चालिस वर्षपछि फेरि रुँदै देउराली

  • Get News Alerts

चार दसकअघि दार्जिलिङबाट आएर नेपालका रंगमञ्चहरुमा चर्चित बनेको नाटक ‘अनि देउराली रुन्छ’को राजधानीमा पुनःप्रदर्शन सुरुभएको छ। सोमबार बत्तीस पुतलीस्थित शिल्पी थिएटरमा यसको पहिलो प्रदर्शन गरियो। 
 
मनबहादुर मुखियाले दार्जिलिङमा तयार पारेपछि सन् १९७२ मा उतैको मञ्चमा पहिलो प्रदर्शन भएको यो नाटक नेपालको भोगाइ देखाउँदै दार्जिलिङ पलायन हुने तन्नेरीहरुको कथामा आधारित छ। मुखियाले लेखेको र उतिबेला उनैले निर्देशन गरेको नाटक दार्जिलिङ र कालिम्पोङमा सफलतापछि काठमाडौं र मोफसलका केहि सहरहरुमा समेत प्रदर्शित भएको थियो। नेपालमा प्रदर्शित त्यो कालखण्डकै चर्चित नाटकहरुको सूचीमा यसको उल्लेख हुँदैआएको छ। उतिबेलाको यो चर्चित नाटकका नाटककार मुखियासमेत सोमबारको पहिलो प्रदर्शनमा उपस्थित थिए। यस नाटकलाई हाल शिल्पीमा प्रदर्शनका लागि जीवन बरालले निर्देशन गरेका हुन्।
 
नाटक दोलखातिरको ग्रामीण परिवेशमा आधारित छ। त्यस भेगका तन्नेरीहरु पलायन भएर दार्जिलिङ पुगेको यथार्थ सुरुमै वर्णन हुन्छ। तर, किन तन्नेरीहरु वाहिरिन विवश हुन्छन् भन्ने प्रश्नको उत्तर दिनका निम्ति भने करिब डेढ घन्टा लामो नाटकले त्यस भेगलाइ ग्रस्त पारेको सामन्ती परिवेश उघारेको छ।
 
पहाडी जटिलताले दिएका दुःखकै बीच पनि आफ्नै सुरमा रमाएर बाँचिरहेका तन्नेरीहरुको रमाइला दृश्य सुरुमा देखिन्छ। त्यसपछि छोरीको बिहे गर्न साहुको रिन बोक्ने बाबुको भोगाइ सुरुहुन्छ। साहुका अनेक शोषण त छँदै छ, त्योभन्दा ठूलो षडयन्त्र ती साहुका सहयोगीले रच्छन्। एउटा परिबन्दको सिर्जना हुन्छ। गाउँघरमा विकास भएका सम्बन्धहरुमा उथलपुथल मच्चिन्छ। एकजनासँग विहे गर्न जन्ती लिएर गएको बेहुला अर्कै बेहुली लिएर फर्कन्छ। अर्कै युवकसँग वाचाबन्धन गरेकी युवती अर्कैकी पत्नी बन्छिन्। 
 
अन्तिममा षडयन्त्र सफल हुन्छ। कोहि मारामार गरेर सिद्धिन्छन् भने कोहि घरखेतमा साहुले ताला लगाएपछि पलायन हुन्छन्।
 
यसरी वियोगान्त नाटक भएर पनि यसले बोकेको स्थानीयताको स्वादले दर्शकलाई हेरुन्जेल बाँधेर राख्छ। राणाकाल तिरको परिवेशलाई आधारित बनाएर तयार पारेको नाटक भएता पनि यति लामो अन्तरालमा समेत हाम्रा गाउँघरका परिदृश्य खासै फेरिएका छैनन्। कमाउनका निम्ति विदेशिनेको संख्या झनै बढेर गएको छ। साहुका रिन र तिनका आसेपासेले दिने दुःखका भोगाइहरु अहिले पनि उत्तिकै सान्दर्भिक भएकाले दर्शक मनलाई छुन्छ।
 
नाटकसँग जोडिएको अर्को महत्वपूर्ण पाटो भनेको सांगीतिक रुझान भएका दर्शकहरुलाई यसले दिने रमाइलो ‘नोस्टाल्जिया’ हो।
 
मुखियाकै शब्दमा उतिबेलै कर्म योन्जनले दिएका संगीत र कुमार सुब्बा अनि दुर्गा खरेलजस्ता गायकहरुको स्वरमा तयारभएका कालजयी गीतहरु यस नाटकका अंश हुन्।
 
गाउँ गाउँ डुल्दै यसका गाइनेले सुनाउने ‘सारंगीको तारले मेरो मनको गीत गाउँछ’ होस् वा विहेमा जम्मा भएका तन्नेरी तरुनीले जुहारी खेल्दै ‘देउरालीका ठिटी हो नक्कल पार्नु पर्दैन’ले सदाबहार नेपाली गीतका श्रोताहरुलाई त्यसको परिवेश हेर्न सघाउँछ। त्यसैगरि कुमार सुब्बाले नै गाएको यो नाटकको ‘हे फूल चुँडेर लाने हो, यहाँ माली रोएको देख्यौ कि?’ गीतले त कुनै समय नेपाली सांगीतिक क्षेत्रमा छोरी विदा गर्दा गाइने गीतहरुको ‘ट्रेण्ड’ नै सुरुगराइदिएको थियो। नाटकमा अन्य गीतहरु पनि परिस्थिती अनुसार सजाएर राखिएको छ।
 
‘उतिबेला मैले यथार्थवादी परम्परा पछ्याएर घरको आँगनबाट नाटकको सुरुवात गरेको थिएँ,’ नाटककार मुखियाले चार दसकपछिको आफ्नै नाटक अनुभवपछि सेतोपाटीलाई भने, ‘अहिले नयाँ निर्देशक भाइले चाहिँ आफ्नै हिसाबले फरक पहाडी परिवेश तयार पार्नुभएको रहेछ।’
 
यसरी सुरुमा आफूले नै निर्देशन गरेको नाटकलाई यतिबेला समयअनुसार फेरबदल गरिएको जानकारी मुखियाले दिए। ‘यसमा चित्त बुझ्ने नबुझ्ने भन्दा पनि यो फरक निर्देशकको फरक प्रस्तुती हो,’ मुखियाले थपे, ‘यति लामो समयपछि फेरि मेरो नाटक दर्शकहरु माझ आउन पाएकोमा खुशी छु।’
 
यो नाटकसँगै दार्जिलिङ छाडेर काठमाडौंमै अध्यापनका हिसाबले बसोबास गर्दैआएका मुखियाको मूलथलो पनि दोलखा नै हो। केहि उतिबेला पूर्खाले थातथलो छाडेर जाँदाको भोगाइ र केहि कल्पनाशिलता प्रयोग गरेरै आफूले नाटक तयार पारेको उनले जानकारी दिए।
 
नाटकमा निरज सुवेदी, लुनिभा तुलाधर, चन्द्रप्रसाद पाण्डेय, पवित्रा खड्का, अनिल सुब्बा, जान्वी बोहरा, सुमन कुइँकेल, कोपिला ढकाललगायतले अभिनय गरेका छन्। शिल्पी कला समूहका अध्यक्ष कुमार आलेले यसको मञ्च व्यवस्थापन गरेका हुन्।शिल्पी थिएटरमा यो नाटक असार ५ गतेसम्म मंगलबारबाहेक हरेक दिन बेलुकी पाँच बजे प्रदर्शित हुनेछ। 

प्रतिकृया दिनुहोस