'नेताहरु बढी बोल्छन्, उनीहरुको आवाजबाटै बिजुली निकाल्न पाए त!'

  • Get News Alerts

हावाबाट बिजुली निकाल्ने भाषण गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई सामाजिक सञ्जालमा ‘हावा’ भनियो। त्यही बेला ‘बिजुली मेसिन’ नामको फिल्मले भने हावाबाट होइन, आवाजबाट बिजुली निकाल्ने कुरा गर्यो। 
 
फिल्मको टिजरमा एक पात्र बुद्धि तामाङको संवाद थियो, ‘तेत्रा जलस्रोत हुँदा त बिजुली निकाल्न सकेन। के निकाल्थे हावाबाट बिजुली? उनीहरुलाई त हावा–हावा भाषण छाँट्न मात्र आउँछ।’
 
सामाजिक सञ्जालमा सरकार आलोचित भइरहँदा फिल्मको यस्तो टिजरले पनि सरकारलाई नै व्यंग्य गरेको प्रतित हुन्थ्यो।
 
‘पूरै व्यंग्य त नभनौं,’ हालैको भेटमा निर्देशक नवीन अवालले सेतोपाटीसँग भने, ‘संसारकै दोस्रो ठूलो जलस्रोत भएको मुलुकमा आवाजबाट बिजुली निकाल्ने कुरा गर्नु एक हिसाबले व्यंग्य नै हो। तर, यो त सानो कुरा मात्र भयो। फिल्मले भन्ने कुरा अर्कै र धेरै छ।’
 
यो फिल्मसँग दुईवटा संयोग जोडिएका छन्।
 
पहिलो, जतिबेला फिल्मको टिजर रिलिज भयो, ‘हावाबाट बिजुली निकाल्ने’ कुरा चुलिएको थियो।
 
अर्को, बिजुली अभाव र लोडसेडिङसँग जोडिएको यो फिल्म जतिबेला रिलिजको तर्खरमा छ, विद्युत प्राधिकरण काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त गराउने अभियानमा लागेको छ।
 
यसरी काठमाडौंमा लोडसेडिङ एकाएक हट्ला भनेर कल्पनासम्म नगरेका नवीन अवाललाई अहिले सोध्न मन लाग्छ, के सधैंका लागि लोडसेडिङ हराउला त?
 
प्रश्न आफ्नो ठाउँमा छ, तर नवीन ‘साइन्स फिक्सन’ बाट फिल्मी यात्राको सुरुआत गर्न पाएकोमा सन्तुष्ट छन्। हुन पनि विज्ञान–प्रविधिसम्बन्धि फिल्म त्यति नबन्ने अवस्थामा यो उनका लागि मात्र होइन, फिल्म क्षेत्रकै लागि नयाँ प्रयोग हो।
 
आवाजबाट बिजुली निकाल्ने कुरा गर्दा कतिले त ‘हावा कुरा’ पनि भनिसकेछन्। ‘धेरैको बुझाइ साइन्स फिक्सन भन्ने बित्तिकै सुपरम्यानजस्तो भन्ने छ,’ नवीन यसबारे प्रस्ट्याउँछन्, ‘यथार्थपरक पनि साइन्स फिक्सन हुन्छ। अर्को कुरा, आवाजबाट बिजुली निकाल्ने कुरा नौलो होइन। झन्डै १०० वर्षअघि नै यसबारे अनुसन्धान भइसकेको थियो र प्रमाणित पनि भइसकेको छ। नेपालमा पनि अनुसन्धान भइवरी सफल भइसकेको छ।’
 
त्यसो त नवीनले आवाजबाट बिजुली निकाल्नैपर्छ भन्न खोजेका होइनन्, आविष्कार गर्न खोज्ने युवाको भोगाइ समेट्न खोजेका हुन्। जसमध्ये एक युवा नवीन आफैं हुन्, जो कुनै समय लोडसेडिङकै कारण झन्डै विदेश पलायन भइसकेका थिए।
तर, समय यस्तो पनि थियो, नवीनलाई लोडसेडिङ मन पर्थ्यो।
 
ललितपुरको कुपन्डोलमा हुर्केका उनी होमवर्क गर्नको गाह्रोले बत्ती गइदेओस् भन्ने सोच्थे। स्कुलबाट घर आइपुग्नेबित्तिकै बत्ती भएका बेला, टिभीको रिमोट उनको हातमा पुग्थ्यो। बाबुआमाले पढ्न कर गर्दा उनी भन्थे, ‘एकछिन टिभी हेर्छु अनि...।’ तर रिमोट खोसेर आमाले उनलाई जबरजस्ती पढ्न लगाउँथिन्।
 
जब बत्ती जान्थ्यो, उनी फुरुंग पर्थे। दगुरेर चौरमा पुग्थे। साथीभाइलाई भेला पार्थे अनि अघि भर्खर टिभीमा हेरेको नक्कल गर्थे। भिलेन बन्नेले कुटाइ मात्र खाने, हिरो बन्नेले कुट्ने मात्र।
 
यही ग्याङमा विनोद खनाल नामका एक साथी थिए, जो हरेक दिन फिल्मको कथा सुनाउँथे। दिनहुँ सुनाउनलाई पुग्ने कथा उनीसँग हुँदैनथ्यो क्यार! एउटै कथा दोहो¥याई–तेहे¥याई सुनाइराख्थे।
 
‘हामी निकै चाख दिएर उसको कथा सुन्थ्यौं,’ नवीनले बाल्यकाल सम्झिए, ‘उसको कथावाचन यति रमाइलो थियो, पहिल्यै सुनाएको कथा रहेछ भन्ने कुरा त लास्टमा मात्र थाहा हुन्थ्यो। उही कथा भए पनि हामीलाई कहिले पनि पुरानो लाग्थेन।’
 
साथीको कथावाचनबाट उनको मनमा कल्पनाशिलताले बुर्कुसी मार्न थाले। यसपछि उनी फिल्मको मात्र भर परेनन्, आफैं कथा जन्माउन थाले। ती कथामा फिल्मकै प्रभाव बढी हुन्थे। लोडसेडिङ हुनेबित्तिकै दौडिएर चउरमा पुग्ने, टोले ग्याङलाई लिएर आफ्ना कथामा फिल्म बनाउने। कुटाई खाने, कुट्ने। यस्ता क्रियाकलाप बाल्यकालका उनका दैनिकीजस्तै थिए।
 
कार्टुनबाट सुरु भएको उनको टिभी हेराइ समयक्रमसँगै सुपरहिरोवाला फिल्मतिर बढ्यो। तिलस्मी कथानक फिल्मसँगै वैज्ञानिक तर्क भएका फिल्मले पनि उनलाई उत्तिकै लोभ्याउन थाले।साइन्स फिक्सन फिल्ममा उनको रस पस्यो।
 
एसएलसीपछि उनले पढ्ने विषय पनि साइन्स नै छाने। यसपछि त झन् खोजी–खोजी साइन्स फिक्सन फिल्म हेर्न थाले। 
 
एकातिर उनी फिल्म निर्देशनतिर लाग्न चाहन्थे भने अर्कातिर वैज्ञानिक आविष्कार पनि उनको रुचि थियो। नयाँ–नयाँ कुरा सोच्न फिल्मले सघाउँथ्यो। अर्कातिर त्यस्ता फिल्ममा उनले पहिल्यै सोचिसकेका विषय पनि फेला पर्थे। थुपै्र फिल्मसँग आफ्नो सोच मिलेपछि उनलाई लाग्यो, ‘म फिल्मकै लागि ठिक छु।’
 
जति सजिलो गरी उनले आफ्नो रुचि पत्ता लगाएका थिए, त्यो ठाउँ भेट्न उनलाई यति संघर्ष पनि गर्नु परेन। एक चिनजानका दाइबाट सम्पादनको अलि अलि ज्ञान बटुले। गुगलबाट किताब डाउनलोड गर्दै, पढ्दै, सम्पादन सिके। यसरी सिक्ने क्रममा काठमाडौं विश्वविद्यालय उनको ठूलो पाठशाला बनिदियो। तर, पढेर होइन, गरेर।
 
भएछ के भने, स्नातकोत्तरको अन्तिम वर्षमा विद्यार्थीहरुले सर्ट फिल्म बनाउनुपर्ने रहेछ। चिनजानको सञ्जालबाट पहिलो वर्ष उनले एउटा सर्ट फिल्म सम्पादन गरे। दोस्रोे वर्षदेखि त कथा लेख्ने, सम्पादन गर्नेदेखि निर्देशन गर्नेसम्म सबै काम उनले पाए। त्यसपछिका वर्षमा उनले वर्षकै चारवटासम्म सर्ट फिल्म पाए। यसरी उनले जम्मा १३ वटा सर्ट फिल्म बनाए। र, फिल्म मेकिङमा निकै ज्ञान बटुले।
यसकै माध्यमबाट उनी विज्ञापन निर्देशनसम्म आइपुगे। फिल्म सिक्न जस्तोसुकै काम गर्न पछि नपर्ने उनी निकै सस्तोमा काम गरिदिन्थे। त्यसकारण काम पाउन त्यति गाह्रो पनि थिएन। पछि त नेपालका चर्चित ब्रान्डका विज्ञापनको जिम्मा पनि पाए। विज्ञापन निर्माण/निर्देशनमा चिनिँदै गएपछि आफैंले कम्पनी खोले।
 
जतिबेला उनले थुप्रै सपना साँचेर आफ्नो कम्पनी खोलेका थिए, त्यति नै बेला कम्पनी लोडसेडिङको मारमा प¥यो। ‘यस्तो बेला टिभी हेरिँदैन भनेर कसैले काम नै दिँदैनथे,’ उनले सुनाए, ‘दिइहाले पनि बत्ती नहुँदा समयमा काम नै गर्न नसकिने। त्यतिबेला म निकै निराश थिएँ।’
 
उनलाई लाग्यो, ‘अब विदेश जान्छु।’
 
उनले अस्ट्रेलिया जाने प्रक्रिया थाले।
 
तर, उनलाई त फिल्म बनाउनु थियो। दुई÷तीनवटा स्क्रिप्ट लेखिरहेका थिए। बेला–बेला झल्याँस्स हुन्थे। झ्वाट्ट बच्चा बेला हेरेका फिल्मका पात्र सम्झिन्थे। अनि सोच्थे, ‘आफूसँग एउटा यस्तो जादु होस्, जसले सधैंका लागि लोडसेडिङ अन्त्य गर्न सकियोस्। कहिलेकाहीँ त आफू एक्लैले लोडसेडिङ हटाएको सपना पनि देख्थेँ।’
 
विदेश जाने प्रक्रिया थाले पनि उनले आफूलाई सम्हाले। यसो सोचे, ‘पैसा कमाउनकै लागि म आफ्नो सपना मारौं? उता गएँ भने त म बिलाउँछु पो त।’
 
अनि अडान लिए, ‘म फिल्म बनाएर देखाउन लैजान्छु, काम गर्न होइन।’
 
‘सर्ट फिल्म र विज्ञापनको आइडियाले मात्र फिचर फिल्ममा एकैचोटि आँट गर्नु मुर्खताजस्तो लाग्यो,’ उनले भने, ‘अलि मेहनत गरेर लामै सर्ट फिल्म बनाएर मात्र फिचर फिल्म बनाउँछु भन्ने सोचेर वन पर्सेन्ट बनाएँ।’ जुन नेपाल र विदेशका केही देशका फिल्म फेस्टिभलमा छानिए।
यो फिल्म बनाइरहँदा पनि उनी उत्तिकै लोडसेडिङको मारमा परे। राजनीतिप्रतिको रिस छँदै थियो, सानोमा मनमा गडेका फिल्मी पात्र पनि थिए। लोडसेडिङ हटाउने अनेक आइडिया फुर्थे, जुन विज्ञानसम्मत थिएनन्। यत्तिकैमा यस्तो आइडियो फु¥यो, ‘नेताहरु भाषण मात्र गर्छन्। कामचाहिँ नगर्ने, बढी बोल्ने। तिनीहरू यति धेरै बोल्छन्, त्यसबाट बिजुली निकाल्ने हो भने देश नै झलमल्ल हुन्छ। यस्तै फिल्म बनाउनुपर्छ कि क्या हो?’
 
उनले गुगल गरे, आवाजबाट बिजुली निकाल्न सकिन्छ?
गुगलले सजिलै भनिदियो, ‘सकिन्छ।’
 
अमेरिकामा वैकल्पिक ऊर्जाबारे अनुसन्धान गरिरहेका उनका बालसखा सन्तोष लामिछानेसँग पनि सोधे, ‘नेपालमा यस्तो सम्भव छ?’
 
सन्तोषले पनि भनिदिए, ‘छ।’
 
उनले फिल्मको स्क्रिप्टमा नेताको भाषणबाट बिजुली निकाल्ने कुरा भने राखेनन्। ‘सुरुमा त यति धेरै सोच आउँथ्यो, जुन लजिकल नै थिएन,’ उनले भने, ‘विस्तारै आफ्नो कल्पनाशिलतालाई अर्कै तरिकाले प्रयोग गरेँ र लजिकल कुरा मात्र राखेँ।’ फिल्मका ‘साइन्टिफिक कन्सल्ट्यान्ट’ बनेका उनका साथी सन्तोष लामिछानेले पनि निकै सघाए।
 
स्क्रिप्ट त तयार भयो, तर लगानी गर्ने कसले?
आफूसँग जम्मा भएको पैसाले नपुग्ने पक्कापक्की थियो। लगानीकर्ता खोज्दै केही समय भौंतारिए पनि। लगानी गर्न चाहनेहरू भन्दा रहेछन्, ‘स्टार भएन, आइटम गीत हाल’ यस्तैयस्तै।
 
नवीनले सोचे, ‘उनीहरूले भनेजस्तै गर्ने हो भने त मैले बनाउन खोजेको फिल्म नै बन्दैन।’
 
उनले अगाडि थपे, ‘स्क्रिप्ट लेख्दा जे–जे फिट हुने सोचेको थिएँ, तलमाथि गर्दा फिल्म पूरै भत्किन्थ्यो। त्यसपछि हामी साथी–साथी मिलेर लगानी ग¥यौं।’
 
जसले लगानी गरे पनि फिर्ता हुनुपर्छ भन्ने मान्यता छ उनको। विज्ञानको विषय भए पनि जटिल तरिकाले प्रस्तुत नगरेकाले दर्शकले नयाँ ज्ञानका साथै मनोरञ्जन पनि पाउने उनको भनाइ छ। ‘हाँस्नुलाई मात्र मनोरञ्जन मानिँदैन,’ उनले भने, ‘मैले मनोरञ्जन भन्न खोजेको फिल्म हेरेपछिको आनन्द हो। फिल्म मन पर्ला–नपर्ला। यतिचाहिँ भन्न सक्छु, फिल्मले बच्चादेखि बूढासम्मलाई आनन्द दिन्छ।’
 
फिल्ममा आवाजबाट बिजुली निस्किएर देश झलमल्ल होला?
 
सुरुमा त उनी हाँसे।
 
‘कथा खुल्न सक्छ त्यसकारण अहिले भन्न मिल्दैन,’ उनले भने, ‘यो एउटा आविष्कारको कथा हो। हाम्रा देशमा नयाँ–नयाँ आविष्कार गर्न खोज्ने थुप्रै युवा छन्। तर, उनीहरूको आवाज सुनिँदैन। आफैं गर्न खोज्दा पनि सानातिना समस्याले रोक्छन्। जस्तो, बिएस्सी पढ्दा मैले टेलिस्कोप बनाउन खोज्दा सानातिना सामान नपाएर थुप्रैपटक भौंतारिनु परेको थियो।’
 
‘आवाज भनेको ऊर्जा हो,’ उनले अगाडि भने, ‘फिल्मले आवाजलाई बिम्बको रुपमा प्रयोग गरेको छ। युवाको आवाज भनेको ऊर्जा हो। प्रकाश हो। त्यसलाई सदुपयोग गर्न जान्नुपर्छ भन्न खोजेका हौं।’

 

प्रतिकृया दिनुहोस