जब शब्द नि:शब्द भइदिन्छ!

  • Get News Alerts

आनुभूतिक अभिव्यन्जनाका विभिन्न माध्यम छन्– ध्वनि, रङ, द्रव्य, शब्द। आफ्नो अनुभूतिलाई कला रूप दिन ध्वनि संयोजन गरी सङ्गीत सिर्जन्छ सङ्गीतकार। चित्रकार रङ संयोजन गरी अनेक आकृतिमा आफूलाई अभिव्यक्त गर्छ। मूर्तिकार द्रव्यलाई जीवन्त लय दिन्छ। 
 
कविसित भने यस्ता कलागत अभिव्यक्तिको निमित्त माध्यम छ शब्द अर्थात् अर्थयुक्त अक्षर समूह। माध्यम आखिर माध्यम मात्र नै हो, पूर्ण छैन। सीमितता छ हरेकको। शब्दको सीमितता कविहरूलाई थाहा छ। तर आफ्नो काव्यिक अभिव्यक्ति शब्दहरूद्वारा नै गर्नुछ। यो शब्द पनि खोसिएको अर्थात् बोल्न नपाएको/नसकेको आनुभूतिक स्थितिलाई व्यक्त गर्ने शब्द नै तर कहिले भइदिन्छ निःशब्द! 
 
आफू शब्दहीन (निःशब्द) भएको कुरा कवि मोहन ठकुरीले मूक भएर अर्थात् इशारा गरेर होइन, तर डेढसयभन्दा ढेर शब्दहरू नै प्रयोग गरेर भनेका छन्। यसरी शीर्षकदेखि नै ‘निःशब्द’ कविताले वक्रोक्ति (आइरनी) र विरोधाभास (प्याराडक्स)-को लक्षण देखाएको छ। अङ्ग्रेजी साहित्यका समालोचक क्लिन्थ ब्रुक्स भन्छन् – ‘…the language of poetry is the language of paradox.’ विरोधाभासको भाषा नै कविताको भाषा हो भन्दै अझ विरोधाभासको आधारमा मात्र कविले बोलेको सत्यतर्फ अग्रसर हुन सकिन्छ पनि भनेका छन् उनले।
 
ब्रुक्सले भनेजस्तै, कविता निःशब्द-को उत्तरार्द्ध पुरै नै विरोधाभासको प्रविधिले निर्मित छ। 
 
     निःशब्द भनेको
     मनको गुफामा 
     तिम्रा आवाजहरूको गुन्जन 
     एउटा ठूलो हल्ला 
     हाम्रो अतीतको 
 
यति मात्र होइन, तर निःशब्द भनेको अरू पनि थुप्रै अनुभूतिजन्य थोकहरू हुन् बताउँदै निःशब्दको शाब्दिक अर्थसित वैरोध्य बुझाउने बिम्बहरू बुनिएका छन्। निःशब्द भनेको मनको कोरिडोरमा सम्झनाहरू ओहोरदोहोर, मनको ऐनामा तिम्रा अनेक अनुहारहरूका दर्शन, इच्छाको पहाडमा नार्सिससद्वारा अवहेलित इकोको स्वर, एक्लोमा हिँडेको सीमाहीन यात्रा.., एक्लोमा उडेको नीलो आकाशको उडान, एक्लोमा डुबेको समुद्रको गहिराइ, एक्लोमा फैलिएको क्षितिजको विस्तृति, एक्लोमा पाएको कविताको मीठो स्पर्श.. । यसरी एकपछि अर्को बिम्बको बत्ती बालेर कविले आफू निःशब्द हुनुको अवस्थामाथि झिलिली प्रकाश पार्छन् र त्यो निःशब्दतालाई दृष्ट, श्रव्य र स्पर्श्य तुल्याउँछन्। मोहन ठकुरी जस्ता एक पोख्त कविले नै गर्नसक्ने कुरा हुन् यी। तर यी बिम्बहरू नै पनि कति आपस्तमा विरोधाभासी छन्। 
 
     निःशब्द भनेको 
     हाम्रो इच्छाको पहाडमा 
     नार्सिससद्वारा अवहेलित इकोको स्वर
     प्रेमलाई खोज्न / भेट्न 
     निरन्तर प्रतिध्वनित। 
 
यो कवितांशले एक असफल प्रेमको विव्हलतामा निःशब्द हुनुको अवस्थालाई चित्रित गरेको छ भने कविताको अन्तिम बिम्ब ‘एक्लोमा पाएको / कविताको मीठो स्पर्श यो’-ले निःशब्दलाई हठात् एक सुखद अनुभूतिमा बिम्बित गरेको छ। सामान्य तौरले हेर्दा यसलाई भावनाको असामन्जस्य जस्तो पनि देखिन्छ, तर अलिक नियालेर हेर्दा आइरनी जस्तो भएर आएको छ यो पङ्क्ति। आफ्नो आत्मीयसितको दूरत्व, त्यसमा चिसो जमेको संवादहीनता, एक्लोपन आदि कुराहरूबाट उठेको औदास्यको गाढा छाया कविताभरि पोतेपछि कवि एकाएक खुशी देखिन्छन् ‘कविताको मीठो स्पर्श यो’ पाएर। ‘एक्लोमा पाएको / कविताको मीठो स्पर्श यो’-सम्म आइपुग्दा पाठक छङ्ग हुन्छ र बुझ्छ कि सम्बन्ध टुटेर निर्वाक हुनु, संवादहीन हुनु, एक्लो हुनु जस्ता कुराहरू त कविको निम्ति कविताका भावहरू पो रहेछन् जुन पढेर आनन्दित भइन्छ जसरी आङ्ग्ल रोमान्टिक युगका कवि किट्स एकान्त चौरमा बसेर प्रेम र विषादको कथा पढ्दै आल्हादित हुने कुरा कल्पन्छन्। There is a pleasure in poetic pains. भन्छन् काउपर पनि। कवि ठकुरीको पीडा पनि काव्यिक पीडा नै रहेछ जसबाट कवि स्वयं नै आनन्दानुभूत गरिरहेका बुझ्छौं। त्यसो भए के कविहरू निक्खुर, वास्तविक पीडा भोग्दैनन् त ? वास्तवमा कविहरू अझ तीब्रतासित पीडा भोग्छन् तर उनीहरूको सृजनशील स्वभावले त्यस पीडाको यथार्थलाई केही समयपछि काव्यिक रूप दिँदै जान्छ। यसरी कविहरू निजी पीडामा पनि कला कुँदेर दुनियाँलाई आनन्दोपभोग गराउँछन् र आफूले पनि त्यो कला सृजनपछि आनन्द महसुस गरिरहेका हुन्छन्। 
 
अघि माथि उद्धृत कवितांशमा ग्रीसेली मीथ (नार्सिसस र इको) प्रयुक्त छ। यसले तर सोझो पठनमा एक असङ्गति उभ्याएको छ। कविताको पूर्वार्द्धमा प्राणयिक सम्बन्धको स्वाभाविक, सुन्दर र विकसित रूप पाउँछौँ अनि उत्तरार्द्धमा तिनै विगत क्षणहरू कविको स्मृतिपटमा आई खेल्छन्। यस प्रासङ्गिकतामा, मीथकीय आत्मसम्मोहनग्रस्त नार्सिससले बेवास्ता गरेको इकोको प्रतिध्वनित् स्वर यहाँ बेठाउँमा परेको लाग्छ। तर त्यो स्वर प्रतिध्वनित हुन्छ ‘हाम्रो इच्छाको पहाडमा’। अनि यहीँनेर यस अंशको अर्को पठन हुनसक्ने ठाउँ भेट्टाउँछौँ। ‘हाम्रो इच्छाको पहाड’: सम्बोधक-सम्बोधित (कवि र उनकी प्रेयसी)-को संयुक्तिको प्रबल चाहना ! तर आत्मसम्मोहनग्रस्त नार्सिसस जस्तो समाजले बुझ्दैबुझ्दैन र उनीहरूको उत्तप्त उच्छवास ‘अवहेलित इकोको स्वर’ भएर आफ्नै इच्छाको पहाडमा निरन्तर प्रतिध्वनित भइरहन्छ। 
 
अर्को मननीय पङ्क्ति छ – ‘तिम्रा अनेक अनुहारहरूका दर्शन’। यहाँ ‘दर्शन शब्दले कविताको यस अंशलाई विशेष स्वर दिएको छ। सामीप्यमा स्वभावतः कविले कतिपल्ट सुम्सुम्याएको, मुसारेको, म्वाई खाएको मांसल अनुहारको अब त ‘दर्शन’ मात्र हुन्छ ‘मनको ऐनामा’। अनेक भावमुद्रामा प्रकट त्यो अनुहार जो अब नछोइने भई केवल ‘दर्शन’ हुने भएको छ मनको ऐनामा। ‘दर्शन’ गर्नुमा मानवीय आत्मीयता छैन, छ त भक्ति, श्रद्धा र पवित्र हेराइ। कहाँ कतिबेला कुन शब्द राख्नुपर्छ, कवि ठकुरी जान्दछन्। यहाँनेर ‘दर्शन’ शब्द आइरनी (वक्रोक्ति)-कै रूपमा प्रयुक्त छ। आइरनीलाई कवितामा प्रमुख तत्व मान्दै अमेरिकेली कवि तथा समालोचक रोबर्ट पेन वारेनले भनेका छन् – (Poets) have not only tried to say what they mean, they have tried to prove what they mean. The saint proves his vision by stepping cheerfully into the fires. The poet, somewhat less spectacularly, proves his vision by submitting it to the fires of irony -- to the drama of his structure -- in the hope that the fires will refine it.  यसको संक्षेपीकृत अर्थ यस्तो हुनसक्छ – कविहरूले आफूले भन्न चाहेका कुरा भन्ने मात्र होइन तर प्रमाण नै गरेर देखाउने कोशिश गरेका छन्। सन्तले हाँसीहाँसी आगो टेकेर आफ्नो अन्तर्दृष्टि प्रमाणित गर्छ भने कविले आइरनीको आगोमा अन्तर्दृष्टि होमेर प्रमाणित गर्छ। 
 
संस्कृत काव्याचार्य कुन्तकले पनि बक्रोक्तिलाई सम्पूर्ण काव्य-सौन्दर्यको पर्यायको रूपमा प्रतिष्ठित गरिदिएका छन्। निःशब्द-का कविले पनि आफूले भन्न चाहेका कुरा अनेक खिप्ती गरेर भनेका छन्। निःशब्दता भोगाइका विविध रूपहरू हामीले कविताको उत्तरार्द्धमा हेर्यौं। तर निःशब्द हुनुको कारण अनि त्यसअघिको स्थिति के कस्तो थियो र त्यसलाई कविले कसरी व्यक्ताएका छन्, कविताको पूर्वार्द्धमा हेरौँ। यौटै मात्र कारण कविताको प्रारम्भिक दुइ पङ्क्तिमा यसरी भनिएको छ – 
     
      तिमी टाढा बसेकी छ्यौ 
      धेरै दिनदेखि म निःशब्द छु। 
 
आफ्नी आत्मीय टाढिएर मनभरि फैलिएको रिक्तता र त्यसैमा सनन्न बजिरहेको संवादहीनता नै कविताको क्यान्भास छ जसमाथि कवि आफ्नो विगत र वर्त्तमानका विविध अनुभूतिहरूलाई विशेष-विशेष रङ्ग र रूप दिई यौटा कोलाज निर्माण गर्छन् र नाम दिन्छन् – ‘निःशब्द’। 
 
‘तिमी छेउ हुँदा...’ कवि कति सशब्द र शब्दमय भइरहन्थे, कविताको पूर्वार्द्धभरि सुन्छौं। 
 
     शब्दहरूमा / बोलीहरूमा 
     मिलेका भयौँ / ठुस्केका भयौँ, 
     कहिले वचनका वाणहरूले 
     एक-अर्कामा मर्माहत हामी 
     धेरै बेर मौनतामा डुबेर बस्यौं, 
 
आत्मीयसितको साथमा मौनता पनि निःशब्द लाग्दैनथ्यो कविलाई, भनेपछि निःशब्द यहाँ दूरत्वको पर्याय छ। दूरत्व तर यो आजको दूरत्व होइन। आजको अति द्रुत संचारसाधनयुक्त समयमा देशिक दूरत्वबाट निःशब्दै हुनुपर्ने स्थिति उति छैन। ई. १९९० मा दियालो पुरस्कारबाट सम्मानित यो कविताको रचनाकाल १९८८ /८९ हुनसक्छ। त्यसताक अर्थात् आजभन्दा २५ / २६ वर्षअघि हाम्रो जस्तो विकासोन्मुख मुलुकमा भौगोलिक दूरत्वले शाब्दिक सम्पर्क टुटि नै हाल्ने त होइन तर केही क्षीण र विलम्बित भने हुनसक्थ्यो। सम्बन्धै चुँडिदा मात्र उठ्छ निःशब्द स्थिति। कि त कविले भोगेको त्यो केही समयको सम्पर्क विच्छेदको पीडा हो। 
 
‘सामीप्यको त्यो मृदु मुलुकमा / हामी स्पर्शहरूका बिरानो सडकहरू भएर’ जस्ता अत्यन्त स्वाच्छन्दिक बिम्ब लेख्छन् कवि। ‘सामीप्यको मृदु मुलुक’ कल्पेर ‘स्पर्शहरूका बिरानो सडकहरू’ हिँड्ने कोमल स्वच्छन्द कविहरू अब प्रायः देखिइन छाडिसके। प्रेमिकासितको सामीप्यमा ‘मृदु मुलुक’ महसुस गर्नु कविको निकै अग्लो कल्पनाशीलता हो जहाँ आजकाहरू बिरलै उक्लिन सक्छन्। ‘यहीँ अनि अहिले नै’ (Here and now) भन्दै पृथ्वीमा पिल्सिरहनेहरूलाई ‘मृदु मुलुक’ रोमान्टिक कल्पनालोक हो भने ‘मृदु’ जस्तो कोमल रुमानी भावको शब्द चाहिं शब्दकोशभित्र थन्क्याइसकिएको एक थोक। तर त्यस लोकको भोग गरेर प्राप्त त्यो मीठो आनन्दानुभूति साँच्चै नै कोमलतम स्वच्छन्द दृष्टिको उपलब्धि हो जसबाट आजका अधिकतर कविहरू वन्चित् छन्। 
 
अनुरागजन्य त्यो सिङ्गो कविता नै विगतप्रतिको तीब्र चाहना (नोस्टालजिय)-को अभिव्यक्ति हो। नस्टलजियप्रतिको अधिक आसक्ति पनि स्वाच्छन्दिक (रोमान्टिक) भाव नै हो। आधुनिकताको आँगनमा हुर्केका कवि मोहन ठकुरीमा यो आधुनिकतापूर्वको स्वच्छन्दतावादी प्रवृत्तिको छायाँ समयसमयमा पर्ने गरेको पाउँछौ। उनको पछिल्लो कविता सङ्ग्रह अभिन्न अक्षर-मा पनि यस छाँटका एक दुइ कविताहरू देख्छौं। 
 
लेखन-प्रवृत्ति कुनै विषयले निर्धारित नगरेर त्यस विषयप्रतिको विशेष आग्रहले छुट्टिन्छ। उही विषय, तर कविको दृष्टि (आग्रह)-ले शास्त्रीय / रोमान्टिक / आधुनिक / उत्तरआधुनिक देखिन्छ, ध्वनित हुन्छ अनि त्यै प्रवृत्तिले त्यस कविताको भाषालाई पनि निर्देश गर्छ, र भाषाले चाहिं त्यस प्रवृत्तिगत कुराहरूलाई उद्घाटित गर्दै लान्छ। कविता ‘नि:शब्द’-को भाषाले कथ्यप्रतिको रोमान्टिक आग्रहलाई कविको निजी शैली-वैशिष्ट्यसित उद्घाटित गरेको छ। 
 
आजको समकालीन तथा एन्टी-रोमान्टिक कविताका पाठकहरूले पनि यस्ता कविताबाट ‘भिन्टेज वाइन’-को मीठो स्वाद पाउने नै छन्।

प्रतिकृया दिनुहोस