अभिनयले नायक बनेका ‘कमन म्यान’

  • Get News Alerts

सन् सत्तरीको दशक मध्यतिर भारतमा समानान्तर सिनेमा निर्माण सुरुहुँदा म पुनामा विद्यावारिधि गरिरहेको थिएँ। त्यो ताका हामी खुब सिनेमा हेथ्र्यौं। परम्परागत सिनेमाभन्दा बिल्कुलै फरक धार समातेर एउटा शैली अघि बढेको बेला थियो। ‘रजनीगन्धा’, ‘अंकुर’, ‘आक्रोश’ जस्ता सिनेमा म अहिले पनि सम्झन्छु।
 
एकातिर अमिताभ बच्चनको जगजगी थियो, अर्कातिर नसिरुद्दीन शाह, ओम पुरीजस्ता अभिनेता पनि प्रभावशाली बनेर आइरहेका थिए। हामी विद्यार्थीलाई भने यी पछिल्ला अभिनेताका काम विशेष मनपर्थे। यसरी मनपराएर सिनेमा हेर्ने र पछिसम्म त्यसको चर्चा गर्ने हाम्रो जमातै थियो, पुनामा।
 
यसरी सुरु भएको नयाँ धारामा त्यसैमध्येका एक अग्रज ओम पुरी यस्ता अभिनेता थिए, जसलाई मैले पछि भेटेर लामै अन्तर्वार्ता गर्न पाएँ। 
 
मैले भारतीय चलचित्र दुनियाँका केही नामी अभिनेता–अभिनेत्री भेटेर उनीहरूको अन्तर्वार्ता लिएको छु। त्यसमध्ये ओम पुरीसँग गरेको कुराकानीको सम्झना एकदमै बेग्लै छ। उनी कुराकानी गरुञ्जेल स्टार नभएर हामीबीचकै आम मानिसजस्ता लागेका थिए। अर्थात् अत्यन्त सहज र सामान्य।
 
म साप्ताहिक विमर्शमा काम गर्थें। यो २०४६ सालभन्दा अगावैको कुरा हो। सायद उनीसँग अन्तवार्ताको समय मिलेपछि म अन्नपूर्ण होटलमा पुगेको थिएँ। 
 
अत्यन्त निश्चल र सजिलो स्वभावका थिए उनी। आजभोलि ‘आम आदमी’ भन्छन् नि! हो त्यस्तै। त्यो लामो वार्तालापमा हामीबीच सिनेमा मात्र नभएर सामाजिक विषयवस्तुका फराकिला दायरामा कुराकानी चलेको थियो।
 
उनी के सन्दर्भमा यता आएका थिए, त्यो मलाई याद भएन। त्यतिबेला अन्तर्वार्तामा के कुरा भएका थिए, त्यो पनि ठ्याक्कै सम्झिन सक्दिनँ।
 
तपाईंले फरक–फरक भूमिकाको अभिनय गर्न कसरी आफूलाई तयार पार्नुहुन्छ भनेर एक ठाउँ सोधेको थिएँ। उनले ‘म सडकमा निस्केर वरपरका विभिन्न मानिसलाई नियालेर हेर्ने गर्छु’ भनेका थिए। मान्छेका चेहरा र हाउभाउ आफूलाई सडकले नै सिकाउने गरेको उनको जवाफ थियो।
 
अर्को प्रश्न मैले ‘तपाईं कति पारिश्रमिक लिनुहुन्छ’ भनेर सोधेको थिएँ। प्रायः अभिनेताले यस्तो प्रश्नको जवाफ दिँदैनन्। ओम पुरीले भने एकछिन पनि विचार नगरी ‘५० हजार रुपैयाँ लिन्छु’ भनेका थिए। त्यति सफा र खुलेर बोल्ने व्यक्ति थिए उनी। वैचारिक स्पष्टताले होला, उनी कहिलेकाहीँ खस्रा पनि सुनिने गर्थे।
 
काठमाडौं आएकै बेला सायद सिटी हलमा एउटा कार्यक्रम थियो। त्यतिबेला ओम पुरीलाई दर्शकले मञ्चमा अभिनय गरेर देखाउन भनेका थिए। ‘ये कैसा बात है भाइ?’ उनले दर्शक अपेक्षाको आलोचना गर्दै भनेका थिए, ‘क्या किसी सर्जनको आप स्टेजमे अपरेसन करके दिखाइए कह सकते हैं?’ 
 
पुरीले यसो भनेपछि दर्शक चुप लागेका थिए। 
 
भारतका एक उच्चस्तरका अभिनेता पुरी र उनका समकालीनले नै एउटा युगको सुरुआत गराएका थिए। मेलोड्रामाबाट यथार्थवादी अभिनयको युग सुरु गराउने मुख्य पात्र मात्र नभई उनीहरूले त्यसलाई स्थापित पनि गरिदिए। यसले भारतीय सिनेमाको गरिमा नै उच्च बनाइदिएको ठान्छु म।
 
विशेष गरेर गोविन्द निहलानीको ‘अर्धसत्य’ त म कहिल्यै बिर्सन सक्दिनँ। त्यस सिनेमामा उनी एक इमानदार प्रहरी अफिसरका रूपमा देखापरेका थिए। उनले सिस्टमभित्रका विकृतिविरुद्ध गरेका लडाइँ देखाउँदा–देखाउँदै त्यसले तत्कालीन भारतीय समाजका भोगाइलाई अत्यन्त सटिक ढंगले चित्रण गरेको थियो। राजनीति, माफिया र प्रहरीबीच तालमेल देखाउने त्यो सिनेमा जति घतलाग्दो थियो, त्यति नै त्यसमा ओम पुरीको जोडदार अभिनयले प्रशंसा पाएको थियो। त्यो सिनेमा हिट पनि भयो।
 
त्यसमा ओम पुरीको अभिनय अविष्मरणीय थियो। ओम पुरीसहित अमरिश पुरी, स्मिता पाटिल, नसिरुद्दीन शाह, सदाशिव अमरापुरकरजस्ता नेसनल स्कुल अफ ड्रामाका समकालीन एकसेएक हस्तीहरू रहेको त्यो सिनेमामा पुरीले बाजी मारेका थिए। 
 
बसमा चढेर कतै गइरहेका बेला एउटा गुण्डाले पत्नीको हात समात्न खोज्दाको क्षण ओम पुरीले जस्तो अभिनय गरेका थिए, त्यस्तो अभिनय सायद उनैले मात्र गर्न सक्थे। त्यस्तो बेजोड थियो त्यो दृश्य। अहिले पनि म त्यो दृश्य झल्झल्ती सम्झन्छु। त्यो सिनेमाको अन्त्य पनि परम्परागत शैलीको थिएन। यी सबैका कारण नै त्यस वर्ष उनले भारतको नेसनल फिल्म अवार्डमा सर्वोत्कृष्ट अभिनेताको उपाधि जितेका थिए।
 
उनी प्रायः सिनेमामा ‘कमन म्यान’ को भूमिका निर्वाह गरिरहेका देखिन्थे। भेटघाटमा पनि उनी उत्तिकै सामान्य रूपमा प्रस्तुत हुन्थे भनेर त अघि नै उल्लेख गरिहालेँ।
 
मैले ओम पुरीलाई सम्झिने भनेको त्यतिबेलाका समानान्तर सिनेमाको अभिनयबाटै हो। पछि भने उनी चरित्र अभिनेता पनि बने। व्यावसायिक फिल्महरूमा पनि खेले। त्यसमा उनको उपस्थिति अलिक बेग्लै भए पनि उनी सफलै रहे। तर, जसरी आजबाट ओम पुरी विदा भए, त्यसैगरी समानान्तर सिनेमाको त्यो समय फर्केर आउने सम्भावना म देख्दिनँ। समय यस्तो हुँदो रहेछ।
 
ओम पुरीहरूले नै उभ्याएको एउटा धारा छाडेर उनीहरू जब व्यावसायिक सिनेमामा आए, त्यतिबेलै एक त उनीहरूले आफ्नो ठाउँ छाडे भने अर्कातिर एउटा ठूलो मैदानमा उनीहरू प्रवेश गरे। मठ छाडेर आएका जोगीजस्ता भए यी। यो ठूलो मैदानमा उनीहरूसँग लड्न भिँड्न उनीहरूजस्ता थुप्रै तैनाथ थिए। तैपनि उनीहरूले सक्दो उपस्थिति जनाइ रहे।
 
व्यावसायिक सिनेमामा आएपछि उनको त्यतिधेरै सम्झनलायक काम मलाई सम्झना भएन। केही समयअघि एउटा सिनेमा हेरेर भने रमाइलै लागेको थियो। त्यसमा उनले खलनायकको भूमिका खेलेका थिए। त्यो कुनै नेताको भूमिका थियो, जसले हातभरि औंठी लगाएका हुन्छन्। त्यसैमा कसैले सोध्छ, ‘आप इन पत्थरों पे भी यकीन करते हैं।’
 
नेता बनेका ओम पुरीको जवाफ थियो, ‘हाँ, जब जनता फेँकती है तो...’
 
यसरी सामान्य शब्दभित्रको गहनता उत्तिकै पारंगत तवरले बुझाउने काम उनले व्यावसायिक सिनेमामा आएर पनि छाडेनन्। त्यो डायलग उनले यसरी डेलिभरी गरेका थिए, मलाई खुब रमाइलो लागेको थियो।
 
पछिल्लो समय उनले कुनै विवादास्पद अभिव्यक्ति दिएका थिए। मलाई जहाँसम्म लाग्छ, त्यो सिमानामा खटिएका सैनिकबारे थियो। जसमा तत्काल उनले माफी पनि मागे। त्यतिसम्म सरल मानिस थिए उनी। कुनै अभिनेताको तामझाम उनमा थिएन।
 
उनको चेहरा र हाउभाउ कुनै पनि परम्परागत हिरोको भन्दा फरक थियो। सुन्दर अनुहारका कारण हिरो बन्ने भारतीय सिनेमा उद्योगमा उनी ठीक उल्टो अवस्थामा थिए।
 
हामी वीरगन्जका मानिसले सम्झने एउटा बिहारको घटना पनि छ। एकपटक तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवले बिहारका सम्पूर्ण सडकलाई हेमा मालिनीको गालाजस्तो चिल्लो बनाइदिने भाषण गरेका थिए। त्यसपछि हेमा मालिनीबाट असाध्यै चर्को विरोध आएको थियो। 
 
लालुप्रसादको भाषणले निकै पछिसम्म पनि सार्थकता पाएन। पछि गएर पत्रकारहरूले हेमा मालिनीप्रति किन यस्तो टिप्पणी गरेको भनेर सोधेका थिए। जवाफमा फेरि लालुले हँसाएका थिए। ‘हमारे बिहारके सडक हेमा मालिनीके गालके तरह नहीँ तो का ओम पुरीके गालके तरह बना देंगे बोलेंगे?’
 
लालुप्रसाद र उनका अभिव्यक्ति आफ्ना ठाउँमा होलान्। हिन्दी सिनेमालाई केवल अभिनयको बलबाट अघि बढाउने मामलामा यति ठूलो योगदान दिएर गएका छन् ओम पुरीले। 
 
यसरी अभिनयकै बलमा उठेका अभिनेता भएकैले ओम पुरीको अभिनय यात्राले भूगोलका सिमाना नाघेर संसारभरि फैलिने मौका पायो। उनले हलिउडकै फिल्महरूमा समेत अभिनय गरेर आफूलाई भारत मात्र नभएर विश्वकै कलाकार बनाएका थिए।
 
भारतीय सिनेमाका निम्ति पदमश्रीदेखि बेलायती सिनेमामा योगदानका कारण उताका महारानीबाट ‘अर्डर अफ दि ब्रिटिस इम्पायर’ समेत पाएका थिए।
 
यस्ता अभिनेता ६६ वर्षको उमेरमा शुक्रबार बिहानै हृदयाघातका कारण घरैमा मृत फेला परेको समाचारले नरमाइलो लागेको छ। 

प्रतिकृया दिनुहोस