निकै कम बन्थे।

‘त्यतिबेला धेरैजसो फिल्म बलिउडबाट कपि हुन्थे,’ उनले भने, ‘बलिउडको कपिभन्दा त सिधै ओरिजिनल हेरे भैगो नि। किन नेपाली फिल्म हेर्ने? हाम्रो बहसको मुख्य बुँदा यही थियो।’

विस्तारै फिल्म निर्माणमा विविधता आउन थाले। उनको समीक्षा पढेकाहरु फिल्म निर्माणमा आइपुगे। उनीहरुसँग नेपाली फिल्मलाई अर्कै धारमा लैजान सक्ने जोश र सामथ्र्य थियो। लामा त्यस्तै युवा फिल्मकर्मीहरुको संगतमा पुगे।

त्यसो त, दीपेन्द्रलाई समीक्षामा जहिल्यै ‘बायस्ड’ भएको आरोप लागिरह्यो। उनका साथीसंगाती, मन परेका इतरका फिल्मलाई मात्र राम्रो भन्ने आरोप खेपेका दीपेन्द्रको यतिबेला जवाफ यस्तो छ, ‘यो सही हो। किनकि, म जोसँग संगतमा थिएँ उनीहरु राम्रो फिल्म बनाउँथे। जो राम्रो फिल्म बनाउँथे, उनीहरूसँग म नजिकिएँ।’

पत्रपत्रिकामा टिप्पणी र समीक्षामा उनले उठाएका धेरै कुरा नेपाली फिल्ममा भेटिन थालेको छ। तर, उनी अझै सन्तुष्ट छैनन्। ‘बलिउडबाट सिधै कपी गर्ने प्रवृत्ति त हट्यो तर अब नेपाली फिल्मलाई आफ्नै शैलीमा उभ्याउने ठूलो चुनौति छ,’ उनले भने।

त्यसो भए दीपेन्द्र आफैंले खोजेजस्तो शैली ‘घामपानी’बाट देलान् त?

उनी अहिल्यै यी कुरा घामपानीमा नपाइने बताउँछन्। ‘यो फिल्मबाट बल्ल मैले फिल्म निर्माण प्रक्रिया बुझेको छु,’ उनले थपे, ‘दुई/तीनवटा फिल्म बनाएपछि निर्माणका हिसाबले परिपक्व छु भन्ने लाग्यो भने बल्ल विभिन्न खाले प्रयोगको प्रयास थाल्छु होला।’

पहिलो फिल्म नै भए पनि उनले प्रयोग र आफ्नै शैली स्थापित गराउन केही प्रयास भने गरेका रहेछन्। त्यसका लागि उनले ‘सेफ जोन’मा रही केही जोखिम मोलेको बताउँछन्।

त्यो कस्तो भने, उनले सानैमा देखेको आफ्नै आफन्तको कथा चुनेका छन्। लामो समयदेखि संगतमा रहेका अभिनेता दयाहाङ राई र केकी अधिकारी, सम्पादनमा राम्रो मानिएका निमेष श्रेष्ठ, छायांकनमा शैलेन्द्र डि कार्कीलाई लिएर काम गर्दा फिल्म बनाउन सजिलो भएको उनको अनुभव छ।

घामपानीबाट उनले गरेको नयाँ काम भनेको तामाङ चरित्रलाई कथाको नायक बनाएका छन्। अहिलेसम्म तामाङ चरित्र मूलधारको फिल्ममा मुख्य भूमिकामा देखिएको नपाएपछि यस्तोखाले सुरुआत गरेको उनी बताउँछन्। त्यसबाहेक जातीय विभेद भन्नेबित्तिकै बाहुन र दलितबीचको द्वन्द्व देखाउने नेपाली फिल्मको शैलीलाई तोडेर मध्यमखाले विभेदको बहस उठाएको उनको भनाइ छ।

तामाङ युवक र बाहुन युवतीबीच प्रेम भएपछि सामाजिक अप्ठ्यारालाई फिल्ममा उतारेका लामाले घामपानीबाट देखाउन खोजेको ‘दीपेन्द्र लामा स्वाद’चाहीँ के हो त?

‘साथीहरू मेरो ह्युमर राम्रो छ भन्छन्, फिल्ममा मैले आफ्नो विशेषतालाई उपयोग गरेको छु,’ उनी भन्छन्, ‘ह्युमरलाई म हरेक फिल्ममा प्रयोग गर्छु कि भन्ने लाग्छ। त्यसबाहेक अप्रत्यक्ष ढंगले दर्शनका कुरा गर्नु मेरो रुचीको विषय हो।’

हाल यो फिल्म सम्पादनको क्रममा छ। पहिलो ड्राफ्ट नसकिएसम्म सम्पादन कक्षमा पस्न उनलाई निषेध छ। तर, उनी बेला–बेला पुग्छन्। सम्पादकलाई डिस्टर्ब नगरी चुप्प लागेर फिल्म काटिरहेको हेर्छन्।

यसो किनभने, सम्पादक आफैंमा सिर्जनशिल व्यक्ति हो। सुटिङ गरेर ल्याएका ‘फुटेज’हरुलाई दुई घन्टाको हाराहारीमा झार्न सम्पादकलाई पूरापूर सिर्जनात्मक स्वतन्त्रता दिइनुपर्छ भन्ने संसारभर मान्यता छ। निर्देशकको दबाब पर्यो भने सम्पादकले राम्रो काम दिन सक्दैन। दीपेन्द्र त्यसै गर्छन्। बरु चुप लागेर सम्पादकले काम गरिरहेको हेर्दा सुटिङका थुप्रै गल्तीहरु भेट्दा रहेछन्। 

‘सम्पादकलाई यसरी काट्, उसरी काट् भन्न थाल्यो भने सम्पादक सम्पादक रहँदैन,’ उनी भन्छन्, ‘अपरेटर मात्र रहन्छ। सम्पादकलाई स्वतन्त्रा दिनु भनेको निर्देशकले पनि सिक्ने मौका पाउनु हो। सुटिङमा मैले जसरी सिकेँ, अहिले त्यही सुटिङका दृश्यलाई सम्पादकले काटेको हेर्दा आफ्ना थुप्रै कमजोरी भेट्दैछु। सम्पादक आफैंले पनि यसरी खिच्नुपथ्र्यो भन्छन्। यसले निर्देशकलाई झनै परिपक्व बनाउँछ।’

लाइट, कलर, म्युजिक राखेर फिल्म तयार भएपछि मात्र फिल्म कस्तो बन्यो भन्ने पत्ता लाग्छ। यसरी तयार नभइसकेकाले उनले पनि कस्तो बन्यो भन्ने थाहा पाएका छैनन्।

तैपनि, उनलाई विश्वास छ, फिल्म धेरै दर्शकलाई मन पर्ने खालको बन्ने छ।

तर, के थाहा? फ्लप भइदियो भने!

यसो भइहाल्यो भने पनि चित्त बुझाउने कुरा रहेछन् उनीसँग।

‘पहिले म लेखनबाट आफूलाई लागेको कुरा पोख्थेँ,’ उनी भन्छन्, ‘अहिले आफूले भन्नुपर्ने कुरा दृश्यमा आएको छ। व्यापारिक हिसाबले जस्तोसुकै भए पनि मैले मेरो समाजको कुरा बोलेको छु भनेर सन्तुष्ट हुनेछु।’

त्यसो त, खरो समीक्षकको परिचय बनिसकेको व्यक्तिलाई अरुको तुलनामा बढी नै प्रहार हुन सक्छ। उनको यसअघिको समीक्षकको बलियो परिचयमाथि नै चुनौति हुने त होइन? फिल्म लेख्दा मात्रै त गाली खाइसकेका उनी अहिले झन् ‘डेन्जर जोन’ मा छन्।

भारतमा एक निकै खरो समीक्षक थिए, जसले दुइटा फिल्म बनाए। तर, दुइटै फ्लप। यसपछि उनको प्रतिष्ठामै आँच आएको चर्चा निकै चल्यो। उदाहरण दिइसक्नुअघि नै उत्तर दिन हतारिएका दीपेन्द्र लामा आफूलाई यस्तो असर नपर्ने बताउँछन्।

‘भारतको तरिका बेग्लै छ,’ उनी भन्छन्, ‘हामीभन्दा पचास वर्ष पहिले फिल्म बनाउन सुरु गरेको बलिउडका सबै फिल्मकर्मीले फिल्मलाई राम्रैसँग बुझेका छन्। उनीहरु कस्तो फिल्म बनाउने, त्यो फिल्म कस्ता दर्शकलाई र कसरी चल्छ भन्ने यावत् कुरामा निकै जानकार छन्। नेपालमा सबैले राम्रै फिल्म बनाउँछु भनेर बनाउने हो। तर, सबैतिर ढंग नपुग्दा सबै राम्रै सोचेर बनाएको फिल्म पनि नराम्रो बनिदिन सक्छ। हामी सबै फिल्ममेकर प्रयास नै गरिरहेका हौं। त्यसैले नेपाली फिल्मको प्रतिष्पर्धा त्यति कठिन छैन।’

फिल्म वैशाख १ गते रिलिज हुनेछ।

प्रतिकृया दिनुहोस