सिनेमा सयर

  • Get News Alerts

फिल्म अनुभूति
फस्ट क्रस
 
घुर्मइलो चित्र रङमगाई बस्छ सम्झनामा।
 
एउटा गम्भीर मंगोल अनुहार। पुलिसको जिप। फुच्चे केटोको रुवाई र जिप पछि पछि दौडाई। 
बुझ्ने भएपछि थाहा लाग्यो, त्यो रहेछ नामी सिनेमा साइनोको अन्तिमतिरको दृश्य। रुँदै दौडिने फुच्चे केटो खुब मन परेथ्यो त्यसबखत। मेरो ‘फस्ट क्रस’ त्यो फुच्चेसँग हो, या सिनेमासँगको अझै कन्फ्युजन छ। 
 
सिनेमा प्रेमी मेरी आमाको साथ लागि हेरेको पहिलो सिनेमा (कम्तिमा मेरो यादमा रहेको)। त्यो सम्झना स्मृतिको गर्तमा सुरक्षित छ। जब समयबखत सिनेमाका कुराहरु उप्किन्छन्, तब यसरी नै म उही फस्ट क्रसको भर्भराउँदो सम्झनामा हराइदिन्छु। 
 
क्लोजनेस
 
लेखक लामा
रफ्तारमा छ समय। अथवा ऊ आफ्नै एकनासे गतिमा छ। तर लाग्छ समय निकै छिटो अघि बढ्दै छ। हेलिँदै समयको धारमा जम्काभेट भएथ्यो सिनेकर्मी प्रकाश सायमीसँग। कुरा हुने नै भयो सिनेमाको। इनगमार बर्गम्यानको नाम बारम्बार लिन्थे। बर्गम्यानको जीवनी ‘द म्याजिक ल्यान्टर्न’ पढ्न नपाएको सधैँको उनको थक्थकाई। स्विडिस डिरेक्टर बर्गम्यानमा के रैछ त्यस्तो? मेरो विचारिने क्रम चलिरहन्थ्यो।  
 
मिस्टर सायमीबाट बर्गम्यान मात्र हैन कपोला, स्पिलबर्ग, क्लिन्ट इस्टउड, आकिरा कुरोसावा, फेडेरिको फेलिनी, ऋतिक घटक, सत्यजित रेका नामहरु पनि बारम्बार सुनिहरन्थेँ। मेरो उत्सुकताको पारो अग्लिने क्रम जारी थियो। खोतल्ने क्रममा थाहा लाग्यो, मिस्टर सायमीका च्वाइसेस त संसारकै उत्कृष्ट सिनेमा बनाएका मनुवाहरु रहेछन्।  ती नामहरु जप्दै गर्दा पत्तै भएन कतिखेर मेरो सिनेमासँगको क्रस एक खाले क्लोजनेसमा बदलिसकेछ। भागदौडबीचको चोरिएको समय अनि द सिन्डलर्स लिस्ट, द बाइसिकल थिफ, द गडफादर ट्रिलोजी, मेघ ढका तारा, वाइल्ड स्ट्रबेरी आदिका सयर बहुत सुखद रहे। धन्य छु, मिस्टर सायमीप्रति जसले राम्रो सिनेमाको संगतमा पारिदिए। 
 
इनफ्याचुएसन
 
एक पारिलो  अपरान्ह। पाटन कृष्णमन्दिर परिसरमा बगिरहेको समय। फोनवार्ता हुँदा सायद समय मैले नै मागेकी थिएँ। लाग्छ, बेलाबखत ‘अफ ट्रयाक’ हिँड्नुपर्छ। दिएको समय भन्दा मात्र केही मिनेट ढिलागरी आगमन हुन्छ, अनेकन मालाधारी मिस्टर नगरकोटीको। फिक्सन डिजाइनर कुमार नगरकोटीको। 
 
हो त्यो त्यही प्यारिलो भेटमा उपहार दिएका हुन् उनले एउटा सिनेमा ‘स्प्रिङ, समर, फल, विन्टर... एन्ड स्प्रिङ।’ 
 
निकै मख्खिएँ। सिनेमातिर लहस्सिएको मनुवालाई सिनेमा उपहार! त्यही पनि अजिबखाले लामो टाइटल भएको सिनेमा। गफिने क्रम लामै चल्यो। ‘टु दि प्वाइन्ट’ कुरा गर्दा मिस्टर नगरकोटीको सिनेमाप्रेम गजबकै रहेछ। हर्नैपर्ने सिनेमाहरुको लामै लिस्ट पनि तेस्र्याइदिए। म ट्वाँ परिरहेँ। उनले सुझाएको केही नाम त अझै कण्ठै छ, रन लोला रन, द सिटी अफ सिल्भिया, टुथ डग ...। 
सबैभन्दा ठूलो गुन भने न्युरोड भट्टराईको सिडी पसलको खुलासा गरेर लाए उनले। पसल दौडिने हुट्हुटी बढिसकेको थियो। 
थ्यांक यु मिस्टर नगरकोटी भनेर म दौडिएँ।  
 
इन लभ
 
एक्सिडेन्टल्ली हात लागेको हो त्यो सिनेमा। द पियानो टिचर। ग्राहकले सुझाएको नाम अनुसारको सिनेमाको ओइरो लाइदिन माहिर रहेछन् मिस्टर भट्टराई। 
 
त्यस विशेष दिन अघि पनि निकै पटक धाइसकेकी थिएँ न्युरोड। मजिदी, कियारोस्थामी, किम कि दुक, किस्लोवस्की, जियाङ कीहरु सबै भेटिने गजबकै पसल रहेछ मिस्टर भट्टराईको। 
 
हो, त्यो एक सामान्य लेट आफ्टरनुन सिनेमा खोज्ने क्रममा पच्चीस तीस सिडी माझ च्यापिएको अवस्थामा भेटेकी हुँ द पियानो टिचर। बिभिन्न अवार्डको लिस्ट भरिएको कभर या प्रेममा लिप्त जोडीको चित्र केले आकर्षित गर्यो कुन्नि, ल्याए त्यो सिनेमा।
 
माइकल हेनिकी, अस्ट्रियन सिनेमा निर्देशक। ख्याल नभएको नाम। हुन त, अमोर नामक सिनेमा हेरेकै हो जो सन् २०१२ को बेस्ट पिक्चर र डिरेक्टरको लागि ओस्कार नोमिनेसनमा पनि परेको थियो। उही डिरेक्टरको सिनेमा द पियानो टिचर। अधवैंसे पियानो टिचरको यौन मनोविज्ञानलाई मिहीन ढंगबाट प्रस्तुत गरिदिएका छन् हेनिकीले। मानव मनोविज्ञान वास्तवमै कल्पना बाहिरको छ। यो सिनेमा हेर्दै गर्दा  मानिसको मनोदशा र भिन्न मानवीय संवेदनालाई कुशलतापूर्वक प्रस्तुत गर्ने किम कि दुक पनि बारम्बार आई नै रहे मनमा। उनको क्रोकोडाइल, पेटा नामक सिनेमाहरु पनि हेनिकीले जस्तै ह्युमन इन्स्टिङ्टलाई खोतल्न सफल छन्। 
 
द पियानो टिचर एउटी अधबैंसे अविवाहित पियानो प्रोफेसर इरिकाको कथा हो। उनी भिएना कन्सर्भेटरीमा पियानो सिकाउँछिन्। नाम छ, दाम छ तर फेरि पनि उनी एक्ली छिन्। हलचल गर्न नदिने एकदमै डोमिनेटिङ आमासँग बस्छिन्। उनीभित्र यौन कुण्ठाको अग्लो चाङ छ। उनी आफूलाई यौन आनन्द दिने माध्यम खोज्छिन्। त्यसमा पर्छ सेक्स सप र त्यहाँका भिडियोहरु। उनी हेरेर चित्त बुझाउँछिन्। अनौठो स्वभाव छ उनको। पार्किङ लटको कारमा प्रेमलिन जोडीहरुको क्रियाकलाप लुकेर हेरी बस्छिन् र त्यसैमा आनन्द लिन्छिन्। उनी म्यासोकिस्टिक छिन्। आफूले आफैंलाई शारीरिक या मानसिक पीडा दिएर त्यसैमा आनन्द लिने उनको स्वाभाव छ। यौन शारीरिक आवश्यकता भए पनि उनी त्यसबाट भागेर या अरुको हेरेर चित्त बुझाउँछिन्। त्यो भगाइले उनीभित्रको यौन चाहानालाई झन् झन् तीव्र पारिदिएको छ। 
 
पियानो सिक्न आएका कलिला वाल्टरसँग नजिकिन्छिन् इरिका। वाल्टर आतुर हुन्छ, उनीसँगको शारीरिक सम्बन्धका लागि। इरिकाले पनि त्यसको सिग्नल दिन्छिन्, तर उत्तेजित वाल्टरलाई ह्युमिलिएट गरेर आफ्नै अघि स्खलित हुन बाध्य पारिदिन्छिन्। उनीभित्र स्याडोम्यासोकिस्टिक स्वभाव झ्यांगिएको छ। अरुलाई पीडा दिएर या आफैंले आफैंलाई शारीरिक मानसिक सजाय दिएर त्यसको आनन्द उठाउने अनौठो स्वभाव छ उनको। 
 
अरुले देख्दा भियना कन्सर्भेटरी जस्तो सम्मानित संस्थाकी प्रोफेसर हुन् इरिका। तर त्यही सफल इरिकाको मानसिकता, उनको यौन मनोदशा, आमासँगको अनौठो सम्बन्ध साथै ‘आइसोलेटेड’ महिलाभित्र नजानिँदो तरिकाले विकास भएको अमानवीय चरित्रलाई हेनिकीले बुलन्द रुपमा प्रस्तुत गरेका छन्। प्राविधिक पाटोप्रति म जानकार छैन तर उठाएको विषयवस्तु र प्रस्तुतीका हिसाबले म साँच्चै नै यस सिनेमाप्रति मोहित छु। 
 
इरिकाको भूमिका निभाएकी एक्ट्रेस इजावेल हुपर्टको ग्लुमी र कठोर अनुहारको म फ्यान भएकी छु। द पियानो टिचर, साहित्यका लागि नोबल पुरस्कार पाएकी अस्ट्रियन लेखक एल्फ्रिड यलिनेकको उपन्यासमा आधारित सिनेमा रहेछ। गजबको टिमवर्क। लेखकदेखि कलाकार, निर्देशक सबै उत्कृष्टहरुको संगमको परिणाम, यो असरदार सिनेमा।  
 
यात्रा जारी छ सिनेमासँगको। 
 
चलिरहला पनि। 
 
प्रेममा जो परेकी छु! 
 
 

प्रतिकृया दिनुहोस