डेब्यु आन्दोलन

  • Get News Alerts

नाटक लाग्ने समय नजिकिँदै गएको एक दिन। नाटक गर्ने र खेल्ने पुरै टिम ६२/६३ आन्दोलनको समाचार खोज्न कान्तिपुर दैनिक गएका थिए। समाचारमार्फत पहिले घटेको समयको नजिक पुग्न चाहन्थे सायद। 
 
म अहिलेको समयमा हिँडिरहेको मान्छे उनीहरूको दुई फरक समयको भोगाई कस्तो हुँदैछ सोध्न चाहन्थेँ। तर नाटक आउनुभन्दा पहिला भेट्न पाइनँ। 
 
कस्तो अनौठो? डेब्यु गर्दै गरेका केहीथान पात्रहरूलाई डेब्यु गर्दै गरेको आफ्नै कथा खोज्ने व्यस्तता थियो। आन्दोलन आफूले ल्याएको बाटोमा आफूलाई खोज्न भौंतारिएजस्तो। 
 
उनीहरू अहिलेको धुलो काठमाडौंको बाटो हिँड्दै कान्तिपुरसम्म पुगे र पुराना समाचार बोकेर फर्किए। धुलैधुलो सहीदगेट हुँदै ढलेको धरहरा नजिकै भएर काठमाडौँ मलको छतमा पुगे र न्युज कटिङहरू भित्तामा टाँस्न थाले। ‘गम’ यो समयको प्रयोग गर्दै।
 
उनीहरू हिँडेकै बाटो कुनै दिन लाखौ मानिसहरू प्रदर्शन गर्दै हिँडेका थिए। अहिले धुलो खाँदै हिँडिरहेका छन्। भोलि पनि हिँड्नेछन्। 
वर्तमान काठमाडौंको सेटिङ सम्झिँदै गर्दा सौरभको कथा, जसमा यो नाटक बन्दै थियो, जसलाई मैले कुनै समय डायरीमै पढेको थिएँ, मेरो दिमागभर आइरह्यो। सम्झिरहेँ। सौरभलाई यो कथा लेखेको कति समयपछि नाटक बनाउनुपर्यो भन्ने लाग्यो होला? के सोच्यो होला उसले पहिलोपटक त्यस्तो लाग्दा? कथाको नाटक डेब्यु सोच कतिन्जेल बोक्यो होला उसले दिमागमा? मैले उसलाई सोधिन तर, अनुमान गर्छु, सानोतिनो आन्दोलन त उसले आफैंसँग गर्‍यो होला लेख्ने बेलामा। अनि त्यो आन्दोलन फैलियो होला कसरी? निर्देशक भएर सुदाम सिके कसरी मिसियो?
 
अरू प्रश्नहरूपनि थपिए:
 
उसले कथालाई नाटक बनायो कि आफैं भयो?
 
पात्रहरूले दृश्यमा पुग्न हतार गरे या उसैले पुर्यायो?
 
कि, गुम्सिएर भाग्दाभाग्दै थिएटर मलसम्म पुगेका हुन्?
 
सोच्दै नाटक हेर्न जाने तयारी गरेँ। निस्किने बेला घरमा ऐना हेरेँ। ६२/६३ को आन्दोलन हुँदा कक्षा १० पढ्थेँ। भाषण सुन्न पुगेको थिँए धेरैपटक। अनुहार सारै कलिलो थियो। 
 
अहिले त गालाभरी दाह्री भरिइसकेका छन्।
 
***
 
‘यो नाटक हेर्न मान्छे कुन समयका हुनेछन्?’ रिहर्सल सकिन आँटेको एकदिन सौरभलाई सोधेँ। 
 
‘दर्शक कहिलेका हुन् थाहा छैन तर नाटक हेर्दा ६२/६३ सालमा पुग्छन्,’ सधै|जस्तो उसले चित्तबुझ्दो जवाफ दिएन। सधैंजस्तो मैले विवाद गरिनँ। 
 
उसले भनेको आधा मिल्यो। थिएटर मलमा अलिक छिटै पुगेँ। त्यहाँ राखिएका दीपेन्द्र बज्राचार्यका जनआन्दोलनका फोटो र न्युज कटिङहरू हेरेँ। ऊबेला कभर भएका आन्दोलनका समाचार र अन्तर्वार्ताहरूले साँच्चै पुरानो समयमा लिएर गए। 'ब्ल्याक एण्ड ह्वाइट' समय।
 
एउटा फोटोमा आँखा गयो। बाटोभर चप्पलहरू छरिएका रहेछन्। कहाँ फ्याँकिए होलान् ती चप्पलहरू? धोबीखोलामा कतैकतै देखिने चप्पलहरु तिनै त हैनन्? ती चप्पल, जसका हुन् उनीहरूलाई कस्तो लाग्दो हो अहिले? 
 
न्यूज कटिङमा एक कविको बारेमा पनि लेखिएको रहेछ। आन्दोलनमा २३ वर्षका ती कविले कविता सुनाएर सडक तताएका रहेछन्। अहिले ३३ वर्षका भए होलान्। कस्ता कविता लेख्दा हुन्? 
 
अनि फेरि दस कक्षा पढ्दाको आफूसँग आफैंलाई दाजेँ। धमिलो भएजस्तो भयो। त्यसबेला आन्दोलनमा जानुको मोटिभेसन के थियो सम्झिन सकिनँ। 
 
मलाई संग्राहलयको गेटमा उभिएर भित्र आफू बसिरहेको देखेजस्तो भयो। नाटक हलमा छिर्नासाथ बजिरहेको मधुरो सङ्गीतले पनि मलाई चिन्यो। तर, त्यो गीत मेरो मोबाइलको हेडफोनमा आजकाल बज्दैन।
 
नाटक सुरु हुँदा म एकैपटक २०७३ चैतबाट २०६२ चैतमा पुगेँ।
 
***
 
धमिलो प्रकाश उज्यालो भयो। दृश्यका पात्रहरू सल्बलाए। आँखा चनाखो भए।  
 
पहिलो दृश्यमा पात्रहरूको बाटो छुट्टियो। संवादमा आफूले देखेका¸ सुनेका र सम्झिएका पात्रहरू घुम्न थाले। नाटकले त्यस समयका भिन्न-भिन्न सोचाइहरूलाई एकै ठाउँमा ल्याएर बहस थाल्यो। 
 
गुरूलाई सम्झिएँ। ९ कक्षामा पढ्दा उहाँले ४६ सालको आन्दोलनको कथा सुनाउनुभएको थियो। अनौठो मानेर सुनेको थिएँ। आफैंले देखेको/भोगेको आन्दोलनको कथा झन्डै बिर्सिसकेको रहेछु। नाटकका दृश्यहरूले सम्झाइदिए। 
 
मैले चाँडै भुलेको हो कि सम्झिनु व्यर्थ लागेर याद नभएको हो पत्तो पाइनँ। 
 
नाटकले पनि यसको जवाफ दिएन। उसले त बिर्सिएको कुनै पुरानो साथी सम्झाइदिएको जस्तो मात्र गर्‍यो। त्यो साथीसँग फेरि दोस्ती गर्ने कि नगरी अगाडि बढ्ने भन्ने कुरामा अरू दर्शकहरू जस्तै म पनि स्वतन्त्र भएँ। 
 
नाटकमा धेरैपटक दोहिरिएको ‘नक नक’ सिम्बोलले पनि त्यसैलाई सङ्केत गर्छ। ‘त्यसले ढोका खोल्नु भन्ने सङ्केत गर्ने हो, खुल्छ भन्ने ग्यारेन्टी गर्नेहैन। ढोका बज्दा हुँदा ऊ पात्र ब्युझिन्छ। ‘ब्युँझिनु’ अर्को शक्तिशाली सिम्बोल। ऊ पात्र ब्युँझिएपछि यता बसेका दर्शक पनि ब्युँझिन्छन्। आवाजमार्फत् नाटकले दर्शकसँग संवाद गर्छ। यसले दर्शकलाई ऊ पात्रसँग नजिक गराउँदै पुरानो समयमा लैजान्छ।
 
नाटकले सुतेको समयलाई झक्झक्याँउछ। निदाएको मान्छे कसैले उठाउँदा रिसाउन पनि सक्छ खुसी हुन पनि सक्छ। नाटकमा ऊ पात्र कहिले उराठलाग्दो समय काटिरहेको बेला ब्युँझिएको छ त कहिले सुन्दर सपना देखिरहेको बेला। उसको पहिलो ब्युँझाई दोहोरिन्छ तर दोस्रो दोहोरिँदैन। नाटकको सांकेतिक अर्थ, उराठलाग्दो समय काटेर पटकपटक नब्युँझी, सुन्दर सपना देखेर एक पटक ब्युँझी। 
 
तर विडम्बना मलाई आफ्नै निद्राको प्रकार थाहा छैन। नाटक हेरेपछि डर लिएर फर्किएको छु। कारण, ऊ पात्रलाई जस्तै दुईटै निद्राले मलाई शान्ति दिँदैनन्। म सपना नदेखी निदाइरहन सक्दिन, सपना देखेर पनि निदाइरहन सक्दिन।  
 
***
 
मानिसहरू चाँडै नोस्टाल्जिक हुन्छन्। नयाँ व्यवस्थालाई व्यवस्थापन गर्न नसक्दा पुरानै व्यवस्था ठिक थियो कि जस्तो हुन्छ। 
 
नाटकले त्यसलाई भुल भन्छ। 
 
एउटा दृश्य सम्झिन्छु। सुनील पात्र। पहिलोपटक आन्दोलनमा पुगेर आएको ऊ। छतमा जान्छ, पर क्षितिजमा हेर्छ। साँझको समयमा उसलाई क्षितिज नजिकै लाग्छ। मुसुक्क हाँस्छ। स्वेटर लगाउँछ र फर्किन्छ। 
 
मैले उसको आँखामा हेरिरहेँ। उसले बीचको बाटो कस्तो छ भन्ने नदेखे पनि परको क्षितिज हेर्छ। त्यो क्षितिजमा उज्यालो देख्छ। 
 
उसको आँखाको चमक सुन्दर देखिन्छ। ऊ गहिरोबाट बलेको लाइटले छर्ने रंगीन उज्यालोले भरिन्छ। उदाउँदै र अस्ताउँदै गरेको घामले भिन्दाभिन्दै रङ्ग छरेर आकाश सिँगारेको जस्तो। 
 
अर्को दृश्यमा कुटाई खाएर फर्किएको कुमार ढोका छेउमा बसेर उस्तै गहिरो मुस्कान छर्छ र भन्छ, ‘यो देशको लागी मर्न पनि तयार छु।’
 
पीडालाई भित्र कतै छोडेको मुस्कान। आफैंलाई जितेर आएको मुस्कान। 
 
पात्रहरूको स्वर बुलन्द छ। एकआपसमा मिसिएको स्वर। साझा आवाज भएर गुञ्जीएको स्वर। 
 
आँखाको चमक, ओठको चमक र आवाजको चमक। तीनवटै मिलेर नाटक दर्शकसम्म आइपुग्छ। यो भन्नलाई कि, ‘पछिल्लो आन्दोलनमा सहभागी आँखाको उज्यालो, पीडा जितेका मुस्कान र बुलन्द आवाजहरू काल्पनिक थिएनन्।’
 
***
 
नाटककमा गरिएका केही प्रयोग सम्झनलायक छन्। 
 
'टाइम ल्याप्स' देखाउन गरिएको रेडियोको प्रयोगले घटना कहाँ पुग्यो भनेर बताउनेदेखि लिएर दृश्यको सेटिङ स्थापित गर्न पनि भूमिका खेलेको छ। 
 
स्टेजको दुई छेउमा बसेर ऊ पात्र र घरबेटी बा आन्दोलनको बारेमा गफ गरिरहेको दृश्य कलात्मक छ। उक्त दृश्यमा पहिला सानो सुनिएको आन्दोलनको आवाज बढ्दै जाँदा ठुलो सुनिएको घरबेटी र सुदामको आवाज सानो हुँदै जान्छ। परिवर्तनको पक्षमा बढेका आवाजहरूले कसरी अरू आवाजलाई जितेका थिए भन्ने सङ्केत गर्छ।
 
आन्दोलनताका चर्चित बनेका कविताका पङ्क्तिहरू वाचाल भएका छन्। पात्रहरूले विषयको सन्दर्भ मिलाएर गर्ने कविता वाचन बलियो सुनिएका छन्। 
 
डायलगको शब्द तथा पात्रको सोचाईको बीचमा समन्वय भेटिन्छ। आन्दोलन ठीक कि बेठीक भनेर लामो तर्क चल्ने एउटा दृश्यमा आफ्नो तर्कमा अडिग भइरहेको सुदाम तर्क दिउन्जेल बसेको ठाँउबाट उठ्दैन। 
 
र, अर्को महत्त्वपूर्ण कुरा यसमा कुनै पनि पात्रले दर्शकलाई वैचारिक भारी बोकाउन खोज्दैनन्। पात्रहरू आफ्नो तर्कमा अडिग भएर एक-अर्कालाई सम्झाउन खोजे पनि दर्शकलाई सोच्ने ठाउँ दिन्छन्। 
 
कुनै बेला नाटक टाइमलाइनको बीचमा उभिएको कुनै चौतारोजस्तो लाग्छ। विगतका पात्रहरू उताबाट चौतारोसम्म आउँछन्। वर्तमानका दर्शकहरू यताबाट चौतारोसम्म जान्छन्। 
 
***
तर पात्रहरूले ऊ बेलाको समय बाँच्दै दर्शकलाई विगतसम्म लैजान खोजे पनि वर्तमान समय बीचबीचमा छिर्छ, जसले केही संवादहरूलाई व्यंग्यात्मक बनाइदिन्छ। त्यो सन्दर्भमा बोलेको संवाद सुन्नासाथ अहिलेको सन्दर्भ प्रश्न सोध्न तम्सिन्छ।
 
यसरी:
 
‘दुई वर्गबीचको खाल्डोलाइ पुर्न यो आन्दोलन’ – ‘खाडल कति पुरियो?’
 
‘सहीदको नाम स्वर्ण अक्षरमा लेखिने छ’ – ‘सहीदको सङ्ख्या थपिएर कहाँ पुगिसक्यो?’
 
‘मुठ्ठीभर मान्छेले शासन गरेका छन्, एकजनाबाट शासन हुन्जेल स्वतन्त्र होइँदैन’ – ‘फेरि पनि शासन मुठ्ठीभरका मान्छेभन्दा बाहिर किन पुगेन?’ 
 
‘तेरा लागि त पुराना आन्दोलन सबै भ्रम हुन्’ – ‘आन्दोलनको बारेमा आन्दोलन किन चाहिएको?’
 
नाटक हेर्दै गर्दा धेरै ठाउँमा यस्ता प्रश्नहरू उठ्छन् र मनमा गाँठो पर्छन्। फुकाउन खोज्दा फेरि कसिन्छन्। 
 
***
 
बिर्सिएको समयलाई सम्झाउने प्रयत्न गर्दागर्दै नाटक केही कमजोरीहरूसहित आएको छ।
 
नाटकको सेट कमजोर छ। डायलगमार्फत् पात्रको वरपर नाटक घुमेको सत्य हो तर अधिकांश दृश्य सुदामको कोठाभित्र भएकाले उक्त कोठालाई अलिक स्पष्ट देखाउन सकिन्थ्यो। कथामा सबैभन्दा धेरै स्थापित भएको पात्र भएकाले उसको लागि कुनै सेट स्थिर छोड्दा राम्रो हुन्थ्यो। त्यस्तो भएको भए उसको कोठमा भएका सामाग्रीहरूमार्फत् उनीहरूको सम्बन्धलाई अझै देखाउन सकिन्थ्यो।
 
बीचबीचमा कुनै कुनै डायलगहरू अनावश्यक तन्काउन खोजिएको हो कि जस्तो लाग्छ। सुदामको ‘सुत्ने’ बानीलाई लिएर एक दृश्यमा अलिक धेरै नै संवाद लम्बिन्छ जुन जरुरी थिएन। यस्तै किताब पढिस्, यो फिल्म हेरिस्? जस्ता  संवादभन्दा दिउँसो आन्दोलनमा भएको कुनै घटनालाई डायलगमा सुनाउन सकिन्थ्यो। एक दृश्यमा सुनीलले प्रहरीलाई बचाएको घटना भनिएजस्तै। 
 
नाटकभरमा सुदाम पात्र जति स्पष्ट रूपमा अरू पात्रहरू स्थापित छैनन्। विकास र दिप्तीको पाटो निक्कै कमजोर देखिन्छ। बरु नाटक अलिक लम्ब्याएर कुनै रूपमा उनीहरूको ब्याक स्टोरी देखाउन सकिन्थ्यो कि! त्यो अलिक कमजोर हुँदा उनीहरूको आन्दोलनप्रतिको 'मोटिभेसन' के हो भन्ने कुरा धेरै प्रस्ट हुन सकेको छैन। 
 
र, नाटकको अन्त्य। मृत्यु भएको कुमारलाई फेरि त्यही कोठाबाट भित्र ल्याउनुको खासै ठुलो अर्थ छैन। त्यो दृश्यमा उसको मृत्युभन्दा धेरै सुदामको रियाक्सन हुन्थ्यो।
उसको  लास बोकेर छिर्दा भन्दा ऊबिनै पात्रहरू मात्र छिरेको भए र सुदामले कुमार नभएको महसुस गरेको भए अझै अर्थपूर्ण अन्त्य हुनसक्थ्यो। 
 
र, जुन रूपमा दर्शकलाई नाटकले ६२/६३ सालमा लिएर जान्छ त्यहाँबाट अहिलेको समयमा ल्याउने प्रयत्न गरिएको छैन। आन्दोलनको महत्व बताइरहँदा उपलब्धी के त भन्ने प्रश्नको जवाफ स्टेजमा त छैन छैन बाहिरका कुनै भित्तामा पनि छैन। त्यसपछिका हरेक वर्षहरूको न्युज कटिङ टाइमलाइन बाहिर राखिदिएको भए दुई भिन्न समयलाई एकै ठाउँमा भेट्ने अवसर मिल्ने थियो। 
 
***
 
समग्रमा यो नाटकले आन्दोलनलाई सम्झिएको हैन। यो नाटकमार्फत हामीलाई आन्दोलनमा पुर्याउन खोजिएको हो। दस वर्ष भइसक्दा हामीले आन्दोलनको उपलब्धि के भयो भन्नुको साटो आन्दोलन जरुरी नै थिएन कि क्या हो भन्ने मोडमा आइपुगेको बेला यसले आन्दोलन गल्ती थिएन भनेको छ तर त्यसपछिको व्यवस्थापन गलत भयो भन्ने देखाउन सकेको छैन।
 
आशा गरौँ त्यो समय भोगेका नाटकका सुदाम, विकास, फोटो र समाचारका चप्पल र कविहरू जस्ता पात्रहरूले कहिल्यै पछाडि फर्किएर पश्चाताप गर्नु नपरोस्। 
 
Twitter: @skyasesh

प्रतिकृया दिनुहोस