भारतीय गायक अभिजीतको ह्यान्डल ट्वीटरद्वारा निष्क्रिय

  • Get News Alerts

भारतीय गायक अभिजीत भट्टाचार्यको ट्वीटर ह्यान्डल ट्वीटरले नै निष्क्रिय पारिदिएको छ। घृणा फैलाउने र महिलालाई अपमान गर्ने ट्वीट गरेको भन्दै अभिजीतको ह्यान्डल ट्वीटरले निष्क्रिय पारिदिएको हो।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर समर्थक अभिजीतले सोमबार भारतीय जनता पार्टीका एक नेताको यौन काण्डको समाचारबारे  महिलालाई आरोप लगाउँदै ट्वीट गरेका थिए। उनले जवाहरलाल नेहरु विश्वविद्यालयकी विद्यार्थी शिला रसिदको चरित्रहत्या गर्ने ट्वीट गरेका थिए। 
 
त्यस्तै केही दिनअघि उनले ट्वीटरमै अर्की एक महिला प्रयोगकर्तालाई अश्लिल अर्थ लाग्ने ट्वीट गरेका थिए। गत वर्ष पत्रकार श्वती चतुर्वेदीले घृणा फैलाउने ट्वीट गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि अभिजीत प्रक्राउ परेका थिए।  धरौटीमा रिहा भएका अभिजीतले रुँदै गल्ती नदोहोर्याउने बताएका थिए। 
 
तर पछिल्लो समय उनी फेरि घृणा फैलाउने ट्वीट गर्न लागेका थिए। समाचार संस्था पिटिआईसँग कुरा गर्दै अभिजीतले आफ्नो ह्यान्डल निष्क्रिय हुनुमा भारतीय लेखिका अरुन्धती रोय र जेएनयूलाई सहयोग गर्नेहरुको हात रहेको बताएका छन्।

ह्यान्डल निष्क्रिय भएको आफूलाई कुनै मतलब नभएको भन्दै उनले सारा भारतीय आफ्नो पक्षमा रहेको जिकिर गरेका छन्।  ट्वीटरले अभिजीतको ह्यान्डल सधैँका लागि निष्क्रिय गरेको हो वा केही समयपछि सक्रिय हुन्छ भन्ने खुलाएको छैन। 
 
अभिजीतको ह्यान्डल निष्क्रिय भएपछि उनका समर्थकले ‘आइस्टाण्ड विथ अभिजीत’ ट्रेन्ड बनाएर ट्वीट गरिरहेका छन्। 
 
अभिजीतको ह्यान्डल निष्क्रिय भएपछि अर्का गायक सोनु निगमले  मंगलबार ट्वीटर छोड्ने घोषणा गरेका छन्। उनले ट्वीटर एकपक्षीय भएको र सन्तुलित कुरा समेट्न नसक्ने भएकाले आफूले ट्वीटर छोड्न लागेको बताएका छन्। 
 
केही दिन अघि बिहान मस्जिदमा बज्ने आजानबारे निगमले गरेको ट्वीटबारे विवाद भएको थियो।  
 

प्रतिकृया दिनुहोस