के तिमीले मलाई आविष्कार गर्‍यौ?

  • Get News Alerts

कविताबारे कवि
समसामयिक पुस्तामा सबैभन्दा तीक्ष्ण स्त्री चेतनाकी कवि छान्नुपर्दा म युवा पुस्ताकी सरिता तिवारीलाई छान्छु। विचारले माक्र्सवादी यी कविको सबैभन्दा सुन्दर र शक्तिशाली कविता पनि स्त्री चेतनाकै छन्।
 
पछिल्लो पुस्तामा मलाई मन पर्ने कविताको सूची लामो छैन। सरिता तिवारीको ‘हे देवी’, ‘के  तिमीले मलाई आविष्कार ग¥यौ?’, ‘श्री आरामी पत्र’, विनोदविक्रम केसीको ‘भूमण्डलीकरण’, ‘आज सरको क्लास लिन्छ विद्यार्थी’, सरस्वती प्रतीक्षाको ‘तथागत, मलाई उत्खनन गर’, स्वप्निल स्मृतिको ‘हो, म बोल्न सक्छु’, ‘शालिग्राम’, संगीत श्रोताको ‘खुट्टा’, भूपिनको ‘वर्णपटमा युवती’, केशव सिलवालको ‘चिबे चरा’, लेखनाथ क्षत्रीको ‘प्रेमिल जेहाद’, राजु स्याङ्तानको ‘रेमिटेन्स’ मलाई मन पर्ने केही कविता हुन्। यीमध्ये सरिता स्त्री चेतनाका साथै आदिवासी चेतनाका पनि राम्रो कविता लेख्छिन्। 
 
सरिताका कवितालाई कतिले अतिवादी र अराजकतावादी भनेका छन्। मलाई भने त्यस्तो लाग्दैन। सत्य बोल्न सानोतिनो दुःसाहस चाहिन्छ, जुन हाम्रो  समाजले पचाउने आँट गर्दैन। न्याय र समताको युगमा पछाडि पारिएका समुदाय, लिंग, क्षेत्र, भाषा, संस्कृतिलाई संक्रमणकालीन स्थितिमा अग्राधिकार दिइन्छ। यो भनेको पाखामा पारिएका मान्छेलाई बाटोमा उभिएका मान्छेसम्म आइपुग्न दिइने विशेष सुविधा हो। हामी समतामूलक समाज चाहन्छौँ भने नारीलाई यस प्रावधानबाट अलग गर्नै मिल्दैन। सरिताको स्त्री चेतनाका कविताले समतालाई मात्र होइन, स्वत्व, आत्मसम्मान र प्राकृतिक न्यायको समेत पैरवी गर्छ। 
 
सरिता तिवारी आफूसँगै कविता लेखिआएका कविको भीडभन्दा निकै अगाडि छिन्। कवितामा समर्पण भाव, वैचारिक प्रतिबद्धता र गहन अध्ययनले मात्र यो सम्भव भएको हो। उनी र उनका पूर्व समकालीनको कविकर्मलाई म एउटा यात्राको विम्बमा हेर्न चाहन्छु। मानौं, हेटौँडाको साहित्यिक कार्यक्रममा अपराह्न १ बजे काठमाडौँका केही कवि सहभागी हुँदैछन्। अरू कवि जोखिमरहित मुग्लिनकै बाटोबाट अघिल्लो दिनै यात्रा थाल्छन्। कुरिनटार पुगेपछि तिनलाई केबलकार चढेर मनकामनामाईको दर्शन गर्न मन लाग्छ। टन्न खाएर माईको दर्शन गर्ने कुरा भएन। भोलिसम्म कुर्नैप¥यो। भोलिपल्ट भोकै पेट तीन घन्टा लाइन लागेर ती माईको पूजा र दर्शन गर्छन्। राम्रो कविता लेख्न सकूँ, छोराछोरीको पढाइ राम्रो होस्, गर्लफ्रेन्डको कुरा बुढीलाई थाहा नहोस् अथवा बुढाको चाँडै प्रमोसन होस् भनेर ती आशीष माग्छन्। यसरी त्यहीँ ९ बजिसकेको हुन्छ। हतारहतार खाना खाएर कुरिनटार ओर्लँदा १०.३० र गाडी पक्रँदा ११ बज्छ। तल मुग्लिन पुगेपछि जाम सुरु हुन्छ हुन्छ। तिनले यादै गरेका हुँदैनन्, ११ देखि ३ बजेसम्म मुग्लिन–नारायणगढको बाटो बन्द गरिन्छ। यसरी तिनले हेटौँडामा १ बजे हुने कार्यक्रम छुटाउँछन्। 
 
सरिताको कुरो फरक छ। मान्नुस्, उनी बिहान ६ बजे जोखिम मोलेरै दक्षिणकाली–सिस्नेरीको बाटो भएर ४ घण्टामा हेटौँडा पुग्छिन्। उनले कार्यक्रमअगाडि रिफ्रेस हुन, साथीभाइ भेट्न, कार्यक्रमको तयारी गर्न, खाना खान र ठाँटबाँट गर्नसमेत भ्याइसकेकी हुन्छिन्। यही जोखिमपूर्ण यात्राजस्तै छ सरिताको कविकर्म। यसले नै उनलाई अरूभन्दा अगाडि पु¥याएको हो।
 
‘के तिमीले मलाई आविष्कार ग¥यौ?’ ले स्पष्ट र जोखिमपूर्ण विचार प्रवाह गर्छ। यो, उनका सबैभन्दा राम्रा कवितामध्ये एक हो। स्त्री चेतनाका दृष्टिले पूरै नेपाली कवितामै यो एउटा उल्लेख्य कविता हो भन्ने मलाई लाग्छ। पुरुषप्रधान समाजमा कविताले नारी अस्मिता, आत्मसम्मान, स्वाभिमान र स्वत्वको पैरवी आँखामा आँखा जुधाएर गर्ने आँट गर्छ। सारा सृष्टि, सिर्जना, खोजी र उत्पादनको काममा प्रमुख भूमिका नारीको हुन्छ। अनि उसैको अस्तित्वमाथि पुरुषको स्वामित्व? के ऊ पुरुषको आविष्कार हो? पुरुषसत्ताको यही पुरातन भाष्यलाई कविताले चुनौती दिन्छ।
निस्केर कुनै आदिम ओढारबाट 
ढुंगाहरू रगडेर बालेँ आगो
फाँडेर जंगल बनाएँ घर
सम्याएर चरण बनाएँ खेत
पसिना र रगतको बीउ रोपेर फुलाएँ सभ्यता
हिँडेँ कहिल्यै नसिद्धिने प्रेमको अनादि गोरेटो
छिचोलेँ घाँटीसम्म डुब्दै पृथ्वीका सबै सिमसार
र, दगुरिरहेँ बाटो भेट्टाउन घना वर्षावनमा एक्लै
महोदय,
के तिमीले मलाई आविष्कार गरेका हौ?
 
के तिमीले सिकाएका हौ चराहरूलाई उड्न?
फूलहरूलाई फुल्न?
नदीलाई बगिरहन या बतासलाई सुसेल्न?
 
चरा हुँ म 
उड्दै फैलिहरेछु
फूल हुँ म
नित्य फुलिरहेछु
नदी हुँ बगिरहेछु
र, बतास हुँ 
गतिको गीत गाइरहेछु
 
हिँडेर कालान्तरसम्म यात्रा
भर्खरै टेकाउँदैछु बिसौनीमा पाइताला
के तिमीले आविष्कार गरेका हौ मेरा खुट्टाहरू?
 
उघार्नासाथ धर्तीमा 
उज्याएँ घामले अर्जापेर आँखा र बनाएँ आँखा हुनलायक
कोरेँ छातीमा हजार सपनाहरू आहोरदोहोर गर्ने दुर्गम रेशममार्ग
र, लेखेँ निधारमा भाग्यको अन्तिम फैसला
के तिमीले बनाएका हौ मेरा आँखा? या मेरा हातहरू?
 
आफ्नै मेरुदण्ड र करङ निकालेर बनाएँ औजार
प्रत्येक पटक
मान्छे भएर बाँच्ने अन्तिम युद्ध ठान्दै 
लडिरहेँ युगभरि केवल युद्ध
 
बौलाहा आँधी बोकेर छातीमा
हिँडिरहेँ खोज्दै 
जुगौँअघिदेखि कसैले खोसिराखेको
आफ्नै अनुहारको नक्सा
 
भेटाएझैँ कोलम्बसले कुनै नयाँ भूगोल
के तिमीले भेटाएका हौ मेरो अनुहार?
 
ए, यो हावा कसको हो?
यो माटो र पानी कसको हो?
कसका हुन् इतिहास, धर्म र कला?
कसका हुन् विचार, शब्द र लय?
को हो सृष्टिको उत्तराधिकारी?
को हुँ म?
केवल तिमीले प्रदर्शनीमा राखेको 
निर्जीव, निर्विवेकी, निष्पृह पुतली?
 
प्रश्नका अनन्त कीराहरू हिँडिरहेछन् मेरो मथिङ्गलमा
मेरी आमाको गर्भाशय र बाबुको शुक्रकीटको धज्जी उडाउँदै
मन्डीमा थुपारेको तरकारीझैँ
को हौ तिमी मेरो अस्तित्वमाथि स्वामित्व दाबी गर्ने?
 
जन्मजात
मैले लिएर आएकी छु आपूmसँग
एउटा नैसर्गिक अनुहार
म दिन्नँ कसैलाई
आविष्कारको मोहर लगाएर
नृशंशतापूर्वक
आफ्नो अनुहारमाथि शासन गरिरहन।
 

प्रतिकृया दिनुहोस