कविता भेटियो

  • Get News Alerts

पुस्तक समीक्षा- सगरमाथाको गहिराइ
गत छ–सात वर्षदेखि नेपाली भाषामा लेखिदै गरेका असली कविताहरूको खोजीमा भौतारिइरहेको छु। मेचीदेखि महाकाली र त्यसभन्दा पर एशियादेखि अमेरिकासम्मका थाहा पाएसम्म र कुनै पनि माध्यमले प्राप्त हुन सकेका “कविता सङ्ग्रह” नाम राखिएका पुस्तकहरू बटुलेको छु; पढेको छु। कैयौँ “कविता समारोह” नाम दिइएका भीडहरूमा घण्टौँ टोलाएको छु; स्टेजमा पुग्ने भ्यागुताहरूको हल्ला पनि बेहोरेको छु। योजना आयोगका फेहरिस्तहरू बोकेर गाउशहर डुलिहिड्ने महामहिमहरूलाई कवि भनेर कार्यक्रमहरूमा कविताको हुर्मत लिन लगाइएका दृश्यहरू पनि झेलेको छु। नाक, जाङ, रङ र वादका आत्मालापहरूलाई महान् कविता ठान्ने रु. दशका प्रचारसामग्रीहरूको दुरुपयोगले प्रत्येक हप्ता कुटिएको पनि छु। हैरान छु फेसबुकका भित्तामा कविताको चीरहरणको साक्षी बस्नुपरेर। जीवनका कति महत्वपूर्ण दिनहरू खेर गएका छन् पृष्ठहरूको थुप्रोले बनेका महाकाव्य भित्रका रित्ता हरफहरू छिचोल्दा। 
 
एक पूर्ण कविता र त्यसमा पनि सबै पूर्ण कविताहरूले बनेको पूर्ण सङ्ग्रहको खोजी साँच्चै कठिन काम रहेछ भन्ने थाहा पाउँदै गर्दा भानुभक्त, लेखनाथ, देवकोटा, रिमाल, भूपी, कोइराला, घिमिरे, काइला, दिवस, कृष्णभुषण, मुकारुङ र मन्जिलहरूले कविताको सिर्जना र तिनको सम्बद्र्धनमा बेहोरेका दुःखहरूको पनि कल्पना गरेको छु। अहिले हुर्कँदै गरेका कविहरूले कविताप्रति इमानदार भएर काम गरिदिए नेपाली कविताको भविष्य उज्वल हुने सम्भावना देखेर यदाकदा खुशीका झिल्काहरू बटुलेको पनि छु; उनीहरूलाई लागेको गैरकविताको मात देखेर पटकपटक दिक्क पनि भएको छु। यस्तै हो भने नेपाली कविताको भविष्य के होला भन्ने प्रश्नले मर्माहत पनि।
 
समीक्षक राम्जी तिमल्सिना

तर २०७४ वैशाखको तेस्रो सातादेखि म निकै प्रसन्न छु। मैले कमसेकम एउटा नयाँ तारा भेटेको छु नेपाली कविताको आकाशमा। मेरो व्यक्तिगत चिनजान नभएको त्यो कवि भन्न लायक नेपालीलाई उसको कविता सङ्ग्रह सगरमाथाको गहिराइभित्र भेट्दा मैले कवितामा आफैँलाई भेटेकोजस्तो सन्तुष्टि पाएको छु।

 
वर्तमान नेपाली जीवन र यसलाई प्रभाव पार्ने वस्तुस्थितिहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यो सङ्ग्रहका कविताका स्रष्टा नवराज पराजुलीले विशुद्ध नेपालीपनमा आफ्नो सक्कली लय र परिपक्व काव्यिक भाषा एवम् संरचनाको प्रयोग गरेका छन्। कविताले उठाएको विषयलाई उपयुक्त र आवश्यक सीमासम्म विस्तार गर्नुु उनका कविताको पहिलो शक्ति हो। जम्मा बीस शब्दमा सात हरफ बनेको “कम्पन” पनि आठ पृष्ठ फैलिएको “हेब्बी बड्डे” जत्तिकै पूर्ण लाग्दछ। कवितामा भन्नुपर्ने केही छुटेजस्तो र नभन्नुपर्ने केही भनेजस्तो नलाग्ने बनाउनु कठीन काम हो, जो नवराजले सहजताका साथ गरेका छन्। 
 
उनका अधिकांश कविताहरू आफैँमा समसामयिक जीवनका धमिला पक्षहरूमाथिका कडा तर काव्यिक प्रश्नहरू हुन्। उनको मूल कविता “सगरमाथाको गहिराइ”देखि नै शुरु हुुुने यो शृङ्खला हेर्दा लाग्दछ कि यो सङ्ग्रह प्रश्नहरूको हिमाल हो; प्रश्नहरूको डङ्गुर होइन। यसरी यो आफैँमा एउटा राजनीतिक काव्य हो जसले नेपाली समाजको वर्तमान राजनीतिलाई विशुद्ध काव्यिक शैली, संरचना, लय र भाषामा प्रस्तुत गरेको छ। ठाडो गाली र प्रतिशोधी भावले मात्र कवितालाई राजनैतिक बनाउँछ भन्ठान्ने र त्यस्तै बेढङ्गी बातहरू जोडजाड पारेर कवि भइटोपलेका र एउटै दलमा पर्नगएकाले तिनैलाई महान् क्रान्तिकारी कवि र कविता मान्दै आएकाहरूले यो सङ्ग्रहमा राजनीतिक कविता छैनन् भने भने साँच्चै कविता बुझ्नेहरूले अचम्म पनि मान्नुपर्दैन। “सीमाना”मा प्रयोग गरिएको कल्पना र त्यसले बनाएको चित्रको उत्कर्षमा ‘वर्षौँदेखि हाम्रो बादलको पछाडि जो लुुकिरहेको छ- आखिर वो है कौन!’ भन्दै गर्दा कविले यस देशका राजनीतिक दलहरूले दशकौँदेखि लेख्दैआएका दस्तावेजका डङ्गुरहरूले भन्नसकेको भन्दा बढ्ता राजनीति लेखेका छन्; काव्यिक कल्पना, भाषा र शैलीमा। उनको “सेल्फी” कविताले तराइको वर्तमान राजनीतिक जटिलताका कारणलाई भित्रैसम्म बुझेर प्रस्तुत गरेको छ। त्यस्तै “भाषण”, “पीरती”, “चाह”जस्ता कविता पढेर राजनीतिक कविता लेख्नेहरूले नवराजलाई गुरू थाप्न सक्दछन्। 
 
वर्तमान समयमा जेष्ठ नागरिकहरूले भोग्नुपरेको पीडाको “रूख”मा गरिएको जस्तो चित्रण अन्यत्र कमै पढ्न पाइन्छ। कविता बन्न भाव, विचार र यथार्थको मीठो मिलन कति आवश्यक छ भन्ने यो कविताले उदाहरण दिएको छ। उता “प्रहरी”ले देखाउँदछः वास्तविक देशभक्ति भनेको के हो, र देशभक्तहरूको हविगत के छ हाम्रोमा! “ब्रह्माजीको रजस्वला”, “सतीदेवीको गाण्डिव”, “डढेको इन्द्रेणी”, “दिदी” र “दाइजो”मा नारीवादका सबै पाठहरू पढ्न सकिन्छ। ‘बाका कुच्चिएका नियमहरूले बनेको उध्रिएको बोरा’ नै हो हाम्रो समाज भन्ने कविको बुझाइलाई “दिदी”मा गरिएको नारीको चित्रण र “सतीदेवीको गाण्डिव”मा परेका ‘शिरमा मान नभएका मेरा श्रीमान्’ तथा ‘मेरा पति बस्ने वधशालाको आँगन’जस्ता हरफहरूले जोडदार बनाएका छन्। 
 
समाजमा व्याप्त नकारात्मकतामा परिवर्तन आवश्यक देखाउने उनका कविताहरूमा व्यङ्ग्यको पनि प्रशस्त प्रयोग गरिएको छ। “च्याउ”, “वामपन्थी लभ” र “लोकसेवा आयोग” यस्ता प्रतिनिधि कविता हुन्। उता “सपना” र “बिहे”ले जीवनका साश्वत सत्यहरूलाई पहिल्याएका छन्। 
 
शैलीका दृष्टिले पनि नवराजका कविता सम्झन योग्य छन्। कविले कसरी नयाँ कोणबाट जीवन र जगत्लाई हेर्न सक्दछन् भन्ने देखाउँदछ “जुठो माया”ले। त्यही कवितामा प्रयोग भएका ‘हिमालौँ लिटर’, ‘पहाडौँ पाथी’, र ‘तराइयौँ केजी’जस्ता अभिव्यक्तिहरूले एकसाथ राष्ट्रप्रेम, भाषिक खेल र कल्पनाको नवीनता देखाएका छन्। सङ्ग्रहको शीर्षक नै यस मामिलामा अब्बल छ। सगरमाथाको उचाइ त सबैले देख्छन्, तर यसको गहिराइको खोजी गर्ने सामथ्र्य कविसँग मात्र हुन्छ। उनले प्रयोग गरेका बिम्ब, प्रतीक, विषय, भाव र संस्कृति सबैमा विशुद्ध नेपालीपन पाइन्छ। प्रत्येक कविताको ‘टोन’ मौलिक नेपाली जीवनको लयबाट निकालिएको छ। वास्तविक जीवनमा जसले जोसँग जसरी बोल्दछन्, त्यही शैलीमा बोल्दा पनि कसरी कविताको भाषा सिर्जना गर्न सकिन्छ भन्ने प्रमाण भएको छ यो कृति। यी सबैभन्दा माथि छ उनका कवितामा गरिएको सङ्गीतको सिर्जना र त्यसको कविताको विषय र भावसँगको सुन्दर एवम् परिपक्व तालमेल। विस्तारै बग्ने लय र त्यसमा समेटिने नेपाली जीवनको सौन्दर्यले हिमनदीको बहावको सम्झना गराउँदा माटो, मन र मस्तिष्क एकैसाथ उद्धेलित हुन्छन् पाठकभित्र। अलि अलमलिएको “यसपाली यस्तै भयो” पनि सङ्गीत र नाटकीय शैलीले अन्य कमजोरी छोपेर उभिएको छ। ‘स्ल्याम’ कविताको शैलीको प्रयोगले नेपाली कवितामा नवीन सौन्दर्य पनि भित्र्याएको छ। 
 
सङ्ग्रह भित्रैका “हेब्बी बड्डे”, “रूख”, “प्रहरी”, “बुद्धको टाउकोको मोल”, “सगरमाथाको गहिराइ” र “बुबा”जस्ता कालजयी कविताहरूले बोकेको विषय, भावना, शैली र चिन्तनको संयोजनमा बनेको प्रभावकारी उचाइसँग तुलना गर्दा भने अन्य कविताको उचाइ कम छ। विचार, भाषा र शैलीमा सशक्त भएर पनि “वामपन्थी लभ”, “उपहार”, “मोक्ष”, “सुहागरात” र “हामी”मा भावनाको गहिराइको अभाव हुँदा यिनीहरू मूर्तिजस्ता भएका छन्। यस सङ्ग्रहका कविताहरूको अर्को सशक्त पक्ष विचारोत्तेजक शुरुवात र चोटिलो अन्त्य हो। तर “रूख”जस्तो कविताको चाहिँ अन्त्य चित्तबुझ्दो छैन। यस्तै समग्रमा दुःख र नकारात्मकताको आँखाले जीवनलाई बढ्ता हेरिएको छ। दुःखैको बीचमा रमाउनसक्ने विशिष्ट नेपालीपन उनको कविताबाट विदेशिदा मौलकताको एक पाटो छुटेको छ। केही कविता भाषिक खेलमा अब्बल हुँदाहुँदै पनि जबरजस्ती लेखिएका देखिन्छन्। सहजता र स्वाभाविकता कविताका आधारभूत गुण हुन्। ठाउँठाउँमा अङ्ग्रेजी मेटाफिजिकल कविताको शैलीसँगको अधिक प्रेमले बनेका बिम्बहरूले पाठकलाई खीरसँग ढुङ्गा चपाउन बाध्य बनाएका छन्। कुनै कुनै कवितामा पाइने कथ्य र तर्कको विरोधाभाष पनि प्रश्न गर्न लायक छ। 
समग्रमा धर्म, राजनीति, जीवन, दुःख र देश कसरी कवितामा एकसाथ अटाउन सक्दछन् भन्ने सशक्त प्रमाण हो यो कविता सङ्ग्रह। पाठकहरूलाई ‘विपनाबाट व्यूँझाएर सपनामा’ पु¥याउने क्षमता बोकेका निकै कविताहरू कसरी फुटकर कविताले पनि रसको उच्च काव्यिक आनन्दको तहमा पु¥याउन सक्दछन् भन्ने सफल उदाहरण भएका छन्। निर्धक्कसँग भन्न सकिन्छ कि नवराजको यो सङ्ग्रह पाठकहरूले खोजीखोजी पढ्न लायक छ। यसलाई अझ नपढीनहुने चाहिँ हाम्रा कवि र समालोचकहरूले हो; नेपाली कविताको उचाइ र व्याप्तिको परीक्षा दिने र लिनेहरूले हो। थप यो पनि भन्न सकिन्छ कि अहिले देखिएका केही अपूर्णतालाई ध्यानपूर्वक सच्याएर यसै मार्गमा हिँडेभने नवराजले कविताका दुई–चारवटा पुस्तक छापेपछि निराश भएर अन्य विधाको शरण माग्नुपर्ने छैन। पहिलो पुस्तक सफल भएकाहरूको दोस्रो पुस्तक नपढ्ने मेरो पाठकीय रणनीतिलाई असफल पार्नेगरी उनको कविता यात्रा अगाडि बढोस्। शुभकामना!

प्रतिकृया दिनुहोस