सरसर्ती संसार घुमिरहेछन् पदमपुरे साइँला

घुम्नका लागि पहिलो प्राथमिकतामा पैसा पर्छ कि फुर्सद?
जीवा लामिछानेले तेस्रो विकल्प रोजे।
...
संसारका पाँचवटै महादेश घुमेर जीवा लामिछानेले लेखेको २९ वटा नियात्रा संग्रह ‘सरसर्ती संसार’ को विमोचनका दिन अन्तक्र्रियाका लागि मञ्चमा उक्लिएका लामिछानेलाई पत्रकार देवेन्द्र भट्टराईले सोधे, ‘तपाईं विदेशबाट सिधै यता आउनुभएको हो?’
यो उनको व्यस्ततालाई लिएर गरिएको ठट्टा मात्र थियो। तर, उनका हकमा यो ठट्टा लगभग यथार्थ नजिकै छ भन्दा फरक नपर्ला!
संसारभर छरिएका नेपालीको छाता संगठन गैर–आवासीय नेपाली संघका संस्थापक अभियन्ता तथा व्यवसायी जीवा संसार घुमिरहेका हैनन्, दौडिरहेका हुन्छन्। किताब सार्वजनिक हुनु केही दिनअघि मात्र उनी काठमाडौं आइपुगेका थिए, अब केही दिनमै फेरि विदेश जाँदै छन्। उमेरले आधा शताब्दीमा हिँडिरहेका जीवा गन्ती नगरे पनि संसारका आधाजसो देश घुमिसकेका छन्।
जीवन आफैंमा यात्रा हो, तर जीवाका लागि यात्रा जीवन हो। उनका लागि पाउने र गुमाउने सबै खेल यात्राकै हातमा छ।
किन घुम्नुहुन्छ?
जीवाको उत्तर छोटो छ, ‘नयाँ कुरा जान्न। पुराना धारणा चिर्न।’
किताब सार्वजनिक हुने अघिल्लो दिन हाम्रो भेट हुँदा उनी एक दिनअघि मात्र काठमाडौं ओर्लेको बताउँदै थिए।
कहाँबाट?
‘चितवनबाट।’
पहिलोपटक आफ्नै निर्णयले घर छाड्नुभएको कहिले हो याद छ?
उनी सम्झनाको जहाज चढेर चितवनको पदमपुर पुगे, जहाँ उनले आफ्नो बाल्यकाल बिताएका थिए। जहाँ उनका ‘जीवन प्लस यात्रा’ का मीठा यादहरूमध्ये सबैभन्दा मीठा याद छन्।
जीवालाई याद छ, सानो छँदा उनलाई परपरका गाउँ निकै रहस्यमयी लाग्थे। सोच्थे, ‘के–के होलान् ती ठाउँमा?’
‘गाउँमा कसैको बिहे हुँदा जन्ती जाने इच्छा हुन्थ्यो,’ उनी सम्झिन्छन्, ‘बिहेको रमाइलो भन्दा पनि मलाई नयाँ ठाउँ पुग्ने चाहना हुने। तर, बुबाले जानै नदिने। चार कक्षा पढ्दा बुबासँग रोइकराई गरेर पहिलोपटक जन्ती गएको थिएँ। यो मेरो आफ्नै निर्णयको पहिलो यात्रा थियो।’
पहिलोपटक जन्ती गइसकेपछि उनले आफ्नो गाउँ र त्यो गाउँबीच तुलना गरे। निकै फरक लाग्यो उनलाई। यसै उमेरतिर उनले कोर्सबाहिरको पढाइ पनि सुरु गरिसकेका थिए। जसमध्ये यात्रा निबन्ध उनलाई मन पर्ने विधा बन्यो। किताबमा जुन ठाउँका प्रसंग आउँथे, पढ्दै जाँदा उनी सोच्थे, ‘कुनै न कुनै दिन म त्यहाँ पुगेरै छाड्छु।’
उनी पढ्ने ठाउँमा सात कक्षासम्म मात्र पढाइ हुन्थ्यो। त्यसपछि बाबुले टाँडी बजार ल्याएर भर्ना गरिदिए। त्यतै बसेर पढ्न थाले।

‘हाम्रो लागि त निकै रमाइलो ठाउँ थियो त्यो,’ उनले सम्झिए, ‘साइकल पनि फाट्टफुट्ट देखिने गाउँबाट आएको मलाई टाँडीको सडकमा गुड्ने ठूल्ठूला बस अचम्मका लाग्थे। हाम्रो कक्षामै दुई सय विद्यार्थी थिए। तीनवटा सेक्सनमा। त्यति विद्यार्थी त हाम्रो स्कुलमै थिएनन्।’
जीवाले पहिलोपटक घर छाडेको बेला त्यही हो। दस कक्षासम्म पढुन्जेल प्रत्येक हप्तैपिच्छे घर पुग्थे। एसएलसीपछि त त्यो पनि टुट्यो।
एसएलसी पास भएपछि इन्जिनियरिङका लागि भर्ना हुन उनी एक्लै काठमाडौं आएका थिए। काठमाडौं, उनको पहिलो लामो र एक्लो यात्रा थियो।
पहिलो विदेश यात्रा भने रसिया (तत्कालीन सोभियत संघ) हो, त्यो पनि २० वर्षको उमेरमा।
रसिया जानुअघि साथीभाइबाट उनले मस्को सहरका तस्बिर देखेका थिए। ती चित्रका माध्यमबाट उनको दिमागमा पूरै सहरको तस्बिर खिचिएको थियो। एकखाले धारणा बनाएका थिए। तर, पुगिसकेपछिको मस्को अर्कै थियो।

मस्को पुगेपछि बल्ल उनी फुक्काफाल भएर सहर घुम्न पाए। छात्रवृत्तिबाट आएको पैसा जोगाउँदै साथी–साथी मस्को सहर घुमेर सुरु भएको जीवाको घुम्ने बानी पछि लत बन्यो। कलेज नसकिँदै उनले युरोपका केही देश घुमिसकेका थिए। रेल यात्रामा विद्यार्थीलाई छुट हुन्थ्यो। त्यसैको फाइदा उठाउँदै थुप्रैपटक निकै कम पैसामा एक्लै थुप्रै सहर चहारेका छन्। वर्षको दुई महिनाको छुट्टी पनि उनी केही समय नेपाल र बाँकी समय घुमेरै बिताउँथे।
त्यतिबेला गुगलको सुविधा थिएन। एकदिन मात्र फुर्सद भयो भने कहाँ जाने? उनी दिनभर घुम्नलाई चाहिने सर–सामान प्याक गरेर निस्कन्थे। कुनै पार्कमा बसिरहेको मानिससँग चिनापर्ची गर्थे अनि सोध्थे, ‘यता नजिकै घुम्ने ठाउँ कतै छ?’
उसले ठाउँ बताइदिन्थ्यो। जीवा ‘थ्यांक यु’ भन्दै निस्कन्थे र दिनभर घुम्थे।
जीवाको भोगाइले भन्छ, यात्रा सजिलो छैन। तर, गाह्रो पनि छैन। जहाँ जाँदै हो, त्यहाँको परिस्थितिसँग जुध्न तयार भएर घुम्न निस्कन्छन् उनी। डायरी छुटाउँदैनन्। देखे–भोगेका कुरा लेख्न छुटाउँदैनन्।
किताब लेख्दै गर्दा जीवाले त्यही डायरी पल्टाए। जहाँ उनको उनको यात्राको सुरुआत नै सुखद रहेनछ। पहिलोपटक जन्ती जाँदा नै कुटाइ खाएका उनको पहिलो विदेश यात्रा त झन् जोखिमपूर्ण थियो। त्यस्तै अप्ठ्यारो यात्रा थियो, उनका बाबुआमाको पनि। बाबु जीवनयात्राका क्रममा भारतका आसाम, मद्रास हुँदै लाहोरसम्म पुगेका रहेछन्।
कास्कीमा जन्मे–हुर्केका उनका बाबु खेमलालको विदेश यात्रा बिहे भएपछि सुरु भएको रहेछ। बिहेपछि मावली बाले खेमलाललाई भनेछन्, ‘बिहे गरेको ऋण कसरी तिर्ने हो?’
खेमलाललाई झोंक चलेछ। सासूले टीका लगाएर दिएको एक मोहर बोकेर उनी भारत हान्निएछन्। घरायसी धन्दा, भाँडा माझ्ने लगायत थुप्रै कामको अनुभव बटुलेका खेमलालले पछि जीवाकी आमालाई पनि उतै लगे। उतै कमाएको पैसाले चितवनको पदमपुरमा जग्गा जोडे र बसाइँ सरे।
चितवन सरेपछि जन्मिएका पहिलो सन्तान हुन्, जीवा।
रोजगारीका लागि भारत गएका बेला अक्षर चिनेका खेमलाल जीवालाई भन्ने गर्थे, ‘छोराले घर रुँघेर हुँदैन, संसार हेर्नुपर्छ। घरबाट टाढा नजानेको प्रगति हुँदैन, हुर्केका सन्तानले बाबुआमाको काख छाडेनन् भने तिनीहरुले प्रगति गर्न सक्दैनन्।’
अहिले बाबुको भनाइमा जीवाको पूरा समर्थन छ। अझ, बाबुको भनाइमा उनले एउटा शब्द थपेका छन्। त्यो हो, छोराको ठाउँमा छोराछोरी।’
जीवन बाँच्न ऊर्जा चाहिन्छ। जीवा त्यो ऊर्जा घुमेर बटुल्छन्। यसमा दुईथरी अनुभव रहेछ उनको। चितवनबाट फर्किएपछि जहाजमा उनलाई बेग्लै छटपटी हुने रहेछ। केही कुरा छुटिरहेजस्तो। तर, एकखाले ऊर्जा पनि यससँगै सँगाल्छन्।
मूलतः जीवाका घुम्ने तरिका तीनखाले छ– एनआरएन गतिविधि, व्यवसाय र पारिवारिक घुमाइ। जीवा भन्छन्, ‘म घुमेर थाक्दिनँ। यान्त्रिक जीवनबाट थाकेको मनले झन् शान्ति पाउँछ। जति घुम्यो त्यति बल प्राप्त हुन्छ।’
उनकी श्रीमती र दुई छोरा पनि घुमेर नथाक्ने स्वभावका रहेछन्। अझ अचेल त कतै घुम्न जानुअघि दुई छोराको प्रतिस्पर्धा नै चल्छ रे। ‘घुम्न जाने भनेपछि दुवै जना कोभन्दा को चाँडोजसरी गुगल सर्च गर्न थाल्छन्,’ उनले भने, ‘केही छिनमै दुवैले कहाँकहाँ घुम्ने सुझावसहितको कागज प्रिन्ट गरेर दिन्छन्।’
व्यवसायबाहेकको घुमाइमा जीवा पहिल्यै घुमिसकेको ठाउँ सकभर जान चाहँदैनन्। नयाँ ठाउँ नै रोज्छन्। कतै जानुअघिको दुई÷तीन घन्टा फुर्सद निस्क्यो भने पनि गुगल सर्च गर्छन् र भ्याउने ठाउँ छ भने घुमेरै छाड्छन्। हैन भने किताब पढ्छन्। दसवटा किताब पढ्नुभन्दा घुम्नु प्रभावकारी हुने उनको भनाइ छ।
थुपै्र देश जाँदा थुप्रै अनुभव हुने भइहाले। नेपाली पासपोर्ट देख्नेबित्तिकै सबै देशका सबैजसो अध्यागमन कर्मचारीको अनावश्यक केरकारबाहेक हरेक देश र ठाउँका फरक–फरक स्वाद चाखेका छन्। अझै पनि घुमिरहेका जीवाले पत्ता लगाएको कुरा हो, ‘यात्राको स्वाद चाखेर कहिल्यै सकिँदैन। जसरी जीवनयात्रामा सिकेर सकिँदैन।’
.jpg)
जीवा थप्छन्, ‘यात्राले सिकाउने मात्र होइन, पुराना धारणा परिवर्तन पनि गराइदिन्छ। हामीले टेलिभिजन हेर्दा, पुुुस्तक पढ्दा एकखाले धारणा बनाएका हुन्छौं। घुम्दा ती धारणा गलत नै नभए पनि त्यसको अर्को पाटो थाहा हुन्छ।’
उनी पछिल्लो उदाहरण दिन थाल्छन्– केही महिनाअघि उनी अफ्रिकाको मसाइमारा घुम्न गएका थिए। जंगली जनावरै जनावरको घना बस्ती। अगाडिबाट आइरहेको अर्नाको बथानसँग सिंहको बथानको आँखा जुध्यो। अर्नाहरु फरक्क फर्किए। सिंह आफ्नै धुनमा बसिरह्यो। कारण, सिंह अघाएका रहेछन्। जीवाको परिवारलाई घुमाउने गाडी चालक भन्छन्, ‘मान्छे मात्र त्यस्तो प्राणी हो, जो कहिल्यै अघाउँदैन।’
‘सिंह जतिखेरै हिंस्रक हुन्छ भन्ने बुझाइ थियो मेरो, त्यहाँ गएपछि होइन भन्ने थाहा पाएँ। त्यो कुरा मैले घुमेरै थाहा पाएको हुँ,’ उनले भने।
यात्राका क्रममा कति धेरै पात्रसँग उनको जम्काभेट भयो होला! कतिलाई दोहोर्याएर भेटे होलान्! कति मन परे होलान्! कति मन नपरे होलान्! तीमध्ये उनी सबभन्दा बढी कसलाई सम्झन्छन्?

उनी छन्नु महतोको नाम लिन्छन्।
छन्नु महतो माझी हुन्, जसले पहिलो विदेश यात्रामा हिँडेका जीवालाई बहुलाएको राप्ती नदी तारेका थिए।
जीवाको पहिलो विदेश यात्रा (सोभियत संघ) तय भएपछिको कुरा हो। घटना ३० वर्षअघिको।
यो पक्का हो, आकाशमा बाक्लो हुस्सु लागेर जहाज सही समयमा नउडेको हुन्थ्यो भने पनि जीवा सोभियत संघ पुग्थे।
यो पक्का हो, पाइलट जहाज उडाउने समयमा विमानस्थल नआइपुगेका भए पनि जीवा सोभियत संघ पुग्थे।
तर, त्यस दिन छन्नु महतो समयमा नआइदिएका भए उनी सोभियत संघ पुग्थे कि पुग्थेनन्, जीवालाई शंका छ।
छात्रवृत्तिमा सोभियत संघ पढ्न जाने पक्का भएपछि जीवा बाबुआमासँग विदा माग्न काठमाडौंबाट चितवन पुग्दाको घटना हो यो। रुस उड्नुभन्दा दुई दिनअघिसम्म राप्ती यस्तरी उर्लिएकी थिइन्, कसैगरी नदी तर्न सकिएला भन्ने आश थिएन। त्यसैबेला छन्नु महतो जीवाका सारथि बन्न आइपुगे।
छन्नुले आफ्नो डुंगामा नदी तारिदिने जोखिम लिएपछि छोरालाई परसम्म विदा गर्न बाबु पनि छोरासँगै नदीमा हेलिएका थिए।
त्यसयता जीवाले जिन्दगीका धेरै नदी तरिसकेका छन्। थुप्रै सफलताका सिँढी पनि उक्लिसकेका छन्।
तर, ३० वर्षअघि उर्लिएको राप्ती तारेर आफूलाई भविष्यतिर डोर्याउने छन्नुको सम्झना आजसम्म ताजै छ, जीवालाई। त्यही भएर दुई वर्षअघि उनले छन्नुलाई सम्मान पनि गरे।
...
र, अन्तिममा, घुम्नका लागि फुर्सद चाहिन्छ कि पैसा?
जीवा लामिछानेले तेस्रो विकल्प रोजे।
‘यी दुवै कुरा प्राथमिकतामा पर्दैनन्,’ उनले भने, ‘चाहना चाहिन्छ। चाहना भए सबै कुरा हुन्छ।’
तस्बिरहरुः अनिश रेग्मी/ सेतोपाटी
प्रतिकृया दिनुहोस
अन्तर्वार्ता
-
बच्चालाई खुसी पार्नुछ? किताब उपहार दिनु
बलराम अधिकारी - ‘के कुरा?’ ‘बाँदरले पनि हाम्रोजस्तै घर बनाउँछ नि।’ उसले त समाजबाट बाँदरले घर भत्काउँछ भन्ने सुनेको हुन्छ। त्यसैले ऊ भन्छ, ‘हैन, बाँदरले घर भत्काउँछ।’ ‘हैन, बाँदरले पनि घर बनाउँछ’ भन्दै म कथा सुरु गर्छु। ऊ झन् टाठो भएर कथा सुन्दै जान्छ। त्यो कथा सकिएपछि ऊ भन्छ, ‘अरु कथा पनि सुनाउनुस् न।’
ब्लग/रिभ्यु
-
चालिस वर्षपछि फेरि रुँदै देउराली
सेतोपाटी संवाददाता, काठमाडौं, जेठ १६ - मनबहादुर मुखियाले दार्जिलिङमा तयार पारेपछि सन् १९७२ मा उतैको मञ्चमा पहिलो प्रदर्शन भएको यो नाटक नेपालको भोगाइ देखाउँदै दार्जिलिङ पलायन हुने तन्नेरीहरुको कथामा आधारित छ। मुखियाले लेखेको र उतिबेला उनैले निर्देशन गरेको नाटक दार्जिलिङ र कालिम्पोङमा सफलतापछि काठमाडौं र मोफसलका केहि सहरहरुमा समेत प्रदर्शित भएको थियो। नेपालमा प्रदर्शित त्यो कालखण्डकै चर्चित नाटकहरुको सूचीमा यसको उल्लेख हुँदैआएको छ। उतिबेलाको यो चर्चित नाटकका नाटककार मुखियासमेत सोमबारको पहिलो प्रदर्शनमा उपस्थित थिए। यस नाटकलाई हाल शिल्पीमा प्रदर्शनका लागि जीवन बरालले निर्देशन गरेका हुन्।
-
कविता भेटियो
पुस्तक समीक्षा- सगरमाथाको गहिराइ
राम्जी तिमल्सिना - वर्तमान नेपाली जीवन र यसलाई प्रभाव पार्ने वस्तुस्थितिहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यो सङ्ग्रहका कविताका स्रष्टा नवराज पराजुलीले विशुद्ध नेपालीपनमा आफ्नो सक्कली लय र परिपक्व काव्यिक भाषा एवम् संरचनाको प्रयोग गरेका छन्। कविताले उठाएको विषयलाई उपयुक्त र आवश्यक सीमासम्म विस्तार गर्नुु उनका कविताको पहिलो शक्ति हो। जम्मा बीस शब्दमा सात हरफ बनेको “कम्पन” पनि आठ पृष्ठ फैलिएको “हेब्बी बड्डे” जत्तिकै पूर्ण लाग्दछ। कवितामा भन्नुपर्ने केही छुटेजस्तो र नभन्नुपर्ने केही भनेजस्तो नलाग्ने बनाउनु कठीन काम हो, जो नवराजले सहजताका साथ गरेका छन्।