'इन्द्रबहादुर राई एकताका रातोभन्दा रातो कम्युनिष्ट थिए'

  • Get News Alerts

कवि बैरागी काइँलासँग राजा पुनियानीको संवाद
तस्बिर अारके अदीप्त गिरी

 

व्यक्ति बैरागी 

 
• वैरागी नाम कसरी जुराउनुभो?
 
यो प्रश्न नसोधिदिए हुन्थ्यो जस्तो लाग्छ। सधैँ उही उत्तर दिनुपर्छ उसबेला त्यस्तै हावा चलेको थियो भनेर। धेरैले ढाँट कुरा गरेको पनि भन्छन्। 
 
प्रेम कवितामा पनि तपाइँलाई च्याम्पियन मानिन्छ। कति गर्नुभो प्रेम जीवनमा?
 
— प्रेम कवितामा च्याम्पियन भन्नु भयो तर म त त्यसो ठान्दिनँ आफूलाई। केही कविता लेखेँ प्रेमविषयक। अफसोस छ कि एउटा सानो किताबलाई पुग्ने लेख्न सकिनँ। आखिरमा पाठकपाठिकाले सम्झिदिने कविता त तिनै हुन् जस्तो लाग्छ। 
 
कवि नभएको भए के हुनुहुन्थ्यो होला?
 
— सामान्य घरेलु मानिस, किसान।
 
नोबेलको हकदार मान्नुहुन्छ कि आफूलाई?
 
— अहँ, ठान्दिनँ। 
 
कुन फिलोसफीमा विश्वास गर्नुहुन्छ?
 
— म सामान्य मनुष्य हुँ, जसमा दोष र गुण हुन्छन्। तर ममा बढी दोष होलान्। मानिसले मानिस जसरी जीवनयापन गर्नु पर्छ भन्ने दर्शनमा विश्वास गर्छु। 
 
अचेल कविहरूले पनि उपन्यास वा आख्यानतिर जाने ट्रेण्ड बढ़ेर गएको छ। तपाइँ किन जानु भएन आख्यानतिर?
 
— सक्दा जाने थिएँ तर आफूलाई त्यसतर्फ सक्षम पाइनँ।
 
कवि हुन राजनैतिक चेतना के जरूरी छ?
 
— जरूरी छ मात्र नभएर जरूरी हुन्छ।
 
आज कविता कसरी गर्नुपर्ने हो? के आज गरिने कविताबाट सन्तुष्ट हुनुहुन्छ?
 
— समय अनुसार सबै मूल्य र मान्यताका रूप वा मूल्यमा पनि परिवर्तन हुन्छ नै होला। रूचिमा पनि भिन्नता आउँछन् नै। यी कारणले कविता लेखनमा चयन गरिने विषयवस्तुहरू फरक हुँदै जान्छन्। अभिव्यक्तिका तरिकामा फरक पर्दै पनि जान्छन्। मलाई त समयको आग्रह बुझेर लेख्ने सर्जकका कविताले सन्तुष्टि दिएकै छ। 
 
कवि कस्तो मान्छे थियो तपाइँको समयमा? आज कस्तो मान्छे छ?
 
— उहिले हामीले शुरू गर्दासम्म कविहरूलाई अर्कै लोकका जीव हुन् जस्ता ठानिन्थे। हिजोआजका कविलाई समाजकाले आफूजस्तै ठान्छन्।
 
बिम्ब-प्रतीक-शब्द प्रपञ्च कविताका मूल तत्त्व भएकाले, भनिन्छ, कवितामा पाठकलाई ठग्ने काम पनि बढ़ीजसो नै हुने गर्छ। के तपाइँले त्यस्तो केही गर्नुभो आफ्नो कुनै कवितामा?
 
— गतिलो लाठो उचाल्नु भयो अहिले। मैले दिएको यस प्रश्नको उत्तर पूर्णरूपमा सत्य हुँदैन। त्यसैले यति नै भन्छु कि बिम्ब तथा प्रतीकले सर्जकलाई भावको अभिव्यक्ति सहज बनाउन सहयोग गर्दछ।
 
किराँती शास्त्र ‘मुन्धुम’-को उत्खनन-अनुसन्धान गरी नेपाली भाषामा ल्याउने महत् काम गर्नुभयो। केही बेर आस्थागत पक्ष पन्छाउनु हो भने पनि साहित्यिक सौन्दर्यको दृष्टिले ‘मुन्धुम’ कुनै पनि क्लासिक शास्त्रको लहरमा शीर्षस्थ छ। यो विशाल काम गर्ने मोटिभेशनको पछि मुन्धुमको आस्थागत कारण थियो वा साहित्यिक मूल्यबोध?
 
— श्रुतिपरम्परामा जीवित लिम्बू मुन्धुम हजारौँ वर्षदेखिको हजारौँ मानिसको साझा अनुभूति र अनुभवले निर्मित रचना हुनाले एउटा व्यक्तिको एक जुनी पनि पूरा नभएको अनुभव र अनुभूतिभन्दा कता हो कता व्यापक हुँदो रहेछ। श्रुतिपरम्परामा जीवित रहनका लागि काव्यात्मकता हुनै पर्ने रहेछ। हजारौँ वर्षदेखिको हजारौँ मानिसको साझा अनुभूति र अनुभवले निर्मित रचना हुनाले खास समुदाय वा जातिको जीवन दर्शन् नै हुनपुग्दो रहेछ मुन्धुम (मिथक)। लिम्बू मुन्धुम (मिथक)-को अध्ययनले मलाई तिमी व्यक्ति सर्जकले लेखेको काव्य त बाउन्ने काव्यजस्तो पो हो कि भनेर प्रश्नहरू तेर्स्याएका छन्। मलाई पनि हो कि जस्तो लागेर आउँछ। मुन्धुम (मिथक)-भित्र प्रयुक्त भाषा, संरचना, प्रविधि, बिम्ब र प्रतीक र काव्यात्मकताले वशिभूत पारेको छ मलाई। 
 
बौद्धिकता समाजको रोग उत्खनन गर्ने र उपचार खोज्ने औजार पनि हो। त्यो औजारको प्रयोग गरेर तपाइँहरूले देखेको नेपालको र भारतको नेपाली समाज कस्तो कस्तो हुन्?
 
— साँच्चै भन्नुपर्दा उसबखत मैले मानवशास्त्र र समाजशास्त्रबारे केही जानेकै थिइन। उसबेलाको हाम्रो दृष्टिकोण सामान्यीकृत थियो। भिन्नता होइन, एकात्मकता, विश्लेषण होइन संश्लेषणमा हाम्रो जोड थियो कि जस्तो लाग्दछ अहिले सम्झँदा। तथापि भारतेली नेपालीहरूले स्पष्ट पहिचान खोज्दै सङ्घीय भारतभित्र छुट्टै राज्यका लागि नलडेका भने होइनन् उसबखत पनि। तथापि दार्जीलिङको नेपाली समाजलाई हाँक्ने अगुवाहरूको चाहना नेपालीहरूको विविध जातिगोष्ठीको अलग अलग पहिचानमा भन्दा पनि एकमुष्ट भारतेली नेपाली पहिचानमा बढी जोड थियो र अहिले पनि छ। त्यसो नगरेमा जातीय अस्मिता र पहिचान लोप हुने खतरा सबैले महसुस गरेकै छन्। 
 
भारत तथा नेपाल दुवै देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हुन्। अहिले म के देख्दछु भने बहुलवादी समाजमा एकाअर्काको अस्मिता स्वीकारिएन भने ससाना जाति, भाषा, संस्कृति र धर्मको सर्भाइभल सम्भव हुन्छ के?  त्यसैले कुनै एक समाजले जीवित रहनका लागि सो समाजको सामाजिक संरचना अनुकूलका उपाय हुन सकेनन् भने खतरा सामुन्नेमा उभिरहेको हुन्छ। शुरूका मेरा साहित्यिक जीवनमा माथि अगाडि भनिएका कुराले बढी प्रभावित थिएँ हो। त्यसै कारणले कवितामा प्रयुक्त बिम्ब वा प्रतीकहरू पनि ठूला संस्कृतिका नै पैँचो चलाइएका होलान्। तर पछिल्ला दिनमा भने ठूला संस्कृति मात्र सत्य होइनन्, ससाना संस्कृति पनि उतिकै बलिया सत्य हुन् जस्तो लागेर नेपाली सामाजिक संरचनाभित्रका सांस्कृतिक बिम्ब र प्रतीक अथवा मिथकहरूको प्रयोग शुरू गरियो।
 
नेपाली पहिचानका लागि दार्जीलिङतिर लड्ने योद्धाहरूमा पछिल्लो काल (सन् ६० पछिका दिनका जस्तो) मा राजनैतिक हिसाबले भारतेली नेपालीत्व बलियो भएर उभियो। हुनुपर्ने नै त्यही थियो। त्यसपछि नै साहित्यमा पनि नेपाली साहित्य (नेपालको) र भारतीय नेपाली साहित्य टड्कालो रूपमा देखा परे। यो भारतका नेपालीका लागि सकारात्मक पनि भयो।
 
बैरागी दृष्टि – आयामभित्र र आयामबाहिर
 
तेस्रो आयामको राजनैतिक मूल्यबोध के हो? 
 
— सबैलाई समेट्नु अर्थात् समावेशी प्रणाली। सबैले आफ्नो प्रतिनिधित्व आफैं गर्न पाउनु। सबैको सबै ठाउँ र अवसरमा समान पहुँच हुनु। कोही वा कुनै पनि बाहेक नपारिनु नै पू्र्ण रहनु हो। तेस्रो आयामको सम्पूर्णताको लेखनको दर्शनले यसै भन्दछ।
 
तेस्रो आयामपछि भारतमा आएका कविहरू मोहन ठकुरी, नोर्जाङ स्याङ्देन, राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, ज्ञानेन्द्र खतिवड़ाहरूले पाठकलाई बौद्धिक राहत दिए भनिन्छ। के यो अडान ठीकै हो?
 
— ठीकै हो। अडान भनेको के? सिद्धान्त अथवा कुनै अठोटप्रति निष्ठावान रहनु अडान होला। तर कुनै रचना, पद्य होस् कि गद्य, – मा बौद्धिकता चाहिने नै मूल तत्व नै हो। बाटो हिँड्दा फास्टफुड सजिलो हुन्छ।  बारीमा खनेर, आफै बनाएको मल हालेर रोपेर, गोडेर, फलाएर, टिपेर, पकाएर खाएकोजस्तो स्वाद र स्वस्थकर तर नहुन सक्छ।  
 
तेस्रो आयाम (आयामिक लेखन) खासमा के हो? 
 
— तेस्रो आयाम खासमा के हो? यो आयामिक लेखन के हो? भन्ने प्रश्न धेरैले धेरै समयदेखि निरन्तर उठाउँदै आइरहेका छन्। धेरै चोटि जानी-नजानी उत्तर दिएको छु। छोटकरीमा भन्नुपर्दा - कृति आफैंमा सम्पूर्ण होस् र हुन सकोस् भन्ने अवधारणाले बढेको लेखन यो थियो। जसका प्राप्तिका लागि अनुभूतिको तत्क्षणता, अर्थनिरपेक्षता चाहिन्छ भन्दै लेखनको पुरानो परम्परा त्यागेर नयाँ शैली र शिल्पमा  नयाँ लेखन प्रविधिको अनिवार्यतामा जोड दिइयो। साहित्य लेखन गर्न पनि नयाँ भाषा अर्थात् चित्रकलाको सोझो साम्यको भाषा भन्ने आग्रह पनि लिएर आएको थियो र छ पनि। यथार्थमा पदार्थ वा वस्तुहरू सग्लो वा डल्लो अथवा त्रिआयामिक हुन्छन्। अभिव्यक्ति पनि त्रिआयामिक (कालको चेतनासँग चतुर्आयामिक) हुनु पर्दछ भनेको हो।
 
पदार्थको लम्बाइ, चौडाइ र गहिराइ (वा उचाइ) तीन आयाम हुन्छन् - र त्यो वस्तु काल अथवा समयको सन्दर्भमा हुन्छ। लम्बाइ मात्र भएको, चौडाइ र गहिराइ वा उचाइ नभएको  रेखाजस्तै एक आयामिक अथवा लम्बाइ र चौडाइ भएको तर गहिराइ वा उचाइ नभएको पदार्थ, कागतको पन्नाजस्तै दुइ आयामिक लेखनले जीवन र जगतको समग्रता व्यक्त गर्न सक्तैन भनेर। तीनै थोक भएको - ठोस वस्तुजस्तो समय वा काल (चौथो आयाम) मा प्रासाङगिक अर्थात् देश-कालको नैरर्न्तर्यमा साहित्यको रचना होस् भनेका हौं। के विचारझैं अमूर्त वस्तु पनि गोलो वा डल्लो वा त्रिआयामिक हुन्छ त?  भनेर प्रश्न नआएका होइनन्। हामी अनुभूत गर्न सक्दछौं छाम्न र छुन नसके पनि विचार वा भाव गहिरो तथा उच्च हुन्छ। हाम्रोमा भनाई नै छ - खोलाले लाने तोलाको वचन बोल्न हुँदैन। किन? तोलाको वचन गहक हुँदैन, कागतको पन्नाझैं हलुङ्गो हुन्छ। त्यसैले तोलाको वचनमा उच्चता र गहिरार्ई पनि हुँदैन। यसै गरी उच्च विचार (गहिरो, गह्रुङ्गो)-ले तेस्रो आयामलाई व्यक्त गर्दछ। 
 
तेस्रो आयामको मूल दार्शनिक आधार के हो? लीलालेखन र तेस्रो आयामबीचको अन्तर के हो?
 
—आयामिक लेखनको दर्शन थियो वस्तुता। वस्तुता आफैंमा स्वतन्त्र र सार्वभौम हुन्छ। त्यसैले लेखिसकेको कृति आफैंमा स्वतन्त्र हुन्छ, जसको आफ्नै सत्ता हुन्छ, भाषाविज्ञानमा र समालोचनामा पछि आएको पाठको स्वतन्त्र अस्तित्वजस्तै सुनिन्छ यो भनाई। तर कृति (पाठ)-को पठन भनेको लेखकको अभिव्यक्तिलाई जस्ताको तस्तै पाएर पाठक-पाठिकाबाट भोग गरिनु पर्दछ - उसबेला हामीले आग्रह गरेका थिएछौँ कि? यो कृतिकारको अनुभूति पाठकसम्म यथावत पुगोस् भन्ने धारणामा आधारित वस्तुताको दर्शनभित्र सबै पाठकमा त्यो कृति यौटै रूपमा सलक्क सम्प्रेषण हुन सकोस् भन्ने आग्रह रहेको हुन सक्दछ। तर साहित्य कहिले पनि जीवन र समाजदेखि विमुख र अलग हुन नसक्ने हुनाले र लेखक व्यक्ति पनि हुने हुँदा कृतिमा उसको व्यक्तित्व र सांस्कृतिक-सामाजिक पृष्ठभूमि प्रतिबिम्बित हुन्छ नै।  अर्को शब्दमा, जतिसुकै बल गरेपनि उसले लेखेको कृति पूर्णतः निरपेक्ष हुन सक्तैन। यसैकारणले विचार नहुलीकन काँचो अनुभूतिले लेख्दा मात्र स्रष्टाले निरपेक्ष हुन सक्दछ भन्ने धारणा बनाएको थियौँ र भनेका थियौँ। 
 
तर  हिजोआज पाठ (टेक्स्ट) उही हो तर पठन विभिन्न हुन्छन् भनिन्छ। पाठलाई वस्तुता र वस्तुतालाई पाठ मानेमा भाषाविज्ञानको रेफरेन्टजस्तो सदा उस्तै अवस्थित रहला तर हामीले जानेको भनेको त्यसलाई देखेर गरेको हामीभित्रको प्रतिक्रिया हुनाले अलग अलग होला नै। यो पछिल्लो कुरालाई सत्यको बहुलता, अर्थको अनिर्धार्यतामा जोड दिएर लीलालेखनले लेखनको अर्को सिद्धान्त खडा गरेको छ।  इन्द्रबहादुर राईकै शब्दमा 'वस्तुताबाट एक फाल उफ्रेर पुगेको लीलालेखन' भाषाविज्ञानमा पश्चिमी मुलुकबाट आएको अर्थको अनिर्धार्यता, विनिर्माण र पूर्वीय लीला (माया)-को अवधारणालाई सँगै राखेर जोडेर बढ्न खोज्ने नयाँ साहित्य लेखन हो र जीवनको दर्शन पनि। आयामिक लेखनले वस्तुतालाई स्थिर मानेको थियो र छ तर अचल वस्तुताबाट उफ्रेर अघि गएकाले लीलालेखनमा यो धारणा अस्थिर अर्थात् अनिर्धार्य भएको छ। त्यसैले लीलाचिन्तन  भनियो। जीवन र जगतलाई  भ्रम र लीला मात्र हो भन्ने दार्शनिक, ऋषिमुनि र चिन्तकहरूले उहिले बुझेर भनिसकेका रहेछन्, यी कुराहरू। यिनै कुरालाई आधार बनाएर दाइ इन्द्र बहादुर राईले लीलालेखनको  प्रारम्भ गरेका हुन्। विचारले मात्र तर साहित्य भइहाल्दैन जबसम्म त्यसलाई लेखनमा प्रयोग गरिँदैन। त्यसैले नै हो, लीला-दर्शनअनुसार लीलालेखन-प्रविधि पनि हुनपर्छ भन्दैछन् उनी।
 
आयामिक आन्दोलन मतलब बौद्धिक चलखेल। यस्तै मानिन्थ्यो। आयामेली बौद्धिक ढल्काइमा समाज रूपान्तरणको स्पेस थियो कि?
 
— आयामिक आन्दोलन मतलब बौद्धिक चलखेल नभएर बौद्धिक कसरत भने थियो। तपाईंले ठम्याएझैँ आयामेली बौद्धिक ढल्काइमा समाज रूपान्तरणको स्पेस थियो। केही तल प्रष्ट पारिएको पनि छ।
 
तेस्रो आयाम अघिल्ला आन्दोलनहरूभन्दा कसरी फरक छ?
 
— तेस्रो आयाम अघिल्ला आन्दोलनहरूभन्दा भिन्न यसकारण छ कि यो लेखन कसका लागि र के-के लेख्नका लागि नभएर कसरी लेख्ने, कसरी लेख्दा अनुभूति सलक्क लेखिन र पाठकपाठिकामा दुरूस्तै पुग्दछ — को प्रयास थियो।
 
तेस्रो आयामको गत्तिलो उपलब्धि लेखनमा सिरियसनेस भित्र्याउनु हो भन्ने लाग्छ। पठन-पाठनको बाध्यता र ह्याबिटतिर उन्मुख गराउने काम पनि। तेस्रो आयाम गतिलो उपलब्धि के के हुन् तपाईंका लागि?
 
— तपाइँको भाषा 'सिरियसनेस भित्र्याउनु हो' ठीक लाग्यो।
 
‘फूल पात पत्कर’को प्रकाशन नै यो आन्दोलनको शुरुआतको कारण मानिन्छ। यो पत्रिका छाप्दाका केही संस्मरण? तपाईंहरूले गोजीबाट पैसा हालेर निकाल्नुहुथ्यो रे नि?
 
— ‘फूल पात पत्कर’को प्रकाशन नै यो आन्दोलनको शुरुआतको कारक थियो भनिहाल्नु ढाँटेको हुन्छ। तर बल्लभ र म के के नयाँ नयाँ गरौँ भन्थ्यौं। चोकबजारको गिताङ्गे डाँडा (मन्च) - को माथिल्लो पट्टिको भित्तामा भित्ते पत्रिका पनि निकाल्थ्यौँ। एउटा पत्रिका निकालौँ र आफू सम्पादक हुने भन्ने चाहना बल्लभको थियो। मेरो पनि के थियो(त्यो भन्दिनँ) होला। त्यसै सुरसारमा दुई अङ्क निकालेपछि पैसा पनि सकियो, पत्रिका पनि बन्द भयो। उनको सम्पादक हुने धोको पनि पुग्यो, मेरो पनि पुग्यो।
 
आयाम के पूरै मासिएको हो? कि छ अहिले पनि यसको प्रयोग? 
 
−भौतिक रूप (पत्रिका प्रकाशन)का दृष्टिले मात्र त्यसो भन्छ। तर साहित्यको प्राज्ञिक छलफलमा उत्तिकै जिउँदो छँदै छ जस्तो लाग्छ।
 
तेस्रो आयाम पछ्याउनेहरू के कारणले निस्किएनन्?
 
−तेस्रो आयाम पछ्याउनेहरू ननिस्कनाका कारण लेखनको यो अभियान संगठित राजनैतिक अभियान थिएन, अरू अरू कति साहित्यिक अभियानझैँ। चाराने सदस्यता बाँड्ने, गाउँ वा नगर समितिदेखि जिल्ला र माथि केन्द्रतहसम्मको संगठन विस्तार गर्ने संगठन थिएन।  साहित्यिक लेखनमा नयाँ बाटो र विषयको खोजी थियो। वस्तुता र सम्पूर्णताको लेखनसम्म सक्रियताका साथ सँगै थियौँ। राजनीतिमा भनिने कार्यगत एकता जस्तो थियो त्यो। पछि म नेपाल (पाँचथर) फर्केँ, बल्लभ (काठमाडौँ) फर्कें। एक्ला रहेका दाइ  इबरा रहे दार्जीलिङमा। सबै एक्लाएक्लै जस्तो हुनपुग्यौँ। अघि पनि कता भनेको छु, साहित्यलेखनमा कोही कसैको गुरू (नेता) हुँदैन, आफू आफू बाघ हुन्छन् र बाघ कहिले पनि झुन्डमा बस्न सक्दैन।  
 
तेस्रो आयामकालमा भक्कु विदेशी मिथक, खास गरी ग्रीक, चलाउनुभएको श्रेय र आरोप दुवै तपाईंमाथि छ। किन मिथको अधिकाधिक प्रयोग गर्नुभो? ग्रीक मिथहरूभन्दा लिम्बू वा नेपाली जाति भित्रका अन्यान्य गोष्ठीको मिथ वा लोकबिम्ब तपाईंलाई कमसल लागेको थियो कि?
 
− कविता लेखनको उषाकालमा धेरै कुरा अरूले किन गरेका? भनेर विश्लेषण नगरीकन नै अरूले गरेका (लेखेका) देखेर गरियो (लेखियो) होला पनि। तर समयले केही परिपक्वता दिँदै जाँदा घटित भइरहेका घटनाहरू पनि नियाल्दै जान पायौँ। उदाहरणका लागि भनौँ न (१) दोस्रो विश्वयुद्धपछिको दुइटा मात्र विश्वशक्ति नाटोसम्बद्ध शक्तिहरू र (२) वार्सा प्याक्टसँग सम्बद्ध शक्तिहरू। बोलवाला र डङ्का तिनकै अहिलेसम्म देखिए पनि उतिबेलै ननएलान्स नेसन्स भनेर अर्को तेस्रो शक्तिका रूपमा विभिन्न ती ठूला गुटमा असंलग्न राष्ट्रहरू पनि संगठित भएको उतिबेलै देखियो। पहिचानको सुनिश्चितताको अभियान पनि सबैतिर थालिए। यसरी कुनै पनि एक वा दुई मात्र केन्द्रियताको विपक्षको विचार जन्मिसकेको थियो। कहिले घाम नडुब्ने साम्राज्य ग्रेट ब्रिटेनले आफ्ना सबै उपनिवेशलाई स्वतन्त्रता दिँदै जानु परेको घटनाहरू पनि देखिन थालिसकेको थियो। केन्द्रियता क्रमशः अकेन्द्रियतातिर उन्मुख भइरहेको उत्तर औपनिवेषिक सङ्क्रमणको कालमा लेख्न थालेका मजस्तालाई ती परिघटनाले पारेको प्रभाव नै हो ससाना देश, जाति, संस्कृति र मिथकहरूप्रतिको लगाव, प्रभाव र प्रयोग। ठूला (शासक वा हैकमवाला) देश, जाति, संस्कृति र मिथकहरू मात्र विश्वशनीय र अनुकरणीय हुँदैनन्, ससाना देश, जाति, संस्कृति र मिथकहरूमा पनि सत्य र विश्वशनीयता उतिकै हुनाले अनुकरणीय हुन्छन् भन्ने बोधले आफ्नै जातीय मिथकको प्रयोगतिर डोर्याएको हो जस्तो लाग्दछ।  
 
हामी परम्परागत विचारका साङ्लाले बाँधिएका सोच लिएर लेख्नेहरू महाजनो येन गताः स पन्थाः (कृपया यो उद्धरण सच्याएर राखिदिनुहोला) भनेर ठूलाठालूले भनेका गरेका कामकुरालाई मात्र आदर्श ठान्नेहरूले साधारण जनसामान्य, गरिब, निमुखा र सीमान्तीकृतका कुरा काम नलाग्ने, असत्य, झूठ वा अनुकरणीय हुँदैन भनेर सोच पालेर राख्ने दिन बिते भनेर तिनका साझा अनुभव र अनुभूतिलाई पनि उच्च महत्व दिन थाले राम्रो हुन्छजस्ता सोचले पनि हाम्रो समाजका अल्पसंख्यक, निमुखा र सीमान्तकृतहरूका मिथकतिर मलाई  डोर्‍याएको हो जस्तो लाग्दछ। 
 
मिथबिना कविता वा आख्यान सम्भव छैन कि लाग्थ्यो तेस्रो आयामकालमा? इन्द्रबहादुर राईले लीलालेखनमा मिथ चलाए पनि आयामिक आख्यानमा तपाईंले जति मिथ चलाएको भेटिन्न। आयामिक कवि ईश्वरवल्लभले पनि। तपाईंको मिथ आकर्षणको चुरो?
 
मिथकका बारेमा मेरा लागि केही समाजशास्त्री र मानवशास्त्रीहरूले भनेको कुरा मन परेको छ। मिथक सुदूर अतीतका यथार्थ घटना हुन् जसको निरन्तरता मानवजीवनमा हामी आज पनि भोगिरहेका छौँ। कविता जो लेखिरहेका छौँ हाम्रै भोगाइको विस्तार हो। मेरालागि मिथकप्रतिको आकर्षण र निर्भरता त्यसैले भयो।
त्यसबाहेक लेखनलाई संक्षिप्त, सटिक, सहज र प्रभावकारी पनि बनाउँदो रहेछ मिथकीय बिम्बहरूले। भूगोल र कालको चेतनालाई मेट्न पनि सक्दोरहेछ लाग्यो। थोरै शब्दमा धेरै कुराहरू पनि अटाउँदा रहेछन् त्यसभित्र।
 
गुमानसिंह चाम्लिङ, वीरेन्द्र सुब्बाहरू तेस्रो आयामका वैचारिक प्रतिपक्षीहरू थिए। उहाँहरूको मूल विरोधविन्दु के के थिए? उहाँहरूसँग तपाइँको व्यक्तिगत सम्बन्ध के कसो थियो?
 
— वीरेन्द्र सुब्बा र दान खालिङ, उमेर र सिर्जना दुवैले मभन्दा धेरै जेठा। उनीहरूसँग दार्जीलिङमा मेरो त भेटै भएन भन्दा पनि हुन्छ। वीरेन्द्र सुब्बा एकान्त प्रेमी र वाह्य सन्सारसँग उति घुलमिल नगर्ने व्यक्ति र स्रष्टा हुनाले भेट हुनै गाह्रो थियो। सार्वजनिक रूपमा नै वीरेन्द्र सुब्बाले तेस्रो आयामबारे उसबेला र पछिको बेला पनि केही लेखेजस्तो लाग्दैन। नेपालमा भएको सन् १९५० को जनक्रान्तिसँगै नेपाल छिरेका दान खालिङसँग साहित्यिक भेट उसबखत भएन। नरबहादुर दाहालजी समकालिन हुन् भन्दा हुन्छ। भद्र र शालिन उनी अप्रिय कुरा उति नगर्ने। त्यसैले उनले तेस्रो आयामबारे कुनै प्रतिक्रिया दिएजस्तो लागेको छैन। 
 
अगमसिंह गिरी उसबेलाको दार्जिलिङको साहित्याकाशका बेताजका बादशाह थिए। उनलाई हाम्रो खाले कवितालेखन उति मन परेको थिएन कि जस्तो लाग्दछ। हाम्रोखाले कविता लेखन उति मन नपराउने अरू केही स्थापित साहित्यकारहरू पनि थिए। तर सैद्धान्तिक रूपमा तेस्रो आयामले बढाएको लेखन शैली र भाषा प्रयोगमा लेखेरै आलोचना गर्ने साहित्यकार त देखापरेका गुमानसिंह चाम्लिङ मात्र हुन्। तर पनि व्यक्तिगत सम्बन्ध मेरो उनीसँग राम्रै थियो। बल्लभ र इबरा त उनका गुरू नै भए।
 
नेपालमा चलिरहेको पहिचान वा रङ्गवादी आन्दोलनलाई कसरी हेर्नुहुन्छ?
 
— यो समसायिक र सकारात्मक दिशातिरको यात्रा हो। बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुकमा पहिचानको खोजी हुन्छ नै। नेपाल इन्द्रेणी संस्कृतिको देश हो। सात रंग भए मात्र इन्द्रेणी रहन्छ। कम वा बेसी भएमा इन्द्रेणी हुँदैन। सामाजिक एकताको नाममा भिन्नताका सबै आधार भत्काएर अथवा एउटै मात्र रंग राख्न सबैको अनुहारमा सो रंगले पोतेर सम्भव हुँदैन। त्यसो गरिए एकता भन्दा एकात्मकताको निर्माण हुन जान्छ। नेपाली जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा त्यो प्रत्युत्पादक हुन्छ। नेपालमा पालन गरिने सबै संस्कृतिको योगफल मात्र नेपाली संस्कृति हुन सक्दछ। यिनै यथार्थतालाई दृष्टि अगाडि राखेर नेपालको नेपाली साहित्यमा रङ्गवादी आन्दोलन जन्मियो। 
 
तपाईंहरूको तेस्रो आयामपछि भारतमा देखा परेका सङ्क्रमण, विचलन, किनारीकरण, हस्तक्षेप, समावेशीमध्ये सबैभन्दा बढी कुन धारले तपाईंलाई छोएको छ?
 
— भारतमा देखा परेका सङ्क्रमण, विचलन, किनारीकरण, हस्तक्षेप, समावेशी आदि धारहरू आ-आफ्ना पहिचान बोकेर देखा परेका छन्। केही वर्ष अघिदेखि देखा परेको किनारीकरणले किनारीकृत निरीहहरूका आवाज र पीडालाई झंकृत गराएकै हो। हस्तक्षेप अभियानले त्यो झंकृत स्वरलाई बहिरो सत्ता र समाजमा हैकम चलाउनेहरूका कानभित्र नै कराएर हुलिदियो। कवितालाई सामाजिक सम्वादका रूपमा उभ्याई दियो। 
 
कुन धारले बढी छोएको छ भन्दा पनि सबैले आआफ्ना दृष्टि पाठकसामु राखेका छन्। कसको आवाज प्रभावकारी हुने भन्ने कुरा समयले निर्णय गर्ने हो। भारतीय नेपाली वा गोर्खा जाति र तिनको समाजको सन्दर्भमा किनारीकरणपछि हस्तक्षेपले उठाएको आवाज आक्रामक आवाज हो। हस्तक्षेप शब्दले नै जाइलाग्ने संकेत दिन्छ। शुरू भएको धेरै नभएको यो अभियानका बारेमा भविष्यमा केही भनूँला। अहिले त के भने हस्तक्षेप भन्नाले नै अर्कोको सीमामा अनिच्छित प्रवेश पनि हो। आइलाग्नेमाथि जाइलाग्ने मात्र नभएर अर्काको सीमारेखामा बलजफ्ती प्रवेश पनि हो भन्ने अर्थबोध गर्छ यस शब्दले। म त परेँ  विचारको प्रजातन्त्रको हिमायती। विचारको प्रजातन्त्रमा कसैलाई कसैको हस्तक्षेप खप्नु नपरे राम्रो हुनेथियो कि जस्तो पनि लाग्छ।
 
बैरागी ब्राण्ड कविता
 
‘मातेको मान्छेको भाषण’ कविता एउटा बङ्ग्ला कविताको हुबहु सोझो प्रभावमा लेखिएको हल्ला दार्जीलिङमा सुनिन्छ नि!
 
— नेपालका एक प्रख्यात समालोचकले पनि त्यसै भनेर आरोपित गरेका छन् मलाई। बङ्ग्ला भाषाको उक्त कविता मैले भने पढ्न पाएको छैन। दार्जीलिङ पढ्न बसेर पनि बाङ्ला भाषा जानिनँ, लिपि पढ्ने त कुरै टाढाको भयो। बरू तपाइँहरूले दुवै कविता साथमा राखेर जाँचिदिए हुन्थ्यो। कुन कविता पहिले लेखिएर छापिएको थिएछ, के केमा साम्य र वैषम्य रहेछ भन्ने देखाएर अध्ययन सबैका अगाडि राखिदिए म आरोपबाट मुक्त हुने थिएँ। दुवै कविता राखेर सम–विषम देखाउने दिशामा तपाईंको पहल होस्।
 
‘मातेको मान्छेको भाषण’ आयामिक आन्दोलनको 'सिग्नेचर कविता' मानिन्छ। स्कूल कलेजको पाठ्यक्रममा गाभिनुले मात्र यो सम्भव भएको हो कि यसको कवितीय पावरले? ‘मातेको मान्छेको भाषण’मा नेपाली शोषित मान्छेको सकस छ। के त्यो सकस व्यावहारिक हो वा काल्पनिक? 
 
— ‘मातेको मान्छेको भाषण’मा नेपाली शोषित मान्छेको सकस छ कि छैन भन्दा के बुझिदिनु गर्दछ भने त्यो कविता मानिसले स्वतन्त्रताप्रति देखाउने आशावादी निष्ठा हो। निरङ्कुशता र निरङ्कुश शासक र शासनको विरोध हो। मानवाधिकार, मौलिक अधिकारजस्ता आधारभूत मूल्यमान्यताप्रतिको प्रतिबद्धताको ठूलो आवाज हो। यो कविता वि.सं. २०१९ को अन्ततिर लेखिएर वि.सं. २०२० (१९६३ जून?) को असार महिनामा तेस्रो आयामको पहिलो अङ्कमा प्रकाशित भएको थियो। विस.२०१७ (डिसेम्बर १६, १९६०) -मा नेपालको निर्वाचित संसद र सरकारलाई हटाएर राजाले निर्दलीय र निरङ्कुश हुकुमी शासन शुरू गरेपछिका दिनका प्रभाव बढी नै छ यस कवितामा। संघर्षका दिन जति नै कठिन भए पनि विजय एक दिन स्वतन्त्रताप्रेमी नागरिक अथवा मानिसहरूको हुन्छ नै भन्ने अठोटलाई विश्वाशका साथ अभिव्यक्त गर्ने कोशिश गरिएको छ।
 
‘मातेको मान्छे’-को चेतना शिथिल भएको हुन्छ। नर्भस सिस्टमको पर्फर्मेन्स झरेको हुन्छ। विद्रोहीको प्रतीक मातेको मान्छे छान्नु भएको हो। मातेको मान्छे विद्रोही हुने सोच के भ्रामक भएन र?
 
लम्फु नै हुने गरी पिएको भए त त्यस्तो मातेको मान्छेले भाषण गर्ने कुरै आउँदैन, नालीमा लडिरहन्छ होला। तपाईंले भनेझैँ उसको चेतना शिथिल भइसकेको हुन्छ। मैले मातेको मान्छे बिम्बका रूपमा रोजेको चाहीँ हाम्रो नेपाली समाजमा प्रचलित भनाई 'मातेको मान्छेले त साँचो कुरा खुस्काउँछ है अर्थात् ढाँट्दैन हुँ' भन्ने लोककथनलाई विश्वाश गरेर हो। 
 
अर्को कुरा रक्सीलाई मादक पदार्थ मात्र नभएर चेतनाको प्रतीकका रूपमा लिएर लेखेको हो। मातेको मान्छे चेतनाले टम्म भरिएको सचेतनता हो। सचेत मानिस उसको हक र अधिकार, उसको सीमा र सम्प्रभुताप्रति सचेत हुनाले कसैले जुनैबेला हस्तक्षेप गर्न थालेमा प्रतिरोधमा उत्रन्छ नै। यी कुरा बाहेक के थप्छु भने म निराशावादी कवि होइन। मातेको मानिसले सडक (यात्रा, गन्तव्य, जीवन, जनजीवन) माथि उभेर सचेतनतापूर्वक मध्य रातपछिको (नयाँ बिहानीको आरम्भमा) विद्रोहको बिगुल फुकेको छ, भाषण गरेको छ। यतापट्टिबाट यसरी पनि हेरिदिनु पर्दछ कवितालाई।
 
तपाईंको पछिल्लो कविता सङ्ग्रह ‘अन्धा मान्छेहरू र हात्ती’ को स्तर तपाईंका अघिल्लाहरूभन्दा एभरेज देखिन्छ। मान्नुहुन्छ?
 
— ‘अन्धा मान्छेहरू र हात्ती’ कविता सङ्ग्रहमा सङ्गृहित ५ कविता (अन्धा मान्छेहरू र हात्ती शृङ्खला) मेरो जीवन र जगतप्रतिको हेराइ र धारणा हुन्। यी कविता काव्यात्मकताका दृष्टिमा कमजोर किन हुन सक्दछन् भने यी कविता लेख्दा मैले प्रयोग गरेका भाषाका कारण पनि हुन सक्दछ। यी कविता लेख्दा मैले भाषामा सचेत भएर नै 'न गद्य न पद्य'को भाषा प्रयोग गरेको छु। यसो गर्नमा मेरो 'भाषा न त गद्य हुन्छ, नत पद्य हुन्छ' भन्ने मूर्खतापूर्ण धारणा कारक छ। आवश्यकताले जन्मने हुन् भाषामा गद्य भाषा र पद्य भाषा। त्यसभित्रका अन्य कविताहरूमा केही भन्नु छैन। 
 
आयामिक कविता भनेपछि मान्छे तर्सिने। तपाईंका कविता चाम्रो हुनुको एउटा कारण ती-मा प्रयुक्त प्रतीक, चित्रात्मक धर्सा, काँडचिनोहरूलाई पनि मानिन्छ। के तपाईं कविता लेख्दा सिम्बोलिस्टहरूबाट पनि प्रभावित हुनुहुन्थ्यो ?
 
— सिम्बोलिस्टहरूबाट प्रभावित थिएँ, हो। चित्रात्मक धर्सा, काँडचिनोहरूको प्रयोग कवितालाई पढ्ने मात्र होइन, हेरेर ग्रहण गरियोस् भन्ने मनसाय पनि हो। कविता अमूर्त मात्र हुँदैनन्, देखिने मूर्त पनि हुन्छन्। संसारमा उसबेला होइन, पहिले नै 'कङ्क्रिट पोयट्री' लेखिसकिएको थियो।
 
अहिले पनि नबुझिने कविता छ भने आयामिक भएछ भनिन्छ। एकप्रकारले आयाम भनेको दुर्बोधको पर्याय नै भएको हो। ईश्वरबल्लभका कविता तपाईंका भन्दा दुरुह थिए। उनको कविता पङ्क्तिहरूमा फिल गर्नुपर्ने हुन्छ। एन्टाइरिटीमा उनका कविता बुझ्ने सम्भावना थोरै छन्। दुइ एक छाडेर। बल्लभको गद्य उनकै कविताभन्दा सजिला थिए। तपाईं दुई आयामेली कविले आयामिक कालमा अरू कविहरू र कविताका पाठकलाई तर्साउनुभो भनिन्छ नि?
 
— नबुझिने भाषाशैली वा भाषासंरचनाले अरूलाई तर्साएको आरोप सही आरोप हो भन्ने लाग्दैन। आफ्ना विचार, भाव, अनुभूतिहरू कवितामा कसरी व्यक्त गर्दा सर्लक्कै व्यक्त हुनसक्छ होलाको प्रयत्नमा  कविताका भाषा भिन्न भए होलान्। आफ्ना विचार, भाव, अनुभूतिहरू कवितामा कसरी व्यक्त गर्दा सर्लक्कै व्यक्त हुन सक्छ होलाको प्रयत्नमा कविताका अपरिचित विभिन्न बिम्ब र प्रतीकका प्रयोग बाधा  होलान्। मेरो विचारमा दुरूहता कविताले होइन, कवितामा के लेख्छु भन्ने विषयमा सर्जक अस्पष्ट भएमा मात्र दुरूहता उत्पन्न हुन्छ।
 
 
तेस्रो आयाम, लीला लेखन र इबरा
 
लीला लेखन इन्द्रबहादुर राईले शुरू गर्नुको अर्थ आयामिक लेखनको अवसान मान्नुपर्ने हो कि एकसाथ चलिरहने दुइ समानान्तर धार मान्नुपर्ने हो वा लीला चिन्तन आयाम चिन्तनकै एक्स्टेन्सन मान्नुपर्ने हो? 
 
— इन्द्रबहादुर राईले शुरू गर्नुभएको लीला लेखनलाई आयामिक लेखनको अवसान नमानेर तपाईंकै शब्दमा  लीला चिन्तनलाई आयाम चिन्तनकै रूपान्तरित एक्स्टेन्सन मान्दा पनि हुने हो।
 
तेस्रो आयाम छाडेर लीला लेखन शुरू गर्दा इन्द्रबहादुर राईले के तपाईं र ईश्वरबल्लभसँग सल्लाह गरेका वा मागेका हुन्? राईले तेस्रो आयाम छाड्नुका मुख्य कारक के हुन्?
 
— लीला लेखन इन्द्रबहादुर राईको आफ्नै यात्रा थियो। साहित्य लेखनमा सङ्गीतमा जस्तो गुरू परम्परा नहुँदो रहेछ। इन्द्रबहादुर राई हाम्रो वैचारिक अगुवा भए पनि, लेखन प्रयोगधर्मितामा मेरो आदर्श भए पनि सृजनाकर्ममा भने म अलग्ग र आफैं थिए।
 
उहाँको लीलालेखनको त्यो महायात्रामा उहाँसँग साथ लागेर नहिँडेको भए पनि तेस्रो आयाम निकाल्दा निकाल्दै पनि अरू हामी दुई (बल्लभ र म) मा सायद वैचारिक परिवर्तन आउन थालेको थियो कि जस्तो सन् १९६३ तिरै लेखेर सकेको र काठमाडौँबाट प्रकाशित हुने रूपरेखामा विसं २०२१ सालमा छापिएको मेरो कविता 'ब्रेलमा हत्केला छामेर'ले भन्छ। मैले ‘अन्धा मान्छेहरू र हात्ती’ विषयमाथि छ वटा कविता लेखेर जीवन र जगतबारे आफ्नो धारणा राख्छु भनेर सोचेको थिएँ। त्यसैकारण केही कविताहरू उसबखत (सन् १९६३–१९७२) लेखेको भए पनि विसं २०३१ सालमा साझा प्रकाशनले छापेको 'बैरागी काइँलाका कविताहरु' नराखेको हुँ। प्रकाशन मिति कोष्ठकभित्र राखेर दिँदा ती कविताहरू  (१) 'ब्रेलमा हत्केला छामेर (विसं २०२१)', (२) 'म (विस.२०२२)', (३) 'म लगातार निर्वासन (विस.२०२३)', र (४) 'गङ्गा नीलो बग्छु (विस.२०३०)' थिए। विसं २०३१ सालमा शुरू गरेर फ्याँकी राखेको त्यस श्रृङ्खलाको एक कविता (५) 'म र मेरा कथा' बेगल छन् र हुन् पनि (विस.२०७०)' जसोतसो सकेर साङ्ग्रिला प्रकाशनबाट छापियो तर छपाइमा असावधानीका कारण धेरै भूल रहन गएकाले अर्को संस्करण (विस.२०७३) यस पटक अर्कै प्रकाशन गोर्खा बुक्स पब्लिकेसन्स प्रालि, काठमाडौंबाट छापेको छु। यो संस्करण पनि अधुरो रूपमा प्रकाशित छ, भन्नुपर्दछ। कारण, शृङ्खलाका कविताहरू छवटा हुन सकेनन्। त्यसो त अन्य कविताहरू (४) भनेर थपेर किताबको आकार केही मोटो बनाउन त्यसभित्र राखिएका पनि छन्।
 
इन्द्रबहादुर राईले तेस्रो आयाम छाड्नुका मुख्य कारक तत्व के हुन सक्दछन् त भन्ने प्रश्न नै नराखे पनि हुने हो। अगाडि बढ्दा पहिले हिँडेको बाटो छोडेको नभएर हिँड्दा यात्रामा नाघेर गएको हो। छाड्नु अथवा परित्याग गर्ने काम गरे भन्नु भन्दा पनि त्यसअघिको दुरी हिँडेर गए भन्छु म त। 
 
तेस्रो आयाम मूलतः कसरी लेख्ने र कसरी लेख्दा सर्जकको अनुभूति पाठकसम्म दुरूस्त पुग्दछ?  बाट शुरू भएर पछि इन्द्रबहादुर राईकै प्रयत्नले जीवन बुझ्ने दर्शनमा बद्लिन पुग्यो। अर्को शब्दमा उनले नेपाली साहित्यमा नेपाली समालोचना पद्धतिलाई सैद्धान्तिकीकरण गर्ने दिशामा पाइला चाले। 
 
साहित्य सम्पूर्णतामा लेखिनु पर्छ भन्दा उसबेला लेखिएको सिर्जना आफैं स्वतन्त्र वस्तु हो भनेका थियौँ। सिर्जना आफैं स्वतन्त्र अस्तितालाई वस्तुता भनेका थियौँ जसलाई पाठकले जसरी सर्जकले अभिव्यक्त गरेको छ, उसरी नै ग्रहण गरोस् भन्ने आग्रह पनि गरिएको थियो। त्यसो हुन दिनका लागि लेखकीय दृष्टिसापेक्षता भन्दा दृष्टिनिरपेक्षता (अर्थनिरपेक्षता) को वकालत तेस्रो आयाम -ले गरेको थियो। तर मानिसको सोच  र बुझाइ सबै दृष्टिसापेक्ष नै हुँदो रहेछ नि त। सर्जकले अभिव्यक्त जसरी गरेको छ, उसरी नै पाठकले ग्रहण गरोस् भन्ने आग्रहले पाठकीय स्वतन्त्रतालाई सीमित गर्न अभिप्राय बोक्दो रहेछ, जुन अप्रजातान्त्रिक र असम्भव कुरा हो। हो, यहीँबाट दाइ इन्द्रबहादुर राईले लीलाको क्षेत्रमा प्रवेश गर्नुभयो होला।  
 
लीला लेखनमा किन पस्नुभएन? कारण व्यक्तिगत हो वा आदर्शगत? 
 
— मेरा आफ्नै चिन्तन, मनन र अध्ययनको कमी बढी उत्तरदायी छन्। 
 
अम्बर गुरुङ, अगमसिंह गिरी, इन्द्रबहादुर राईहरूको ‘नेपाल मोह’-लाई कसरी हेरियो त्यसताका?
 
— इन्द्रबहादुर राईले विसं २००८-०९ सालतिर नै महानन्द सापकोटाझैँ कट्टर नेपाली राष्ट्रवादीका साथ लागेर नेपालिभत्र (करफोक, इलाम) मा शिक्षक काम गरेका हुन्।  उनको उपन्यास ‘आज रमिता छ’ का कतिपय प्रसङ्गले प्रष्ट पनि पार्छ। तर पनि अगमसिंह गिरीमा झैँ नेपालका सम्बन्धमा उनीहरू नोस्टाल्जिक थिए जस्तो लागेन। अम्बर गुरुङमा पनि देखिनँ उसबखत। तर उनी नेपाल पसेर नेपाली नागरिक नै भए।
 
लेखनमा सिरियसनेस तेस्रो आयामको मूल आयाम त हो। तर लेखकीय प्रतिबद्धताबारे आयामिक चिन्तक-सर्जक इन्द्रबहादुर राई सशङ्कित थिए। राईको ‘साहित्यको अपहरण’ यसको सबुत हो। प्रतिबद्धताबारे आयाम किन संशयमा थियो?
 
मैले माथि कुनै प्रश्नको उत्तरमा दृष्टिनिरपेक्षता (अर्थनिरपेक्षता) -को कुरा गरेको छु। यसो भन्नुमा सर्जकले सिर्जना गर्दा विचार विशेषको हिमायती भएर नलेखोस्, वा विचार विशेषको संवाहक वा प्रवक्ता नहोस् भन्ने नै हो। अझ मुखमा आइसकेको कुरा केही नलुकाएर नै भन्दा साहित्यले विचार विशेषको पैरवी वा प्रतिनिधित्व नगरेमा राम्रो, साहित्य पनि बिटुलो हुँदैन भन्ने नै हो। हो, यहीँ आएर वामपन्थ खेमाका प्रगतिशील सर्जक र चिन्तकहरूसँग मतभेद ठूलो भएर देखिएको हो। साहित्य वा कलालाई विचारविशेषको, वर्गविशेषको, जातिविशेषको बनाएर विभाजित किन गर्ने? भन्ने तेस्रो आयामको ठम्याइ थियो। तेस्रो आयामको पहिलो अङ्कमा नै सम्पूर्णता हाम्रो हराएको सम्पदालाई पुनर्प्राप्ति गर्नाका लागि सम्पूर्णता लेखौँ भनेर सम्पादकीय (इन्द्रबहादुर राईले लेख्नु भएको त्यो सम्पादकीय)मा नारा लेखेर नै अगाडि बढेका थियौँ। लेखकीय प्रतिवद्धता भनेको लेखकले लिएको अडानमा अडिनु हो। यस अर्थमा 'लेखकीय प्रतिबद्धताबारे आयामिक चिन्तक-सर्जक इन्द्रबहादुर राई सशङ्कित थिए' भन्नु साह्रै सही कुरा हो भन्न सकिँदैन। ‘साहित्यको अपहरण’ बारेका उनका विचार र मेरा विचार माथि भनिसकेको छु।  यहाँ एउटा कुरा भन्न मन लाग्यो। इन्द्रबहादुर राई (उनकै शब्दमा) एकताका रातोभन्दा रातो कम्युनिष्ट थिए। तर सन् १९६२ अक्टुबरमा छिमेकी र मित्रराष्ट्र कम्युनिष्ट चीनको आफ्नो भारतभूमिमाथिको आक्रमण लगत्तै उनले कम्युनिष्ट राजनीति परित्याग गरेका थिए। 
 
इन्द्रबहादुर राईको उपन्यास लेखन ‘आज रमिता छ’  पछि किन अघि बढेन? ‘आज रमिता छ’लाई कसरी हेर्नुहुन्छ?
 
—त्यसको बारेमा म धेर भन्ने हैसियत राख्दिनँ। उनी समालोचक पनि हुन्। प्रयोगधमी सर्जक पनि हुन्। नयाँ नयाँ प्रयोगतिर धेरै लागेर, त्यसो गर्दा चाहिने आधारभूमिको निर्माणमा लाग्दाले पनि हुन सक्दछ।  ‘आज रमिता छ’ मलाई त खुब पन परेको हो। 
 
इन्द्रबहादुर राईमा वैचारिक सैद्धान्तिक भटकाउ आइरहने मानिन्छ। उनको अध्ययनको फाँट त फराकिलो हो। तर उनले जे पढे त्यहीबाट प्रभावित त भइहाल्थेनन्? 
 
— मैले पहिले माथि भनेको छु कि हामीले लेखनकार्य गर्दा सकेसम्म नै निरपेक्ष वा तटस्थ रहे हुने। तर मानिसले त्यसो गर्न सकिँदैन रहेछ कि? तथापि प्रयत्न गरिरहने काम हो। मन र मस्तिष्क खाली वा रिक्त रहँदा कसैलाई सधैँको राम्रो, कसैलाई सधैँको नराम्रो देखिने होइन। नयाँ राम्रा कुराको प्रवेशका लागि झ्यालढोका खुला राख्नुपर्छ। छिर्न दिनाका लागि अलिकति स्पेस खालि नै राख्नु पनि पर्छ। पहिले नै यस्ता यस्ता विचारका लागि, मान्छेका लागि मात्र प्रवेश खुला र अरूका लागि प्रवेश निषेध भनेर टुङ्गो गरिराखियो भने सिक्ने कुरा पनि केही बाँकी रहँदैनन्। निरन्तर पढिरहने, सिकिरहने, विश्लेषण गरिरहने इन्द्रबहादुर राईले अरूबाट जानेको कुरा गर्दा भटकाउ भन्नु ठिक हो कि होइन, विचार गर्नै पर्छ। 
 
(यो अन्तरवार्ता दार्जीलिङको एक साहित्यिक अभियान 'हस्तक्षेप' ले निकालेको पत्रिका 'हस्तक्षेप'को दोस्रो अंकमा प्रकाशित छ)
 

प्रतिकृया दिनुहोस