‘डाउट एभ्रिथिङ!’

  • Get News Alerts

कविताबारे कवि- अभय श्रेष्ठको कविताबारे राजेन्द्र महर्जन
मानिस
मरिसकेपछि
केही पनि सोच्दैन...
 
मानिस
मरिसकेपछि
केही पनि बोल्दैन...
 
केही पनि नसोचेपछि
केही पनि नबोलेपछि
 
मानिस मर्दछ...।
 
भारतीय साहित्यकार उदय प्रकाशको यो सानो कविताले जिउँदो र मरेको मानिसबीच जीवन–रेखा कोर्दछ, सोच्ने र बोल्ने मानिस मात्रै बाँचिरहेको हुन्छ भन्ने बलियो र ठूलो भाव जन्माउँछ। मानिसमा सोच्ने र बोल्ने कर्म त्यतिखेर मात्रै सम्भव हुन्छ, जतिखेर उसले सन्देह गर्छ, प्रश्न गर्छ अनि सन्देह र प्रश्नका साथ चिन्तन–मनन पनि गर्छ। यस्तो जीवन्त प्रक्रियाबिनाको सोचाइ र बोलाइले मानिसलाई जिलाइ राख्दैनन्।
 
तिम्रा सम्मानित गुरूले
मिठो भाषामा सुनाएका कथा
महान् इतिहासकारले लेखेको इतिहास
र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर –अभय श्रेष्ठ। 
 
सामान्यतः परिवारदेखि समाजसम्मले, स्कुलदेखि पार्टीसम्मले हामीलाई जिज्ञासु बनाउँदैनन्, बरु हाम्रा सन्देह, प्रश्न, चिन्तन–मननको संहार मात्रै गर्दछन्। तिनले हामीलाई समाज होइन, सिद्धान्त पढाउँछन्, संसार (वल्र्ड) होइन, शब्द (वर्ड) अध्ययन गर्न सिकाउँछन्। त्यसैले होला, मैले पनि नेपाली समाजभन्दा पहिले चीन र रुसको समाज पढेँ, बुद्धदेखि योगमायाभन्दा पहिले नै माक्र्सदेखि माओसम्म पढेँ, त्यो पनि कुनै सन्देह र प्रश्नबिना नै। तर माक्र्स पढ्दै जाँदा सबैभन्दा घतलाग्ने र उनलाई सबैभन्दा मनपर्ने सूत्रवाक्य फेला पारेको थिएँ, ‘डाउट एभ्रिथिङ (सबै चीजमाथि सन्देह गर)!’ 
 
मार्क्सदेखि बुद्धसम्म
 
सबै चीजमाथि सन्देह गर भन्ने गुरू–वाक्यबाट म यति धेरै प्रभावित भएँ कि यसबारे थप साहित्य खोज्नतिर लागेँ। हेराक्लिटस पढेका माक्र्सले बुद्धको रचना पढेको–नपढेको स्पष्ट हुँदैन, पढेको भए उनी पनि पक्कै प्रभावित हुने रहेछ। आजभन्दा २६ सय वर्षअघि नै बुद्धले सन्देह नै ज्ञानका जननी हो भनी ठोकुवा गरेका रहेछन्! त्यति मात्रै होइन, उनले के के कुरामा विश्वास नगर्न भन्ने सूची नै बनाउन पनि भ्याएका रहेछन्। बुद्धले भनेका थिएः
 
कुनै पनि कुरालाई सुनिएकै भरमा विश्वास नगर। 
 
पुस्तौंपुस्तादेखि हस्तान्तरण हुँदै आएको परम्परा हुँदैमा विश्वास नगर। 
 
धेरै मान्छेले भनेकै आधारमा वा व्यापक रूपमा प्रचार भएकै आधारमा विश्वास नगर। 
 
तिम्रा धार्मिक पुस्तकमा लेखिएकै आधारमा कुनै शब्दमा विश्वास नगर। 
 
तिम्रा गुरू वा अग्रजजस्ता अधिकारसम्पन्न व्यक्तिले भनेकै आधारमा कुनै कुरामा विश्वास नगर। 
 
तिम्रो बानीसँग जोडिएकै कारण वा तर्क आकर्षक भएकै कारण कुनै कुरामा विश्वास नगर। 
 
तिमी आफैँ बुझ र विश्लेषण गर, ती कुरा एक र सबै व्यक्तिलाई उचित र हितकारी छ कि छैन जाँचेर हेर, 
 
त्यसको पछाडि रहेका तर्क स्वीकार्य लाग्यो भने मात्रै अँगाल र त्यसलाई जीवनमा लागू गर।
 
यिनै विचारोत्तेजक शब्दका आधारमा आफूले सम्पादन गर्ने ‘नवयुवा’ पत्रिकामा करिब दुई दशकअघि ‘आरम्भ’ नामक स्तम्भ लेखेको थिएँ। र, सन्देह नै ज्ञानको जननी रहेको मत राखेको थिएँ, बुद्धका वैज्ञानिक र द्वन्द्वात्मक विचारलाई केन्द्रमा राख्दै। त्यही स्तम्भलाई परिमार्जित गर्दै डेढ दशकअघि ‘विश्वविख्यातहरूको सफलताको कथा’ किताब लेखेको थिएँ। हजारौंको संख्यामा बिकेका ती पत्रिका र किताबको प्रभाव लेखक–कविहरूमा पनि देखिनु अनौठो होइन। 
 
अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता
मनको एक कुनालाई धक्का दिने बुद्धिजीवीको विचार
र, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर।
 
विभिन्न रचना र विचारको प्रभाव आफ्नो ठाउँमा छ, त्यस्ता प्रभावबाट अगाडि बढ्नु मुख्य कुरा हो। सन्देहवादी रचना र विचारमाथि पनि सन्देहका साथ आलोचनात्मक विमर्श गर्नु र त्यसभन्दा अग्रगामी हुनु नै कुनै पनि लेखक वा विचारकको खुबी र सफलता हो। सन्देह, प्रश्न र आलोचनात्मक विवेकको वकालत गर्ने विचार र व्यक्तिमाथि पनि सन्देह गर्नुपर्ने उद्घोषकका साथ कवि, कथाकार एवं स्तम्भकार मित्र अभय श्रेष्ठ भन्छन्ः 
 
सुकरात, माक्र्स र गान्धी
डार्विन, फ्रायड र आइन्सटाइन हुन् केवल तिम्रा सहयात्री
पवित्र बाइबल, रामायण, महाभारत
धम्मोपदेश, त्रिपिटक
र, कुरान नै होइनन् अन्तिम सत्य 
न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत
विष्णु, महेश्वर, श्रीराम
क्राइस्ट, कविर, मोहम्मद
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर। 
 
प्रश्न गर्ने र नगर्ने चिन्तन परम्परा
 
युरोप र अन्य क्षेत्रमा जस्तै दक्षिण एसियाको धार्मिक र बौद्धिक परम्परा गाँसिएको छ, नङ र मासुजस्तै। अहिले हिन्दु धर्म भनिने ब्राम्हण धर्म, चिन्तन र परम्परा दक्षिण एसियाको बलियो धार्मिक–बौद्धिक धार हो। त्यसको अर्थ सबै यस धारको अघि–पछि र सँगसँगै अरु धार विद्यमान छँदै थिएन वा अरु सबै यसका भँगाला हुन् भन्ने कदापि होइन। उदाहरणका लागि, यस क्षेत्रमा तीन हजार वर्षदेखि संस्थापन पक्षको रूपमा रहेको ब्राह्मण चिन्तनलाई चिर्दै हुर्केेको छ श्रमण चिन्तन परम्परा। ब्राह्मण चिन्तनमाथि सन्देह गर्दै, त्यसबारे प्रश्न गर्दै अनि आलोचनात्मक विमर्शका आधारमा हुर्केको चिन्तन परम्परा हो श्रमण। ब्राह्मण चिन्तन र श्रमण चिन्तनको द्वन्द्वबीच बृहस्पति, चार्वाक, बुद्ध, महावीर जन्मिएका थिए। उनीहरूले व्यापक र सघन बनाएको समतामूलक श्रमण संस्कृतिले अग्रगामी समाज चिन्तनलाई दिशानिर्देश गरिरहेको छ।
 
पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता 
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर।
 
ब्राह्मण चिन्तनमा सन्देह, प्रश्न र आलोचनालाई कुनै स्थान छैन, बरु निषेध नै छ। विश्वास, भक्ति, पूजा–अर्चना यससँग गाँसिएका धर्ममा त छँदैछ, त्यससँग जोडिएको बौद्धिक चिन्तनमा पनि छ। एक प्रख्यात ब्राह्मण चिन्तक याज्ञवल्क्यले उनको विचार र मतमाथि प्रश्न गर्ने समकालीन विदूषी गार्गीलाई दिएको धम्की धेरैको कानमा गुञ्जिरहेको हुनुपर्छ। त्यस धम्कीले ब्राह्मण चिन्तनमा रहेको प्रश्नविरोधी प्रवृत्तिलाई उजागर गर्दछ र सन्देह–प्रश्न–आलोचनालाई सयौं वर्षसम्म निषेध गरिएको तथ्य उद्घाटन गर्दछ। राजा जनकको सभामा विक्रमपूर्व १३०० मा अति प्रश्न गरेको आरोपमा गार्गीलाई उनले गर्जेर भनेका थिए, ‘ए गार्गी, अति प्रश्न नगर, तेरो टाउको नखसोस्! अति प्रश्न गर्न नहुने देवताबारे अति प्रश्न गर्छेस्, अति प्रश्न नगर।’ 
 
याज्ञवल्क्यको भाष्यमा ‘अति प्रश्न गरेको’ आरोप लागेकी गार्गी केही समय मौन बसिन् र अन्ततः याज्ञवल्क्यलाई अनुकूल हुने खालका प्रश्न राखेर उनले आफ्नो छाला बचाइन्। तर, अति प्रश्न गरेमा टाउको खस्ने धम्की सुनेर पनि प्रश्न गर्न नछोड्ने शाकल्यको टाउको भने काटिएको थियो। त्यति मात्रै होइन, उनको अस्थिपञ्जरसित समेत दुव्र्यवहार गरिएको मदनमणि दीक्षितको मत छ। एक विदूषीलाई धम्की दिइएको र अर्काे विद्वान्को टाउकै काटिएको पुरातन सन्दर्भले ब्राह्मण चिन्तनमा सन्देह र प्रश्नलाई निषेध गर्न खोजेको तथ्य नै उजागर गर्दछ। 
 
पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता 
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर।
 
श्रमण चिन्तन आफैँमा सन्देह, प्रश्न र आलोचनाको जगमा निर्माण भएको बौद्धिक संस्कृति र परम्परा हो। यसमा पनि समय र परिस्थितिमा प्रतिकूल परिवर्तन तथा ब्राह्मण चिन्तनसँगको संसर्गपछि सन्देह, प्रश्न र आलोचनाको पक्ष कमजोर नभएको पक्कै होइन। तर पनि यसले आफ्नो मुख्य धर्म कायम राखेको पक्ष उल्लेखनीय छ, जसको जगबाटै कवीर, अम्बेडकर र राहुल सांकृत्यायनहरू जन्मिएका थिए। नेपालमा पनि सन्त शशीधर, सन्त ज्ञान दिलदास, माधवराज जोशी र योगमाया जन्मिएको पाइन्छ, जसले ब्राह्मण चिन्तन वा हिन्दु धर्म–संस्कृतिमाथि प्रश्न उठाएका थिए। 
 
आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेराबाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर।
 
सन्देहको बीऊ 
 
चाहे जोसमनी सन्त परम्परा होस् या आर्य समाज होस्, तिनले उठाएका प्रश्न र सन्देहलाई बनाउन सकिएको भए नेपाली समाजको चिन्तनधारा नै फेरिने थियो। तर, बुद्धलाई नेपालमा जन्मिएको दाबी गर्नमा श्रम, शक्ति र बुद्धि खर्च गर्ने नेपाली जनमानस उनकै विचार बुझ्न र त्यसमाथि विमर्श गर्न समेत तयार देखिएको छैन। नेपाली राज्यलाई नै बहुसंख्यकवादका आधारमा सनातन सँस्कृति वा हिन्दु धर्म वा ब्राह्मण चिन्तनको धारमा डोहो¥याउने शासकीय परम्पराबीच बुद्धका विचार र श्रमण चिन्तनप्रति बेवास्ताले हामीलाई धेरै साँस्कृतिक घाटा पार्दै आएको छ। नेपाली जनतामा सोच्ने, विचार–विमर्श गर्ने, वैज्ञानिक ढंगले समस्याको निदान (डायग्नोसिस) गर्ने र समस्याको वस्तुवादी समाधान खोज्नमा यसले बाधा–अड्चन हाल्दै आएको तथ्य बुझ्न पनि हामीलाई सयौं वर्ष लाग्ने देखिन्छ। श्रम, श्रमिक र श्रमको सौन्दर्यलाई घृणा गर्ने क्रममा कलाकौशलका धनी तथा वैज्ञानिक सीपका अभियन्ताहरूलाई नै अछूत मान्ने र त्यसलाई कानुनी रूप दिने चिन्तन एवं अभ्यासले हामीलाई भाग्यवादी, पूर्वजन्मवादी, पुनर्जन्मवादी बनाउन नै मलजल गरिरहेको छ। यस्तो दुरावस्थामा फेरि पनि सन्देह जरुरी छ, प्रश्न आवश्यक छ र अत्यावश्यक छ आलोचनात्मक विचार–विमर्शसँगै साहित्यिक लेखन पनि। अतः अभयको कला र विचारको सापटी लिँदै दोहो¥याउन चाहन्छु:
 
म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि
जसरी माटोले हरेक पटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा। 
 
इतिहासकार रोमिला थापरले भनेझैँ प्रश्न गर्ने कि नगर्ने भन्ने प्रश्न नै यस समयको ठूलो चुनौती हो। प्रश्न, सन्देह र आलोचनात्मक विमर्शलाई सहजै विखण्डनवादी र राष्ट्रघाती मतका रुपमा आरोपित गरिने खतरा बढ्दो छ। तर यस्ता चुनौती सामना गर्ने साहसका साथ साहित्य–कर्मसँगै नेपाली समाजको चिरफार र इतिहास–पुराण–मिथकको पोस्टमार्टम गर्दै आएका अभयजस्ता धेरै अभय जरुरी छ। माक्र्सदेखि बुद्धबाट समेत आलोकित अभयहरूको साहसिक लेखन कर्म र त्यसले सिर्जना गर्ने डिस्कोर्सले नै मानिसलाई घरेलु प्राणीको घेराबाट मुक्त गर्न सघाउने हो– सोच्दै, बोल्दै, लेख्दै अनि कर्म गर्दै हस्तक्षेप गर्न सक्ने सामाजिक–राजनीतिक प्राणीमा रूपान्तरण गर्न मद्दत गर्ने हो।
 
 
सन्देह
         -अभय श्रेष्ठ
 
यी बादलका अनेक चित्रहरूले
कोरेका सुन्दर कोलाजमाथि सन्देह गर
पानीका सुन्दर तालमा देखिने 
विविध रङको अस्तित्व
र बादलका टुक्राझैँ
तिम्रा हातमा पर्न आएको हिउँको सौन्दर्यमाथि सन्देह गर।
 
अखबार र टेलिभिजनका सनसनीपूर्ण समाचार
कविका फूलबुट्टे सुकिला कविता
मनको एक कुनालाई धक्का दिने बुद्धिजीवीको विचार
र, देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधनमाथि सन्देह गर।
 
तिम्रा सम्मानित गुरूले
मिठो भाषामा सुनाएका कथा
महान् इतिहासकारले लेखेको इतिहास
र, संसारका सर्वमान्य मूल्यहरूमाथि पनि सन्देह गर।
 
पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
देवव्रतको भीष्म प्रतिज्ञा
दुर्योधनको दुष्टता 
अनि वेद र पुराणका तिलस्मी कथाहरूमाथि सन्देह गर।
 
सुकरात, माक्र्स र गान्धी
डार्विन, फ्रायड र आइन्सटाइन हुन् केवल तिम्रा सहयात्री
पवित्र बाइबल, रामायण, महाभारत
धम्मोपदेश, त्रिपिटक
र, कुरान नै होइनन् अन्तिम सत्य 
न ब्रह्मा सत्य हो, न मिथ्या हो जगत
विष्णु, महेश्वर, श्रीराम
क्राइस्ट, कविर, मोहम्मद
र सन्देहको कुरा गर्ने बुद्धमाथि पनि सन्देह गर।
 
आँगनजस्तो एकत्र संसारमा
छैन कोही सन्देहको घेराबाहिर
सन्देहको ईश्वर रच्ने
मेरो यही कवितामाथि पनि सन्देह गर।
 
म अविरल गर्छु सन्देह आफ्नै ब्रह्ममाथि पनि
जसरी माटोले हरेक पटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा।
 
कविताबारे कवि श्रृंखलामा अभय श्रेष्ठका यसअघिका लेख 
 

तथागत, मलाई उत्खनन गर!

के तिमीले मलाई आविष्कार गर्‍यौ?

प्रतिकृया दिनुहोस