‘नाटक खेल्दा–खेल्दै मर्न पाऊँ’

  • Get News Alerts

अबिच्युरी
महर्षि याज्ञवल्क्य नाटकमा राजा जनकको भूमिकामा अभिनय गर्दै विष्णुभक्त फुयाँल, यसै नाटकमा अभिनय गर्दा-गर्दै उनी ढले र केहीबेरपछि निधन भयो

‘...पनेरू बाबु खै म मरेपछि मात्र आउने त होला नि मेरो बारेमा तपाईंको लेख!’

संस्कृतिविद् सत्यमोहन जोशीकृत तथा बद्री अधिकारी निर्देशित नाटक ‘महर्षि याज्ञवल्क्य’ को पहिलो शो (पौष १८ गते) मा विदेहराज जनकको भूमिकामा अभिनय गरिरहेका वरिष्ठ नाट्यकर्मी विष्णुभक्त फुयाँलको अभिनय खिचेँ र नाटक सकिएलगत्तै मञ्चमै पुगेर बधाई दिँदै भनेको थिएँ, ‘मैले हजुरको सबै फोटो र केही भिडियो खिचेको छु, यो पछि सेयर गरुँला, स्वास्थ्यको ख्याल गर्नुहोस्, बाँकी कुरा गर्न भरे फोन गर्छु।’
 
बेलुकी घर आएर उनीसँगै नाटकका लेखक, निर्देशक तथा कलाकारको केही तस्वीर र नाटकबारे टिप्पणी फेसबुकमा पोस्ट गरेँ।  ठीक ८ः२० बजे उहाँ र मबीच फोन सम्पर्क भयो। झण्डै पाँच मिनेट लामो हाम्रो कुराकानीका क्रममा उनले भनेका थिए, ‘...पनेरू बाबु खै म मरेपछि मात्र आउने त होला नि मेरो बारेमा तपाईंको लेख हैन त?’  
 
यो उनको ठट्टा थियो। तर, मृत्युले नराम्ररी ठट्टा ग¥यो। असी वर्षको उमेरमा पनि उत्तिकै जोशिलो अभिनय गरिरहेका उनको यो संवाद नै अन्तिम बन्न पुग्यो, उनी र मबीच। र, विदेहराज जनक नै उनको अन्तिम नाट्य चरित्र। 
 
माफी चाहन्छु विष्णुभक्त बा! 
करिब दुई वर्षअघि उनीसँग कुरा गरेको थिएँ। नाटकको विद्यार्थी हुनुका नाताले उनले लेख्नुभएको नाटक ‘बाध्यता’ पढेपछि भेट्ने इच्छा पलाएको थियो। पुरु लम्साल निर्देशित नाटक ‘अमर मातृत्व’ को रिहर्सलका क्रममा फुयाँलसँग नेपाली रंगमन्चका बारेमा थुप्रै कुरा गरिसकेको थिएँ। त्यही आत्मियताले म उनको आफ्नै निवाससम्म डोहो¥याइएँ।
 
त्यतिबेला मैले उनको घरमा झन्डै पाँच घन्टा बिताएछु। मेरो ल्यापटपमा चार घन्टा लामो अडियो छ, जसलाई म अक्षरमा उतार्न खोज्दै थिएँ। यससँगै उहाँको दोस्रो नाट्यकृति ‘सहिदको सपना’ को छलफलका क्रममा पनि थुप्रै कुरा भएका थिए। उहाँले महर्षि याज्ञवल्क्यमा अभिनय गर्ने थाहा पाएपछि यसै मेसोमा लेख्नुपर्ला भन्ने सोच थियो। म भेटेका बेला कहिलेकाहीँ भन्ने गथेँ, ‘बा म तपाईंको नाटक जीवनको बारेमा लेख्दै छु।’
 
एकदिन त ठट्टा गरेर भने, ‘म मरेपछि लेख्नुहुन्छ होला है?’
उनको सोचाइ इच्छा मृत्युमा मात्र होइन, मसँगको संवादमा पनि मेल खान पुग्यो। जे भनेका थिए, त्यही भयो। 
 
उहिल्यै महाभारतमा भीष्म पितामहले इच्छामृत्यु लिएको कुरा सुनेको र पढेको   थिएँ। यस्तै इच्छामृत्यु बोकेका फुयाँलको इच्छा सत्य सावित् भएको छ। विरलै हुने यस्ता घटनामध्ये, केही महिनाअघि गोरखाका कवि नेत्रमणि आचार्य पनि कविता वाचन गर्दा–गर्दै एक्कासी ढलेका थिए। र, अस्पताल पु¥याउन नभ्याउँदै उनले संसार त्यागे।
 
आफ्नै कर्म गर्दागर्दै सांसारिक बन्धनबाट मुक्त हुनुलाई आध्यात्मिक कोणबाट हेर्दा सायद त्योभन्दा ठूलो अर्को केही हुँदैन होला!
 
विदेहराज जनक। पूर्वीय संस्कृति तथा सभ्यताका साथै मिथीला क्षेत्रका महान् व्यक्तित्व मानिन्छन्। उनै राजा जनको चारित्रिक विशेषतालाई धारण गर्दा–गर्दै र सोही अनुसारको संवाद बोल्दा–बोल्दै नाटकमा वर्णन गरिएजस्तै ब्रह्मको खोजीमा विलीन हुन पुग्नु आपैmँमा उच्च मृत्यु सौन्दर्य तथा मृत्युबोध हो कि भन्ने लाग्छ मलाई। भाग्य नै हो किजस्तो पनि लाग्छ, किनकि उनी यस्तै चाहन्थे।
अग्रज, समकालीन, नयाँ सबै पुस्ताका रङ्गकर्मीसँग मिलेर काम गर्न सक्नु, समयसान्दर्भिक नाटक लेख्नु, निर्देशन तथा अभिनय क्षमताको दखलता राख्नु तथा समसामयिक युगीन चेतनालाई आत्मसाथ गर्नु फुयाँलाको नाट्य विशेषता हो। राजनीतिमा बामपन्थी विचारधाराका निकट फुयाँल साहित्यमा सामाजिक सुधारको अपेक्षा राख्थे।
 
सङ्गीत तथा नाट्य प्रतिष्ठानका संस्थापन कालीन प्राज्ञ (२०६७–२०७०) रहेका फुयाँल राष्ट्रिय जनसांस्कृतिक महासंघका सल्लाहकार, टे«ड युनियन महासंघका सल्लाहकार, जननाट्य मञ्चका संस्थापक अध्यक्ष, कुसुम नाट्य समूहका अध्यक्ष, आरोहण–गुरुकुलको सदस्य तथा २०५४ सालमा कामपा–६ का निर्वाचित वडा सदस्य समेत बन्न पुगे ।  
 
डबली नाटक गर्दै अघि बढेका फुयाँलको रङ्गकर्मको विकास रमेश विकलको कृतिमा आधारित बद्री अधिकारी निर्देशित ‘अविरल बग्दछ इन्द्रावती’ टेलिशृङ्खलामा निभाएको गम्भीरे माझीको भूमिकासँगै हुन पुग्यो र यो क्रम स्वयम् अधिकारी निर्देशित नाटकसम्म आइपुग्यो। युवा पुस्तामाझ भने फुयाँल ‘तीतो सत्य’बाट ‘यु आर माइ लभ’ थेगो र सोही अनुरूपको गेटअपबाट चिनिए। 
...
फुयाँलको अभिव्यक्तिको सम्पादित अंश:
 
२०४५ सालमा रोग पत्ता लगाउन नसकेर मेरी श्रीमतीको मृत्यु भएपछि मैले धेरै सङ्घर्ष गर्नुप¥यो। ग्यास्ट्रिक होला भनेर उपचार गर्न लगेको पित्तथैलीको पत्थरी रहेछ। त्यो फुटेर मुटुकलेजोमा पुग्यो। पछि त्यो नै क्यान्सरमा परिणत भयो। वीर अस्पतालमा ३३ दिनसम्म उपारका लागि राख्याँै। सोही अस्पतालले पछि मृत्यु भएको घोषणा ग¥यो। मेरो आधा सृष्टि सक्कियो। उनलाई हामीले बचाउन सकेनाँै। त्यसपछिको यात्रा तीन छोराहरूलाई लिएर अगाडि बढाएँ। आखिर मानव चोला न हो सहनै पर्दो रहेछ। 
कलाकार विष्णुभक्त फुयाँल नाटक महर्षि याज्ञवल्यकमा अभिनय गर्दै (भिडियो)

आम गरीब नेपाली जस्तै बाल्यकालदेखि अहिलेसम्म मेरो जीवन उस्तै छ। जागिरमा कहिल्यै स्थायित्व भएन। शोषण सहन नसक्ने मेरो बानी। १६ वर्षे उमेर (१२ सालतिर) कामको खोजीमा कलकत्ता गएँ तर गतिलो काम कतै भेटिएन। अन्त्यमा, बंगालीका लागि खाना बनाउने काम पाएँ। त्यसैले मलाई पाककलामा निर्पुण बनायो। मैले बंगाली भाषा सिकेँ। सोही भाषाका पुस्तक पढ्न थालेँ। कलकत्तामा काम गरेको त्यो अनुभव नेपाल फर्किएपछि रोयल होटलमा काम लाग्यो। 

२०१९ सालमा रोयल होटलबाट मैले वेटरको काम सुरु गरेँ। कुकमा भनेर गएको तर पोस्ट खाली नभएकाले वेटरमै चित्त बुझाउनुप¥यो। मैले धेरै समयसम्म विभिन्न होटलहरूमा कुक र वेटरको काम गरेँ तर दिगो कहीँ पनि भएन। कारण म, कसैको अन्याय सहन नचाहने र आफ्नै परिश्रममा बाँच्न चाहने मान्छे। यो नै मेरो जागिरको अस्थायित्वको कारण बन्यो। रोयल होटलपछि शङ्कर, आर.एन.एसी हुँदै विभिन्न होटलमा काम गरेँ तर तलब कहिल्यै बढेन। झन्डै साढे चार वर्ष त्यहाँ काम गरेपछि साथीहरूको लहैलहैमा मैले नाटकतिर लाग्ने निर्णय गरेँ।
 
कलाकारिताको क्षेत्रमा बद्री अधिकारी र दीपकराज गिरी मलाई र मेरो अभिनय कलालाई चिनाउने मान्छे हुन्। उहाँहरूलाई कहिल्यै बिर्सने छैन। मन नपर्ने कुनै पनि छैन। जोसँग काम गरेँ, जति सिनमा काम गरेँ त्यसमा म सन्तुष्ट छु। आजसम्म मैले डाइरेक्टरबाट गाली खाएको छैन । 
 
प्रेसर, सुगर र ग्यास्ट्रिक मेरा पेवा रोगहरू हुन्। यसैका लागि नियमित औषधी खाने गर्छु। खास गरेर म अभिनय समयबाहेक घरमा बसेको समय अर्काको अभिनय हेर्न रुचाउँछु। स्वदेशी तथा विदेशी दुवै खाले अभिनय हेर्ने गर्छु। मलाई धेरै कुरा सिक्नु छ। म भारतीय कलाकारिताबाट बढी प्रभावित छु। त्यता एउटा फिल्म वा अभिनयकारिता हाइलाइटमा आयो भने उसको सिङ्गो जीवन नै बन्दो रहेछ तर हाम्रोमा जीवनभर लागिपर्दा समेत राम्ररी पेट पाल्न सकिँदैन। अझ कलाकारको जीवन त निकै पीडादायी छ। मैले सबैलाई भनेको होइन। केही कलाकारले आफ्नो जीवनस्तर राम्रैसँग उकासेका छन्। 
मैले जीवनभर खेलेको नाटक तथा फिल्ममध्ये सबैभन्दा बढ्ता पारिश्रमिक पाएको पुरु लम्साल निर्देशित अमर मातृत्व नाटक हो। जहाँ मैले पाँच शो का निम्ति २० हजार पारिश्रमिक पाएँ। जीवनमा मैले ५ सयभन्दा बढ्ता नाटकमा अभिनय गरेँ। अवीरल बग्दछ इन्द्रावती, तीतो सत्य (५०० भाग), प्रहरी अनुरोध, हिजोआजका कुरा, मिस्टर फन्टुस, जीवनयात्रालगायत टेलिशृङ्खलाका साथै बलिदान, वसन्ती, श्रीस्वस्थानी, रगत, सान्नानी, महादेवी, राधाकृष्णलगायत ६३ वटा सिनेमामा अभिनय गरेँ। तर कयौं अभिनय मैले कत्ति पनि पारिश्रमिक नलिइ गरेँ। कतिले सम्झेर दिए पनि। कतिले वास्तै गरेनन्। काम लगाउँदा यसो उसो भन्थे काम सक्किएपछि चिने नचिनेभैmँ गर्थे। तर मलाई पारिश्रमिक भन्दा पनि कलाकार हुन पाउनुको गर्व थियो र दर्शक–शुभचिन्तकको माया। जो आजसम्म पाइरहेँ। रङ्गमञ्चलाई माया गर्ने मान्छेहरू पाउँदा यो नै मेरो जीवनको ठूलो पारिश्रमिक हो भन्ने लाग्छ। 
 
मेरो अध्ययनको विशेष रुची क्षेत्र नाटक र उपन्यास हो। मलाई निकै मन परेको नाटक ‘लालरेखा’ हो। यो भारतीय मूलको नाटक हो। जुन कम्युनिस्ट विचारधारासँग सम्बन्धित छ। म कलकता बस्दा धेरै बङ्गाली भाषाका उपन्यास तथा नाटक पढेँ। समाज रूपान्तरण गर्ने खालका नाट्य कृति अथवा कुनै पनि कृति पढ्दा थाहा हुन्छ। यो वाद ऊ वाद भनिरहन जरुरी छैन। वादका नाममा नारा लेखिएका दस्तावेज पढेर साहित्यको रसपान गर्न सकिँदैन। 
 
मेरो चासोको दुइटा विषय छन्। एउटा देशमा गतिलो मान्छे अर्थात् एउटैले पाँच वर्षसम्म देश चलाइदिए हुन्थ्यो र दोस्रो विषयचैँ कला क्षेत्रलाई सरकारले पनि लगानी गरेर रुची भएकाहरुलाई नाटक क्षेत्रमा तान्न सक्ने वातावरण बनाइदिए हुन्थ्यो। र, हामी कलाकारले पनि पैसाको लोभभन्दा पनि केही आपूmले पनि त्यागेर भए पनि यो समाजको विकृतिलाई हटाउन सहयोग गरिदिए हुन्थ्यो। 
 
मलाई कथावस्तु राम्रो लाग्यो र अलिकति भने पनि चेतनामूलक छ भने बिना पारिश्रमिक अभिनय गर्ने गरेको छु। मलाई गाडी भाडा भए पनि पुग्छ। धेरै पैसाको अपेक्षा कहिल्यै भएन। 
 
मैले आरोहणमा ‘न्याय प्रेमी’ खेल्दा संगीत, प्रकाश आदिको व्यवस्था थिएन। जब त्यही नाटक २५ वर्षपछि सुनील पोख्रेल सरको निर्देशनमा खेलेँ, त्यसको तौर–तरिका नै बदलियो। 
 
मेरो दृष्टिमा कलाकारले निर्देशकको निर्देशनलाई राम्ररी बुझ्न सक्नुपर्छ। लेखकको विचारलाई निर्देशकले बुझेन भने नाटक रङ्गमञ्चमा  पुग्दैन। रङ्गमञ्चमै पुगेन भने कलाकार त कताबाट आउनु? कलाकारले आपूm स्क्रिप्ट बारम्बार पढ्नुपर्छ। नजानेको वा नबुझेको कुरो निर्देशकसँग सोध्न डराउनु हुँदैन। निर्देशक जति नै सानो उमेरको भए पनि उसको निर्देशनलाई सम्मान गर्न जान्नुपर्छ। सबै सर्जकका रचना कलाकारले बुझ्न सक्छन् भन्ने छैन वा हुँदैन। जस्तो सञ्जीव उप्रेतीको ‘घनचक्कर’ शीर्षकको उपन्यासलाई नाटकीकरण गर्दा मैले २÷३ पटकसम्म पढेँ तर केही पनि बुझिनँ वा बुझ्नै सकिन। जब त्यही उपन्यासलाई सुनील पोख्रेल सरले नाट्य संवादको तहमा ल्याउनुभयो तब मैले राम्ररी त्यसलाई बुभेmँ र न्याय गरेँ भन्ने लाग्छ। त्यसो त, मैले एउटै नाटकमा चार फरक भूमिका निर्वाह गरेँ। ठूलो किताबलाई सानो रूपमा ल्याउनुभयो । उक्त नाटक देश बाहिर पनि मञ्चित भयो। यसर्थ नाटकलाई राम्ररी  पढ्नुपर्छ। 
कसैलाई गाली गरेर नाटक लेख्नु वा खेल्नु हुँदैन। जसले मेहेनत गर्न चाहँदैन त्यस्ता व्यक्ति नाटकमा नलागे हुन्छ। एउटै नाटक महिनौँ रिहलर्सल गर्नुपर्ने  हुन्छ। कलाकारमा जत्ति नै सुकै पुरानो अभ्यास कला भए पनि मभित्र अझ केही कमजोरी छ कि भन्ने भाव जागृत हुनुपर्छ। कलाकारमा इमान्दारिता हुनुपर्छ। रङ्गमञ्चमा सर्जक, निर्देशक, कलाकार, व्यवस्थापक, प्रेक्षक सबैको समन्वय हुनुपर्छ। टिमवर्क नै नाटक हो।
 
देशको कुना–कुनामा सरकारको उपस्थिति हुन सक्नुपर्छ। सरकार पनि नौ महिने होइन। दीगो चाहिन्छ। ९ महिनामा ढल्ने सरकारले केही गर्दैन। जबसम्म स्थायीत्व हुँदैन, तबसम्म आँटे ताकेको काम गर्न सकिन्न। सरकार भएको महशुस सबै नागरिकले गर्न पाउनुपर्छ र हामी कलाकारले पनि त्यो अनुभूति गर्न पाउनुपर्छ। 
 
म आफैं हर्नियालगायतका रोगबाट पीडित थिएँ। तर मैले कहिल्यै पनि कसैसँग हारगुहार गर्न गइनँ। म लामो समयदेखि कलाकारितामा लागेको र सम्पूर्ण जीवन कलाकारितामा समर्पण गरेको मान्छे। मेरो हर्नियाको उपचारका क्रममा समेत कतिपय कलाकार तथा शुभचिन्तक र इष्टमित्र भन्ने गर्थे, ‘सरकारलाई केही भन्नु केही त अवश्य गर्लान् नि।’ 
 
तर, म भन्थेँ, ‘जे जतिबेलासम्म बाँच्छु आफ्नै पौरखमा बाँच्छु। एकमुठी प्राण रहुञ्जेल र मेरा हातखुट्टाले श्रम गर्न सकेसम्म कसैसँग केही माग्दिनँ। एउटै देशको कोही नागरिक बिरामी हुँदा चैँ लाखौँ करडौँ रुपैयाँ राज्यकोषबाट खर्च गर्ने र कोही नागरिक भने खान नपाएर मर्ने? यो कहाँसम्मको जायज कुरा हो? राज्यकोषको प्रयोग व्यक्तिको पद–प्रतिष्ठा हेरेर होइन, उसको आर्थिक अवस्था हेरेर गरिनुपर्छ।’
 
घर–परिवारजनसँग मेरो कुनै गुनासो छैन। मैले गरेको कामलाई भएन अथवा हुँदैन भनेर कहिल्यै भनेनन्। कलाकार बनेको म आफ्नै इच्छाले हो। २०४२ सालतिरको कुरा हो, म रामेश–मञ्जुल लगायतका व्यक्तिसँग काठमाडौंको आरुबारीमा मजदूरसम्बन्धी गीत गाउँदै थिएँ। घर आएपछि जेठो छोराले बा तपार्इँले यसरी गीत गाएको कत्ति सुहाएन, न गीतको ताल न स्वर भन्यो। मैले चटक्कै छाडिदिएँ। यद्यपि अन्तर्राष्ट्रिय मजदुर दिवसका सन्दर्भमा प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा भृकुटीमण्डपजस्ता कतिपय ठाउँमा साथीभाइलाई जम्मा गरेर ‘उठ–जाग भोका–नाङ्गा हो’ बोलको गीत गाएँ। 
 
सरकारसँग मेरो व्यक्तिगत सम्बन्धमा केही गुनासो बाँकी रहेन अब। हिजोसम्म एउटा चिन्ता थियो, सबैले मलाई राष्ट्रिय कलाकार भन्थे। तर, मसँग उक्त भनाइ पुष्टि गर्ने प्रमाण थिएन। त्यो पनि पूरा भएको छ, ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०७२’ मलाई प्रदान गरियो। यो नै मेरो लागि राष्ट्रिय कलाकार भएको प्रमाण बन्यो। सम्मान पाएपछि
 
कतिपयले मलाई यतिसम्म भने, ‘विष्णुभक्त फुयाँल एमालेको मान्छे उसैको सरकारले उसलाई सम्मान ग¥यो के नौलो भयो र?’
 
तर, त्यो तपाईंहरूले मूल्याङ्कन गर्ने कुरा हो। मेरो कलाले मूल्याङ्कन गर्ने कुरा हो। कहिलेकाहिँ लाग्यो, यो मैले मेरो विचार निकटका नेताबाट भन्दा अन्य राजनीतिक विचारका नेताका हातबाट पाउन पाएको भए जाति हुने थियो। 
 
सच्चा काम गरेर आपूmले पाएको फलमा रमाउनु उत्तम हो। आफ्नो धरातालमा उभिन सिक्नुपर्छ। मेरा तीनैजना छोराहरू प्रतिष्ठित भनिएका देशमा बस्छन् र उस्तै पोस्टमा पनि। तर, म मेरै परिश्रमले बनाएको घरमा बस्छु। मलाई उनीहरूले केही नराम्रो गरेका छैनन्। म कसैको कमाइमा रमाउन चाहन्न। एकजना धर्म छोरी छिन्–राधिका देवकोटा। उनैले मेरो स्याहार गरिरहेकी छिन्। हर्नियाको अप्रेसन भएपछि केही समय छोराबुहारीकोमा गएर पनि बसेँ। मलाई किन हो कुन्नि हिजोदेखि आजसम्म कसैको कमाइ खान नपरे हुन्थ्यो जस्तो लाग्छ। बाँचिरहेछु यसरी नै। 
 
हिजो घुँडा फाटेको सुरुवाल, फाटेको भोटो लगाएर कयन हण्डर खाएर हिँडेको जिन्दगी आज त कम्तिमा पनि नफाटेको सुरुवाल–कपडा लगाएर हिँड्न पाएको त छु। यति भए पुग्यो। मरेर लैजानु केही छैन। फलाना म¥यो भन्छन्। पाउने भनेको मलामी न हो।  
 
अन्त्यमा...
 
मेरो एउटै इच्छा छ, बाँचुञ्जेल धेरै बिरामी भएर नबाँचूँ। नाटक खेल्दा–खेल्दै मर्न पाऊँ!

प्रतिकृया दिनुहोस