प्रचण्ड भन्छन्, 'मेरो फिल्ममा बैंक पनि लुटिँदैन, किड्नी पनि बेचिँदैन'

  • Get News Alerts

फिल्म लेखकका रूपमा नेपाली फिल्म उद्योगमा छिरेका प्रचण्डमान श्रेष्ठ निर्देशक भइसकेका छन्। 'भिजा गर्ल'बाट निर्देशन सुरू गरेका प्रचण्डको दोस्रो फिल्म 'लभ सासा' आगामी साता नेपाली हलहरूमा लाग्दैछ। उनी आफ्नो फिल्म र कामलाई लिएर स्पष्ट छन्। भन्छन, 'मेरो फिल्ममा बैक पनि लुटिदैन, किडनी पनि बेचिदैन। त्यस्तो भयंकर कुरा हुन्नन्। म मानिसका जीवनका एक समयका कथा भन्छु। मलाई त्यस्तै फिल्म बनाउन मनपर्छ। म मानिसका जीवनका १ वर्ष, केही दिन वा हप्ताका कथालाई रोचक ढंगले भन्न रूचाउँछु। 'लभ सासा' त्यस्तै फिल्म हो।'

प्रचण्ड फिल्मीपर्दामा वक्स अफिसको मानक भन्दा पनि दर्शकले राम्रो प्रतिक्रिया दिउन भन्ने आशामा छन्। फिल्मका बारेका कुरा गर्दा प्रचण्डले आफूले फिल्ममा निर्देशकिय इमानदारिता पस्कने प्रयासमा आफू तल्लिन रहेको बताए। सेतोपाटीका लागि 'लभ सासा'को कुरा गर्दा प्रचण्ड यस्तै सुनिए:

*लेखकका रूपमा आफ्नो फिल्मी करियर सुरू गर्नुभयो र निर्देशक हुनुभयो। तपाई आफूलाई अब्बल निर्देशक ठान्नु हुन्छ कि लेखक?

मैले फिल्ममा आउने बेलामा नै राइटर बनेर छिर्छु अनि निर्देशक बन्छु भनेर छिरेको थिएँ। त्यसैले मेरो करियर लेखकका रूपमा भयो। त्यसैले लेखकिय गुण त ममा रहिरहने नै भयो। मलाई यसमा-त्यसमा नभइ लेखन तथा निर्देशन दुईवटैमा दक्खल छ जस्तो लाग्छ।

*'लभ सासा'को लेखकसमेत आफै भएकाले निर्देशकका रूपमा तपाईलाई भएको फाइदा के हो?

मानविय संवेदनाहरूको एउटा गुण कस्तो हुन्छ भने त्यो एउटाले अर्कोलाई सुनाउँदा अझै कम र त्यसले फेरी अर्कोलाई सुनाउँदा झनै कम हुँदै जान्छ। राइटर तथा डाइरेक्टर एउटै हुँदा आफूले स्क्रिप्ट लेख्दा जे भिज्वलाईज गर्‍या छ त्यही कलाकारलाई गराउन सकिन्छ। सिनेम्याटोग्राफरबाट पनि आफूले चाहेजस्तो निकाल्न सकिन्छ। राइटर डाइरेक्टर हुनुको फाइदा त्यही नै हो तर त्यसका साथै लेखकको पक्ष निर्देशकमाथी हावी भएर निर्देशनलाई कमजोर बनाइदिन सक्ने नकारात्मक पक्ष त्यसमा रहन्छ। फिल्म खिच्दा एकमाथी अर्को हाबी नहोस् भन्ने कुरामा चनाखो हुनुपर्दछ। म त्यसमा सधै सतर्क रहने गर्छु। फिल्म निर्देशन गर्दा लेखकका रूपमा मैले एउटा सोच राखे पनि निर्देशकका रूपमा त्यसलाफ अझ कसरी राम्रो गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छु। दुबै हुनुको अधिक्तम फाइदा लिने प्रयासमा रहने गर्छु।

 

*अहिले फिल्म बनिसकेको छ। तपाईले दर्जनौ पटक हेरिसकेको बताउनु भएको छ। फिल्ममा तपाईका दुई भुमिका एकआपसमा बाझिएको पाउनु भएको छ?

छैन, छैन्। मैले फिल्ममा दुबै भएर पाउनुपर्ने फाइदा नै पाएको छु। राइटरका रूपमा मैले जे बन्छ सोचेको थिएँ, त्यही बनेको छ। निर्देशकका रूपमा प्राविधिक रूपमा लेखेको कुरालाई अझै परिस्कृत बनाउनेमा म सफल छु।

*फिल्म आफूले बनाएको सोचबाट निरपेक्ष रहेर नितान्त दर्शकका रूपमा आफ्नो फिल्मलाई कसरी मूल्याकंन गर्नुहुन्छ?

फिल्म लगभग ५३-५४ चोटी हेरिसकें। यत्रोपटक हेर्दा पनि म बोर भइन। कतिवटा साथीका र म आफैले बनाएका फिल्महरू पनि हेर्दै जाँदा सिन बाइ सिन थाहा भइसकेर बोर फिल भएको छ। किन हेर्नु जस्तो लागेको छ? तर मलाई यो फिल्म हेर्दा हरेक चोटी कलाकारको अभिनयले हरेक चोटी  झन झन राम्रो लाग्दै गएको छ।  फिल्मको फस्ट कट हेर्दा म जति 'एकसाइटेड' थिए अहिले २०-२१ औं पटकको कट हेर्दा पनि उत्साह घटेको छैन्, फिल्म झन राम्रो भएको खुसी थपिएको थपियै छ।  फिल्म झन परिपक्व भएको अनुभव गरिरहेको छु। म मात्र हैन, मेरा नजिकका साथीहरू सबैलाई फिल्म देखाएको छु। उनीहरूले फिल्मको पेस र स्क्रिनप्ले एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले यस्तो प्रतिक्रियासहित दिएको विश्वासले फिल्मलाई लिएर म थप ढुक्क र उत्साहित बनेको छु। फिल्मले तेस्रो आँखाको पक्षबाट यस्तो सकारात्मक चिज पाउनु आफैमा ठूलो कुरा हो।

 

*तपाईको फिल्म कुन मास या क्लासले रूचाउँछन् जस्तो लाग्छ?

मेरो फिल्म बनाउने शैली भनेको एकदम सानो सानो कुराको नउनसेन्समा खेलेर र दर्शकलाई ड्राईभ गराउने हो। मेरा फिल्ममा प्रायजसो ठूलोठूलो घटनाहरू हुँदैनन्। मेरा फिल्ममा बैकहरू नि लुटिदैन, किडनीहरू पनि बेचिदैन, ठूलो एक्सन आदि हुँदैन। तिनमा एउटा समय जस्तै; एक वर्ष, ३ महिना, केही दिन वा एक हप्ताको घटना टिपेर मान्छेलाई अल्छि नलाग्ने गरी रोचक ढंगले बनाउने प्रयास रहन्छ। 'लभ सासा' पनि त्यस्तै हो। मेरो फिल्मले 'स्लाइस अफ लाइफ' पस्किने भएकाले फिल्म हेर्ने सबैलाई त्यसको कुनै न कुनै क्षणले छुन्छ। मेरो फिल्मको स्ट्रोङ सेलिङ पोइन्ट यही हो।

*फिल्मको मुख्य भूमिकामा केकी र कर्मा छन्। फिल्मको फाइनल कास्टका लागि अन्य कलाकारसम्मको विकल्पका रूपमा पुग्नुपर्‍यो या परेन? उनीहरू नै फिल्मका फस्ट एण्ड लास्ट विकल्प थिए?

फिल्ममा कास्टिङ गर्ने बेलामा म मेरो फिल्मका कलाकारसँग व्यक्तिगत सम्बन्ध कस्तो छ? भनेर एकदमै ध्यान दिन्छु किनकी कहिलेकाँही एकदमै राम्रो एक्टर भएपनि उसँग तपाईको 'वर्किङ कल्चर' मिलेन भने तपाईले उसबाट कामै निकाल्न सक्नुहुन्न। त्यसैले पनि म आफ्नो साथीभाइ, क्लोज सर्कलसँग काम गर्न रूचाउँछु। जस्तो कर्मा राम्रो एक्टर मात्र हैन, विगत ७-८ वर्षदेखी मेरो राम्रो साथीको रूपमा रहिरहेको छ।

केकीसँग मेरो 'भिजा गर्ल'को बेलादेखी चिनजान भएको। फिल्ममा उसले केमियो रोल गरेको थियो। मेरो फिल्ममा अथाह सौन्दर्य र स्टारडम भएको हिरोइन भन्दा पनि पात्रको कमजोरीलाई समेत पर्दामा न्याय गर्ने अभिनेत्री चाहिएको थियो। त्यो नेपाली केटीको प्रतिनिधि भूमिका केकी बाहेक अरूले गर्न सक्दैन जस्तो लाग्छ। मसँग केकीको विकल्प नै थिएन। उसको समय नमिलेको भए म उनको समय उपलब्धता नहुँदासम्म कुर्नुपर्थ्यो र  म कुर्थे पनि। अथावा मैले धेरै नै मेहेनत गरेर नयाँ अनुहारलाई कास्टिङ गर्नुपर्थ्यो।

*फिल्मबाट के आशा गर्नुभएको छ? परिक्षा दिएपछि विद्यार्थीले गर्ने जस्तै गेस त गर्नु भएको होला?

मैले गेस गर्दा स्क्रिप्ट तथा निर्देशनका लागि ७०-८० को गेस पाइ सकेको छु। अब दर्शककोमा पुगेपछि त्यो घटदैन, बढ्दै नै जान्छ। मैले पहिला पनि भन्ने गरेको थिए, म वक्स अफिसलाई महत्व दिने मान्छे होइन। मैले फिल्म राम्रो बनाएकी बनाइन? कथा सहि तरिकाले भने कि भनिन भन्ने कुरामा मात्र मेरो चासो छ। त्यो हिसाबले म सफल भइसक्या छु। त्यसपछिको सफलता-असफलता भनेको 'नेश्नल साइकी'मा भरपर्छ। मान्छेको मुड के हुन्छ? प्रतिष्पर्दी फिल्म कतिको बलियो आउँछन् भन्ने जस्ता कुरामा उत्तिकै निर्भर रहन्छ।

मलाई के विश्वास छ भने जतिले पनि फिल्म हेर्नेछन उनीहरू सुरूदेखि अन्त्यसम्म बाँधिन्छन्। फिल्म हेरेपछि सबैले एउटा राम्रो फिल्म हेरे नै भन्नुहुन्छ। कस्तो नराम्रो फिल्म हेरेछु भन्नु हुने छैन। 'लभ सासा' रोचक तरिकाले बनाइएको फिल्म रहेछ भनेर सकारात्मक प्रतिक्रिया दिनुहुनेछ।

फोटो: बिनोद पोखरेल

(सेतोपाटीका लागि अशेष अधिकारीसँग गरिएको कुराकानीमा आधारित)

 

प्रतिकृया दिनुहोस